खेल भावनाको सम्मान

केही दिन अघि जब नेपाली महिला क्रिकेट टोलीले एक अन्तर्राष्ट्रिय खेलमा टाइम आउटका कारण भुटानी खेलाडीलाई डिसमिस गर्‍यो, सामाजिक सञ्जाल एक्कासि तात्यो र केही समयमै खेलाडीहरूलाई खलनायक जस्तै चित्रित गर्यो।

खासमा जब खेलाडीहरूको करियर, करार र देशको नाम नै दाउमा लागेको हुन्छ त्यस्तो अवस्थामा उनीहरूले केवल खेल भावना र विवेकका आधारमा आफैँलाई नियन्त्रण गर्नुपर्छ भन्ने अपेक्षा गर्नु वास्तवमै अव्यावहारिक कुरा हो। हामी दर्शकहरूले घरमा आरामसँग बसेर “खेल भावनाको सम्मान गर” भन्न सक्छौं किनकी हामीले गुमाउनुपर्ने केही हुँदैन तर खेलाडीहरूको अवस्था त्यस्तो हुँदैन।

कुनै पनि खेलको भावना जोगाउने नैतिक जिम्मेवारी नियम बनाउने निकाय र निर्णायकहरूको हो। खेलाडीको काम भनेको नियमले दिएको सीमाभित्र रहेर जित्ने प्रयास गर्नु हो।

यस विवादका बीच नेपाल क्रिकेट संघ अगाडि आयो, भुटानी क्रिकेट समक्ष माफी माग्यो, आलोचनाको भार आफैँले वहन गर्‍यो र आफ्ना खेलाडीहरू माथिको दबाब कम गर्‍यो, ठ्याक्कै एउटा खेलकुद संघले गर्नुपर्ने काम यही हो।

अनि नेपालको ५१ रनको विजय त्यस विवादित क्षणको कारण नभई हामीहरू सो खेलमा स्पष्ट रूपमा उत्कृष्ट टोली थियौँ।

बाल्यकालको विश्वकप

अमेरिकामा १९९४ को फुटबल विश्वकप हुँदा म कक्षा ४ मा पढ्ने १० वर्षको केटो थिएँ।

रोमारियो, बाज्जियो, माराडोना, क्लिन्समान, स्टोइचकोभ।

यी नामहरू मैले मेरो बुबा र उहाँका साथीहरू बीचका कुराकानीबाट अनि रेडियो समाचारहरूबाट सुनेको थिएँ। ती नामहरू मेरो मन मस्तिष्कमा सदाका लागि छापिएर बसे। मलाई अझै पनि सम्झना छ त्यो रात खचाखच भरिएको Rose Bowl रंगशालामा भएको फाइनलमा बाज्जियोले पेनाल्टी मिस गरेको दृश्य हेर्न म अबेरसम्म जागा बसेको थिएँ। जब बल बार माथिबाट बाहिर गयो र ब्राजिल च्याम्पियन बन्यो, म इटालीसँगै रोएको थिएँ।

३२ वर्ष पछि विश्वकप फेरि अमेरिकामा फर्किंदैछ। अहिले म जीवनको यस्तो चरणमा छु जहाँ समय र ऊर्जा दुवै सीमित बनेका छन्। मलाई थाहा छ कि यस पटक कुराकाओ वा केप भर्ड जस्ता टोलीका खेलहरू हेर्न बिहान तीन बजेसम्म जागा बस्न सक्दिन चाहे ती खेलहरू जति नै ऐतिहासिक किन नहोस्। १९९४ मा मलाई रुवाउने टोली त यस पटक छनौट नै भएन। तर मलाई थाहा छ जब माहोल तात्दै जान्छ र फुटबल साँच्चिकै रोमांचक हुन थाल्छ म राती दालमोठ र कोक बोकेर टिभी अगाडि हुनेछु। सायद आधा निद्रामा, सायद खेलको समय मिलेन भनेर अलिकति झर्किएको अवस्थामा, तर फुटबल हेर्न उपस्थित भने अवश्य हुनेछु।

नबुझ्ने मेनु

नबुझ्ने मेनु

गत साता मेरो कार्यालयले एउटा आकर्षक र आधुनिक रेस्टुरेन्टमा ब्रेकफास्ट कार्यक्रमको आयोजना गरेको थियो। यो मेरो कार्यालयको आफ्नो कर्मचारीहरू प्रति उदार र सद्भावपूर्ण पहल थियो।

म पुगेँ, आफ्नो सिटमा बसेँ र मेनु खोलें। लेखेका शब्दहरू बुझे पनि मेनुको परिकार मैले बुझिन।

त्यहाँ भएको एउटा पनि परिकार परिचित लागेन। परिकारका नामहरू निकै फेन्सी सुनिन्थे र कोष्ठक भित्र सामग्रीहरूको विवरण भएतापनि खाना के हो बुझ्न खासै मद्दत गरेन । अण्डा पचाउन नसक्ने भएकोले अनुमानको भरमा खाना रोज्ने छुट मसँग छैन। एउटा गलत छनोटले पूरै दिन बिगार्न सक्छ।

मैले वेटरसँग परिकार बारे सोध्ने विचार पनि गरेँ। टेबल मुनि चुपचाप फोनमा गूगल गर्ने पनि सोचें। तर दुवै विकल्प हार स्वीकार गरे जस्तो लाग्यो किनकी त्यहाँ अरू सबै जना सहज देखिन्थे।

मैले मेनु बन्द गरेँ र भनें, “मलाई टोस्ट, जाम र कालो चिया ल्याइदिनुहोस्।”

त्यस बेला मलाई सूझेको त्यो सबैभन्दा सुरक्षित विकल्प थियो र त्यो ठीक पनि रह्यो। टोस्ट तातो थियो, चिया स्वादिलो थियो। यद्यपि आफ्नो अगाडि भएको विभिन्न परिकार छानेर खाने मौकामा आफूले बच्चाले रोजे जस्तो साधारण खाना अर्डर गरेको पछुतो भयो । त्यही क्षण मलाई मैले बिताएको जीवन र त्यो रेस्टुरेन्टले आफ्ना ग्राहकहरूबाट अपेक्षा गरेको जीवन बीचको दूरी महसुस भयो।

ऊर्जा आयोजनामा काम गर्ने हामीहरू वर्षौँसम्म क्याम्प, पहाडी जिल्ला र निर्माणस्थलहरू बीच यात्रा गर्दै बिताउँछौं। त्यसको बदलामा हामी आधुनिक सहरी जीवनको निकै सीमित अंशसँग मात्र परिचित रहन्छौँ। हामी पहाड, समुदाय, निर्माण र व्यवस्थापनका जटिलता बुझ्न सिक्छौँ तर सहरमा धेरैका लागि सामान्य लाग्ने कुराहरू हामीलाई अपरिचित नै रहन्छन्।

मलाई त्यस्ता रेस्टुरेन्टहरू पनि अस्तित्वमा छ भन्ने अनुभवमा खुशी लाग्यो। मेरो कार्यालयले हामीलाई त्यहाँ लगेकोमा खुशी लाग्यो। हामी जस्तालाई त्यो एक राम्रो पहल थियो र नयाँ अनुभवसँगको परिचय जहिले महत्वपूर्ण हुन्छ।

अपरिचित मेनु पढेर अन्ततः टोस्ट नै अर्डर गर्नुपरे पनि मनमा एउटा सानो नयाँ सन्तुष्टिले भरेको छ। अर्को पटक त्यही ठाउँमा पुग्दा त्यो भूगोल अलिकति कम अपरिचित हुनेछ।

थाइल्याण्डको अनुभव

थाइल्याण्डको अनुभव

गएको साता मात्र एक वर्ष पुगेकी छोरीसँग पहिलो पारिवारिक यात्राका लागि थाइल्याण्ड पुगेको थिएँ। म काम गर्ने संस्थाले बिदा र अरू व्यवस्थापन गरिदिएको थियो।

बजेट एयरलाइन्स रोजेको भएर हामीले स्ट्रोलर बोकेनौ, बेबी क्यारियरको भरमा भ्रमण गर्ने निधो भयो। अप्रिल महिनाको पताया सहरको गर्मीमा सहज थिएन। तर एउटा कुराले मलाई निकै प्रभावित गर्यो।

जब हामी जेब्राक्रसिङमा पाइला टेक्यौं, गाडीहरू रोकिए, जबरजस्ती हैन, पूर्ण रूपमा रोकिए। हर्न बजेन, हतार देखिएन। हरेक पटक, हरेक क्रसिङमा यही भयो।

मलाई सबैभन्दा गजब लागेको भनेको यो कुरा त्यहाँ कसैका लागि विशेष थिएन। त्यहाँ यो सामान्य व्यवहार थियो। पैदलयात्रीले बाटो काट्न खोज्छ भने सवारीसाधन रोकिन्छन्।

मलाई लाग्यो पताया पर्यटकीय सहर भएकोले यस्तो हार्दिकता देखिएको हो। तर बैंकक जस्तो व्यस्त ठाउँमा पनि उही अनुभव भयो। त्यो देशमा सायद कसैले, कुनै बेला, पैदल हिँड्ने मानिसहरूले सुरक्षित महसुस गर्नुपर्छ भन्ने निर्णय गर्‍यो, अनि त्यसलाई व्यवहारमा उतार्ने प्रणाली बनायो।

सायद विकास भनेको केवल चिल्ला सडक र अग्ला भवनहरू मात्र होइन। विकास भनेको हामी एकअर्कासँग कस्तो व्यवहार गर्छौं भन्ने कुरा पनि हो भन्ने अनुभव भयो।

मेरी छोरीले एक्लै सडक काट्ने उमेरमा पुग्दासम्म हाम्रो समाजमा पनि केही परिवर्तन, थोरै भए पनि आएको होस् भन्ने मेरो चाहना छ।

बैंककको वैभव

बैंककको वैभव

चाओ फ्राय नदीमा डिनर क्रूजको लागि परिवार सहित पुग्यौ। हामीले थोरै बढी शुल्क तिरेर अप्पर डेकको टिकट काटेका थियौं। हाम्रो डेकमा ९० प्रतिशत भन्दा बढी पर्यटक भारतीय थिए। क्रूजमा बज्ने सम्पूर्ण सङ्गीत भारतीय थियो। अप्पर डेक खुल्ला भएको कारण निकै चर्को बतास चल्थ्यो। मेरो सानो छोरी विरामी पर्ला कि भन्ने चिन्ता।

क्रूजको आतिथ्य राम्रो थियो। खानेकुरा मिठो थियो।

क्रूजबाट बैंककको वैभव देखियो। रातीको समयमा ढकमक्क उज्यालो र मन खोलेरै वाउ भनियो।

कसैले छुन नसक्ने भ्रम

अनाम वा फेक अकाउन्टहरूको आडमा मानिसहरू आफू कानुनको दायरा भन्दा माथि रहेको सोच्दै डिजिटल स्पेसमा जथाभाबी व्यवहार गर्छन्। उनीहरूको यो बुझाइ धेरैजसो अवस्थामा पूर्ण रूपमा गलत पनि छैन। नेपालमा अनलाइन दुर्व्यवहारका विरुद्ध थोरै मात्र देखिने खालका कारबाहीहरू भएका छन्।

सामाजिक सञ्जालका कमेन्ट सेक्सनहरू संवाद गर्ने ठाउँ जस्ता नभएर गालीगलौज, व्यक्तिगत आक्रमण र विषाक्त शब्दहरूले भरिएका अखडा जस्ता लाग्छन्। यस्तो वातावरणले हामीहरू जस्ता साधारण मान्छे सामाजिक सञ्जालका आफ्नो विचार व्यक्त गर्न समेत हिचकिचाउँछौं।

आफूलाई कोही कसैले छुन सक्दैन भन्ने यो भ्रम नेपालको सिमाना पार गर्ने बित्तिकै भत्किन्छ।

हालैका समाचारहरूले एउटा चिन्ताजनक चित्र प्रस्तुत गरेका छन्। यूएई, साउदी र कुवेत जस्ता देशहरूमा रहेका नेपालीहरूले आफ्नो अनलाइन व्यवहारका कारण हिरासत वा कानुनी कारबाही भोग्नु परिरहेको छ। नेपालमा सामान्य लाग्न सक्ने व्यवहारहरू पनि ती देशहरूका कडा साइबर र राष्ट्रिय सुरक्षा कानुनहरू उल्लंघन गरिरहेका हुन सक्छन्। संवेदनशील विषयहरू जस्तै सैन्य गतिविधि, विस्फोटन, राजनीतिक असहमति वा द्वन्द्वको समयमा निषेधित पोस्टहरूलाई त्यहाँ गम्भीर अपराधको रूपमा हेरिन्छ।

विदेशमा रहेका धेरै नेपालीहरू अझै पनि यस कुराबाट अनभिज्ञ छन् कि नेपालमा सामान्य रूपमा सहिने कुरा अर्को देशमा गैरकानुनी हुन सक्छ। सामाजिक सञ्जालको विश्वव्यापी स्वरूपले प्रयोगकर्तामा एउटा झुटो भ्रम पैदा गरिदिन्छ मानौँ संसार भर एउटै नियम लागू हुन्छ। तर त्यस्तो हुँदैन। प्रत्येक देशको आफ्नै कानुनी दायरा, संवेदनशीलता र डिजिटल क्षेत्रमा कुन कुरा अपराध ठहरिन्छ भन्ने आफ्नै मापदण्ड हुन्छ।

यस समस्यालाई अझ बढी ‘भाइरल संस्कृति’ ले गम्भीर बनाएको छ। परिणामको वास्ता नगरि अनलाइनमा भिजिबिलिटी र वाहवाही पाउने तीव्र चाहना मानिसहरूमा देखिन्छ। लाइक्स र सेयरको पछि दौडने क्रममा कतिपयले आफू कुन उद्देश्यका लागि विदेश गएको हो भन्ने कुरा नै बिर्सिन्छन्।

सबैभन्दा चिन्ताको विषय के हो भने यस्ता घटनाहरू पटक-पटक दोहोरिँदा पनि यो प्रवृत्तिमा सुधार आएको छैन। यसले एउटा गहिरो समस्यातर्फ संकेत गर्छ। हाम्रो डिजिटल साक्षरता एकदमै न्यून छ। हामी डिजिटल अधिकार, जिम्मेवारी, गोपनीयता, गलत सूचना र विशेष गरी सम्बन्धित देशको साइबर कानुनका बारेमा आफूलाई र अरूलाई पर्याप्त रूपमा शिक्षित गराइरहेका छैनौँ। यो समस्या कुनै एक व्यक्तिको गल्ती मात्र होइन। यसले तीव्र रूपमा अन्तर-सम्बन्धित र नियमन गरिएको डिजिटल संसारसँग आफूलाई ढाल्न नसकेको हाम्रो प्रणालीगत असफलतालाई झल्काउँछ।

झर्को लाग्ने निशुल्क एप

मैले वर्षौंसम्म Spotify का सानातिना विज्ञापनहरू, सीमित स्किपहरू र शफल्ड प्लेलिस्टहरू स्वीकार गरेरै चलाएँ। हालसालै आएको बदलाव पछि अब यो एप फ्री भर्सनमा प्रयोग गर्न मिल्छ जस्तै लाग्दैन। यो गीत सुन्ने एप भन्दा सजाय जस्तो लाग्न थाल्यो। मैले अनइन्स्टल गरें।

यो केवल Spotify मात्र होइन। मोबाइलमा Youtube हेर्नै नसकिने भैसक्यो। इन्स्टाग्राम व्यक्तिगत ठाउँ भन्दा बिलबोर्ड र बजारमा परिणत भैसक्यो। मैले Candy Crush खेल्नै छोडेँ।

यहाँ के कुरालाई बेवास्ता गरिन्छ भने हाम्रो जस्तो देशमा सबै प्रयोगकर्ताहरूको भुक्तानी गर्ने क्षमता समान हुँदैनन्। म एपहरूको सब्स्क्रिप्सन तिर्न अनिच्छुक होइन तर नेपालमा डलरमा गरिने भुक्तानीहरू धेरै झन्झटिला छन्।

एउटा मध्यमार्गी बाटो हुनुपर्छ। निशुल्कको अर्थ पहुँचयोग्य हुनुपर्छ। कम सुविधाहरू होस् तर विज्ञापनहरूबाट एप प्रयोग गर्दा निरन्तर झर्को लाग्दो नहोस्।

यसबाट एउटा अनपेक्षित फाइदा भएको छ।

मेरो स्क्रिन टाईम उल्लेख्य घटेको छ। अहिले म मेरी छोरीसँग धेरै समय बिताउँछु, किताबहरू पढ्छु र आफ्नै बगैंचाको फूलहरू स्याहार्न लामो समय बिताउँछु।

मैले अपडेट नपाएर केही कुराहरू छुटाएँ भने संसार ध्वस्त हुँदैन भन्ने बुझेको छु।

बदलिएको सिकाई

म पहिले हरेक तालिमका लागि नयाँ नोटबुक र रंग–रंगका हाइलाइटर बोकेर अगाडिको बेन्चमा बस्ने मान्छे थिएँ। एउटा सेसन छुट्यो भने पछि परिन्छ कि भन्ने डर लाग्थ्यो। सर्टिफिकेटहरू आपत्कालिन सामान जस्तै जम्मा गर्थें।

अहिले त्यो भर्सनको आफूलाई खासै चिन्दिनँ।

४० वसन्त पार गर्दा कक्षा कोठा शैलीको सिकाइ प्रतिको भोक बिस्तारै हरायो।

यसले मलाई चिन्तित पनि बनायो। के म रोकिएको हुँ? के म धेरै सहज भएको हुँ? पछि बुझ्दै गएँ, सायद म अर्को चरणमा पुगेको रहेछु।

मेरो विचारमा २०-३० को सुरुवाती उमेरमा ज्ञान सङ्कलन गर्ने समय हो। हरेक कोर्सले नयाँ संसार खोले जस्तो लाग्छ। शून्यबाट आफ्नो जग बनाइरहेका हुन्छौं।

तर १५–२० वर्ष काम गरिसकेपछि अवस्था बदलिन्छ। अनुभवले आफ्नै एउटा अपरेटिङ सिस्टम बनाइ सकेको हुन्छ। दिनभरि आउने धेरैजसो समस्याहरू त्यसैले सम्हालिदिन्छ। सामान्य तालिमले दिने ज्ञान र आफूले जानेको ज्ञान बीचको दूरी बिस्तारै घटिसकेको हुन्छ।

कोठामा बसेर यो त मलाई पहिल्यै थाहा छ भन्ने महसुस हुनु घमन्ड होइन। त्यो आफू कहाँ आइ पुगेको छु भन्ने इमानदार बुझाइ मात्र हो।

अहिले मेरो सिकाइ धेरै छिटो र मुद्दा केन्द्रित छ। ८ घण्टा सेमिनार हलमा बसेर जबरजस्ती गराइने समूहगत गतिविधिहरू सहने धैर्य अब लगभग शून्य भइसक्यो।

हामी आशावादी छौं

हालैको चुनावले देशको राजनीतिक परिदृश्यलाई नाटकीय रूपमा रूपान्तरण गरि दिएको छ। कुनै समय संसदमा बर्चस्व जमाउने गरेका कैयौँ पुराना र स्थापित अनुहारहरू यस पटक नयाँ पुस्ताका नेताहरूद्वारा विस्थापित भएका छन्।

इतिहासमा पहिलो पटक संसदमा पूर्ण-कालीन राजनीतिज्ञहरू भन्दा बढी डाक्टर, इन्जिनियर र उद्यमीहरू समावेश हुने सम्भावना देखिएको छ। यसै कुराले मात्र पनि जनतामा एक प्रकारको उत्साह र आशा जगाएको छ।

यस क्षणलाई अझ बढी उल्लेखनीय बनाउने कुरा के हो भने परिवर्तनको यो चाहना देशभरि बाटै ओइरिएको थियो। भूगोल, संस्कृति, जात जाति र आस्थाका आधारमा नेपालमा विविधता भए तापनि मतदाताहरू केही फरक र नयाँ कुराको पक्षमा एकजुट देखिए। स्थापित राजनीतिक व्यक्तित्वहरू प्रति वर्षौँ देखि बढ्दै गएको असन्तुष्टि पछि मतदाताहरूले देशको भविष्य कोर्ने अवसर नयाँ प्रतिनिधिहरूलाई दिने निर्णय गरेका छन्। उनीहरूसँगै नयाँ विचार र नयाँ ऊर्जाको आशा पनि जोडिएर आएको छ।

यद्यपि एउटा महत्त्वपूर्ण प्रश्न अझै बाँकी नै छ: के शासनको शैली वास्तवमै परिवर्तन होला त? निर्वाचनले व्यक्तिहरू त बदल्छ तर संस्थाहरू, प्राथमिकताहरू र राजनीतिक बानीहरू भने उस्तै रहने गर्छन्। इतिहासले पटक-पटक देखाएको छ कि जब पात्रहरू बदलिन्छन् तर कथाको स्क्रिप्ट उही रहन्छ तब कथाको अन्त्य विरलै मात्र फरक हुन्छ।

नयाँ नेताहरू प्रति जनतामा उत्साह हुनु स्वाभाविक हो तर नयाँ अनुहार हुनुले मात्रै राम्रो शासनको ग्यारेन्टी गर्दैन। ऊर्जा र महत्त्वाकांक्षा जत्तिकै बुद्धिमत्ता, अनुभव र विचारशील निर्णय प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। दूरदर्शिता र सावधानी पूर्वक गरिने योजना विना राम्रो नियतले गरिएका निर्णयहरूले पनि देशलाई कठिन र अप्रत्याशित परिणामतर्फ धकेल्न सक्छन्।

नयाँ प्रतिनिधिहरू सफल हुनका लागि उनीहरू सिक्नका लागि सधैँ खुला हुनुपर्छ र शासन सञ्चालनका जटिलताहरू सँग अभ्यस्त हुन सक्नुपर्छ। अधिकार वा सत्ता हुनु मात्रै पर्याप्त हुँदैन। देश चलाउन धैर्यता, अनुशासन र दीर्घकालीन सोच चाहिन्छ, जुन चुनावी नारा वा विजयको उत्साहभन्दा धेरै माथिका कुरा हुन्।

अन्ततः वास्तविक प्रश्न यो मात्र होइन कि सत्ता कसको हातमा छ, बरु प्रश्न त यो हो कि कुन मूल्य मान्यता, नियत र जिम्मेवारीका साथ त्यो सत्ताको प्रयोग गरिन्छ।

यस्तो समयमा मलाई Aesop’s fable एउटा पुरानो कथाको सम्झना आउँछ जसमा गोरुहरूले गाउँको कसाईलाई आफ्नो शत्रु ठानेर धपाएका थिए तर उनको ठाउँमा अर्को नयाँ र अनुभवहीन कसाई आयो जसले उनीहरूलाई झन् ठूलो पीडा दियो। समस्या कहिल्यै कसाई मात्र थिएन किनभने मानिसहरूले मासु खान छोडेका थिएनन्।

नेपाल अहिले आशा लाग्दो ठाउँमा उभिएको छ। बलियो जनमत साथ नयाँ सरकारसँग देशलाई एक स्पष्ट दिशा दिने अवसर छ। यदि बुद्धिमत्ता र जिम्मेवारी पूर्वक अघि बढेमा यसले नेपाललाई आर्थिक र सामाजिक प्रगतिको यस्तो उचाइमा पुर्याउन सक्छ जुन यसअघि कहिल्यै हासिल गरेको थिएन।

अस्वाभाविक अनादर

गत शनिबार स्वयम्भूको दर्शन गर्न जाँदा एउटा रोचक दृश्य फेरि देखेँ।

भक्तजनहरू फूल, फल र पूजा सामग्री बोकेर लाइनमा थिए। अनि ती सामग्रीहरू चोर्न केही चलाक बाँदरहरू कमजोर टार्गेट जस्तै बच्चाहरू वा छोटो कदका मानिसहरू, प्राय महिलाहरू रोज्थे। सजिलो शिकार, सजिलो फाइदा।

त्यो दृश्यले सामाजिक सञ्जालमा देखेको अर्को घटना सम्झायो। एउटी युवतीले आफूले मन पराएको राजनीतिक नेतालाई समर्थन गरेको मात्रै के भनिन्, उनलाई गिज्याउने, होच्याउने र उनको बुद्धिमत्तामाथि प्रश्न उठाउनेहरूको भीड लाग्यो।

हजारौँ वर्षको सभ्यता र प्रविधि पछि पनि हामीले एउटा बानी भने खासै छोडेका रहेनछौँ – कमजोर देखिएका माथि जाइलाग्ने। फरक यति हो बाँदरले फल खोस्छन्, हामी लाइक, सेयर र भाइरल हुनको लागि मानिसको सम्मान खोस्छौँ।

लोकतन्त्रमा फरक विचार हुनु स्वाभाविक हो तर त्यसकै कारण कसैलाई अपमान गर्नु बुद्धिमानी होइन। सायद विकास केवल जैविक होइन, नैतिक पनि हो र त्यो उचाइ हामीले अझै पूरा चढ्न बाँकी छ।