स्पेनलाई बधाई

स्पेन फुटबल टोलीलाई हार्दिक बधाई। उनीहरू यस विश्वकप भरकै उत्कृष्ट टोली र उपाधिका पूर्ण हकदार थिए। उनीहरूले फाइनल खेलमा प्रतिद्वन्द्वीलाई सुरुदेखि अन्त्यसम्म नियन्त्रण कायम राखे। सेमिफाइनलमा पनि प्रतियोगिता भर उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स विरुद्ध स्पष्ट रूपमा हाबी भएका थिए।

रोड्री, ओल्मो, रुईज, कुबारसि अनि यमालका नाम लिन चाहेँ। रोड्री त यस विश्वकप कै उत्कृष्ट खेलाडी घोषित भए।

सुपरस्टार खेलाडीहरूले कहिलेकाहीँ निर्णायक क्षणमा खेलको दिशा बदल्न सक्छन् तर फुटबल अन्ततः सामूहिक खेल नै हो भन्ने मानक यस विश्वकपले फेरि एक पटक प्रमाणित गर्यो। सन्तुलित र अनुशासित टोलीले व्यक्तिगत प्रतिभामा अत्याधिक निर्भर टोलीभन्दा प्रायः सधैं राम्रो प्रदर्शन गर्छ। स्पेन त्यसको उत्कृष्ट उदाहरण बन्यो।

अर्जेन्टीनाले देखाएको नकारात्मक शैली, अनावश्यक उग्र व्यवहार र खेल-भावना विपरीतका गतिविधिले उपाधिको हकदार टोलीको छवि प्रस्तुत गरेन। त्यसैले उनीहरूले उपाधि जित्न नसक्नु फुटबलका लागि सकारात्मक परिणाम नै रह्यो।

कांस्य पदकको खेल

एउटा द्विविधा। एकातिर अङ्ग्रेजहरूले फ्रान्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ। अर्कोतिर त्यो जित तेस्रो स्थानका लागि भएको खेलमा आयो जसलाई धेरै सञ्चार माध्यमले पहिल्यै अर्थहीन घोषणा गरिसकेका थिए। मानौँ विश्वकप जितेन भने फुटबल खेल्नुको कुनै अर्थ नै छैन।

वास्तविकता के हो भने प्रत्येक प्रतियोगितामा अन्ततः एउटा मात्र टोली विजेता बन्छ। “हामी जित्न योग्य थियौँ” भन्नु भनेको अप्रत्यक्ष रूपमा बाँकी सबै टोली हार्न योग्य थिए भन्ने पनि हो। त्यसैगरी कांस्य पदकको खेलको कुनै अर्थ छैन भन्नु भनेको फाइनल अघि नै बाहिरिएका सबै टोलीले प्रतियोगिता व्यर्थ खेले भन्ने जस्तै हो।

यस खेलमा फ्रान्सले इङ्गल्यान्डलाई दोस्रो हाफमा निकै दबाबमा राखेको थियो। तर इङ्गल्यान्डले अर्जेन्टीना विरुद्धको खेलमा जस्तो अत्तालिएर बललाई जथाभाबी टाढा हान्ने रणनीति अपनाउनुको सट्टा यस पटक डिफेन्सबाट संयमित र योजनाबद्ध रूपमा खेल बनाउने प्रयास गर्यो। यही शैलीबाट इङ्गल्यान्डले दुई गोल गर्न पनि सफल भयो। यदि उनीहरूले डराएर हरेक पटक बल क्लियर मात्र गरेका भए सम्भवतः त्यो खेल पनि हार्ने थिए।

इङ्गल्यान्डले ६० वर्षयताकै आफ्नो उत्कृष्ट विश्वकप नतिजा हासिल गरेको छ तर पनि प्रशिक्षक विरुद्धको आलोचना भने थामिएको छैन।

असफल मेडिटेशन सेसन

नियमित कामबाट केही बेर आराम पाइन्छ कि भनेर म यसपालि अफिसमा हुने साप्ताहिक मेडिटेशन सेसनमा सहभागी भएँ। त्यहाँ मेरो शरीरले आराम शब्दलाई अलि बढी नै शाब्दिक रूपमा बुझिदियो।

बन्द आँखा, शरीर लडेर पूर्ण रूपमा आराममा अनि मधुरो स्वरमा ध्यानको निर्देशन। यस्तो अवस्थामा मेरो दिमाग जागा बस्नै जानेन। बरु ती सबै मिलेर एउटा अप्रत्याशित निद्राको उत्तम खुराक बने। अवस्था निकै अप्ठ्यारो र लाजमर्दो भयो।

त्यसपछि एउटा कुरा महसुस भयो। शरीरले कुन बेला कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरा हामीले चाहेर पनि कन्ट्रोल गर्न सक्दैनौँ। ध्यानमा पूर्ण रूपमा उपस्थित भएर लिनुपर्ने फाइदा त मैले पक्कै गुमाएँ गुमाएँ, गुरुज्यू प्रति अनादर भएको नहोस् भन्ने मात्रै मन देखि आशा छ।

मेरो एउटै आशा छ, अब अर्को पटक फेरि त्यो सेसनमा जाँदा त्यो कोठामा कसैले पनि म मेडिटेशन बीचमै निदाएको घटना नसम्झोस्!

क्याश पेन थ्योरी

क्याश पेन थ्योरी

युट्युब वा लिंक्डइनका धेरै इन्फ्लुएन्सरहरूले क्याश प्रयोग गर्न र डिजिटल भुक्तानीबाट टाढा रहन सुझाव दिइरहेका हुन्छन्। उनीहरूको तर्क छ कि क्याश तिर्दा हाम्रो दिमागले खर्चको पीडा महसुस गर्छ जसले गर्दा अनावश्यक खर्च घटाउन मद्दत गर्छ।

जिज्ञासावश मैले पनि यो विधि केही साता अघि देखि अपनाएँ तर मेरो अनुभवमा भने खासै केही फरक परेन। नगद दिऊँ वा QR स्क्यान गरूँ तिर्नुपर्ने रकम त उही नै हो। आवश्यक सामान किन्दा भुक्तानीको माध्यमले वित्तीय अनुशासन आफैं परिवर्तन गर्दैन रहेछ।

नेपालमा त डिजिटल भुक्तानी झन् व्यावहारिक छ। हाल देशको अधिकांश ठाउँमा मोबाइल नेटवर्क पुगेको छ जसले गर्दा ग्रामीण क्षेत्रका बजारमा पनि धेरै पसलेहरूले डिजिटल भुक्तानी नै रुचाउँछन्। नगद बोक्ने, खुल्ला पैसा नपाउने, एटीएम वा बैंक धाउनुपर्ने झन्झट पनि हुँदैन। हिजो मात्र भाटभटेनी सुपरमार्केटमा अहिले राष्ट्र बैंकले सिक्का साट्ने सुविधा नदिएको र फिर्ता रकम दिन असहज भएकोले नगदको सत्ता कार्ड अथवा डिजिटल भुक्तानीको अनुरोध देखें।

सायद इन्फ्लुएन्सरहरूको सुझाव धेरै खर्च गर्ने र बेहिसाब किनमेल गर्ने मानिसहरूका लागि उपयोगी होलान्। सायद म भने त्यो समूहमा पर्दिनँ। बरु मेरो लागि डिजिटल पेमेन्ट झन् प्रभावकारी भएको छ। म कार्ड प्रयोग गर्छु तर धेरै पसलेहरूले पोस मेसिनमा लाग्ने शुल्कका कारण कार्डबाट हुने पेमेन्ट स्वीकार्दैनन्। त्यसैले मेरो किनमेल गर्ने ठाउँ नै सीमित भएको छ र प्रायः साताको अन्तमा मात्र किनमेलको लागि पुग्छु र यही सीमाले मेरो खर्च कुनै पनि “क्यास पेन” भन्दा राम्रो सँग नियन्त्रण भएको छ।

मेरो अनुभवमा बजेट बचाउने सबै भन्दा प्रभावकारी उपाय भनेको खर्च गर्न मिल्ने ठाउँ नै कम गर्नु हो।

पहाडी हवाई यात्रा

पहाडी हवाई यात्रा

पर्यटन मन्त्रीले हालै पहाडी विमानस्थलहरूमा उडान घट्नुको प्रमुख कारण पर्याप्त यात्रु नभएको बताएका छन्। उहाँको भनाइ पूर्ण रूपमा गलत भने होइन तर यसले समस्याको धेरै ठूलो पक्षलाई बेवास्ता गर्छ। आम नागरिकलाई दोष दिन सजिलो छ तर वास्तविक समस्यालाई स्वीकार्नु त्यति सजिलो छैन।

मानिसहरू जोखिमपूर्ण पहाडी राजमार्गमा घण्टौँ, कहिलेकाहीँ दिनौँसम्म यात्रा गर्न रुचाउँछन् भन्ने होइन। उनीहरू त्यसो गर्न बाध्य छन् किनभने हवाई टिकट अत्यन्त महँगो छ, उडान तालिका भरपर्दो छैन र आवश्यक परेको बेला टिकट वा उडान दुबै नै उपलब्ध हुँदैन।

यदि मन्त्रीले सरकारले सञ्चालन गर्ने वायुसेवासँग STOL (छोटो दूरीमा उडान तथा अवतरण गर्न सक्ने) विमानस्थलमा उड्न मिल्ने केवल दुईवटा विमान छन् र तीमध्ये एउटा मात्र सञ्चालन योग्य अवस्थामा छ भन्ने स्वीकार्नु भयो भने त्यसको जवाफ पनि दिनुपर्छ। यदि उहाँले यस्ता विमान सञ्चालन गर्ने निजी वायुसेवा पनि दुई–तीनवटामा सीमित छन् र उनीहरूले प्रायः एभरेस्ट जस्ता बढी आम्दानी हुने रुटलाई प्राथमिकता दिन्छन् भन्नुभयो भने अझ धेरै प्रश्न उठ्नेछन्। र यदि उहाँले सामान्य यात्रुले टिकट पाउनै मुस्किल हुने किनभने धेरै सिट पहुँच र चिनजानका आधारमा बाँडिने गरेको यथार्थ स्वीकार्नु भयो भने बहसको दिशा नै बदलिनेछ।

प्रादेशिक राजधानी सुर्खेतबाट मुगु करिब २८० किलोमिटर मात्र टाढा छ। यो दूरी सडकमार्गबाट पार गर्न दुई दिन लाग्छ त्यो पनि निकै कठिन र असहज यात्रा पछि। सरकारी वायुसेवाले हप्तामा एकपटक मात्र यहाँ उडान गर्छ र त्यो पनि मौसमको कारण देखाएर पटक–पटक रद्द हुन्छ। यस्तो अवस्थामा मानिसहरूले भर पर्न नसकिने हवाई सेवामा किन विश्वास गर्ने?

मुगु जस्ता दुर्गम जिल्लाका लागि नियमित र भरपर्दो हवाई सेवा कुनै विलासिता होइन, लाइफलाइन हो जहाँ आपतकालीन स्वास्थ्य सेवा समेत सहज उपलब्ध छैन। समयमै हुने एउटा उडानले जीवन र मृत्यु बीचको फरक समेत बनाउन सक्छ।

त्यसैले यात्रु पुगेन भन्ने निष्कर्षमा पुग्नु अघि एउटा प्रश्न सोध्नु आवश्यक छ, के हामीले वास्तवमै आम मानिसले विश्वास गर्न सक्ने हवाई सेवा प्रदान गरेका छौँ?

सार्वजनिक यातायातको सकस

सार्वजनिक यातायातको विषयमा धेरै बहसहरू सुनिन्छ। केही समयअघि अनुभवको लागि आफ्नो दुई पांग्रे घरमै छोडेर बसमा अफिस जाने निर्णय गरेँ। घर र अफिस जम्मा ७ किमि टाढा छन् र सहरकै राम्रो मध्येको सडकले जोडिएका।

सोचेको थिएँ बढीमा ३५-४० मिनेट लाग्ला तर वास्तविकता फरक रहेछ। खचाखच भरिएको मिनी-बसमा उभिने ठाउँ समेत थिएन। प्रत्येक स्टपमा लामो पर्खाइ, थप यात्रु कोच्ने हतार, सहचालकको रुखो बोली, लापरवाह गाडी चलाउनु सार्है मन परेन। अन्ततः ७ किमिको यात्रा पूरा गर्न ९० मिनेटभन्दा बढी लाग्यो।

त्यसपछि बुझें सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ भन्न सजिलो छ, दैनिक रूपमा त्यसमै निर्भर हुनु अर्कै स्तरको मानसिक तनाव हो। काठमाडौं धेरै बदलिसकेको छ, सार्वजनिक यातायात प्रणाली सायद दशक अघि देखि उस्तै छ।

काठमाडौंमा रोजगार गर्नेलाई समय नै सबैभन्दा ठूलो सम्पत्ति हो। दिनको धेरै समय अव्यवस्थित यातायातमा गुमाउनु भन्दा सक्नेले आफ्नै भरपर्दो साधनको व्यवस्था गर्नु खराब निर्णय होइन।

सार्वजनिक यातायात सुधारिनु पर्छ, त्यसमा दुईमत छैन तर त्यो नहुँदासम्म मानिसहरूले आफ्नो समय र पीस अफ माइन्डको पनि मूल्य बुझ्नुपर्छ।

ट्राफिक नियम र जरिवाना

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि निकै कडा जरिवानाको प्रस्ताव गरेको छ। सोहि अवस्थामा स्वीकृत भए केही जरिवाना त देशको न्यूनतम मासिक ज्याला भन्दा पनि बढी हुन सक्छ।

यस विषयमा इन्टरनेट विभाजित छ। धेरैले भन्छन्, “नियम पालना गरे डराउनु पर्दैन“। नेपालमा सडक दुर्घटनाको तथ्यांक भयावह हुनु र त्यसको ठूलो कारण सामान्य ट्राफिक नियमको बेवास्ता हुनु पनि सत्य हो। तर समस्या त्यतिमै सकिँदैन। नियम पालना गर्ने व्यक्ति पनि गलत आरोप, पहिचानमा त्रुटि वा कमजोर प्रमाणका कारण कारबाहीमा पर्न सक्छ। “नियम पालना गरे पुग्छ” भन्ने तर्कले यस्ता गल्तीलाई समेट्दैन।

सुरक्षित सडकका लागि कडा जरिवाना मात्रै पर्याप्त हुँदैन। राम्रो सडक पूर्वाधार, निष्पक्ष र प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्तालाई उचित शिक्षा पनि उत्तिकै आवश्यक छ। दण्डहीनता जति हानिकारक छ अत्यधिक सजाय पनि त्यत्तिकै हानिकारक हुन्छ। दुवैले अन्ततः सार्वजनिक प्रणाली प्रतिको विश्वास कमजोर बनाउँछन्।

रारा तालको यात्रा

रारा तालको यात्रा

मुगु जिल्ला प्राकृतिक सुन्दरताले निकै धनी ठाउँ हो। देशकै ठूलो रारा ताल यतै छ। तर जिल्लाको सदरमुकाम पुग्न प्रादेशिक राजधानी सुर्खेतबाट दुई दिनको राजमार्गको यात्रा गर्न पर्छ। हवाईमार्गबाट मुगुलाई सुर्खेतले जोडिँदैन। त्यसको लागि नेपालगन्जबाट यात्रा गर्नुपर्ने हुन्छ।

हरेक वर्ष रारा घुम्न आउनेहरूको ठूलो समूह छ। यहाँ पुग्ने बाटो निकै नै रमणीय र साहसिक छ तर प्राय ठाउँमा पुगेपछि निरास हुन्छन्। यताउटी फोटो खिचेपछि एक घण्टा भुल्ने ठाउँ पनि छैन। यता पुगेपछि बस्ने खाने राम्रो सुविधा छैन। सदरमुकाम गमगढीमा राम्रो होटलहरू छैनन् र तालकै छेउछाउका रिसोर्टहरू अत्यन्तै महँगा छन्। यता पुग्ने सबै जना कवि हुन्नन्। सबैजना फेवा तालसँग तुलना गर्दै फर्कन्छन्।

यात्रा महत्वपूर्ण हो, गन्तव्य हैन भन्ने भनाइ यो ठाउँमा सार्थक हुन्छ।

द ट्वाइलाइट जोन

सन् १९६० को दशकको अमेरिकी टिभी शो द ट्वाइलाइट जोन The Twilight Zone एक नेपालीका रूपमा हेर्दा अनौठो साथसाथै भव्य लाग्छ। त्यसमा देखाएको अमेरिकी सहर/समाज त्यतिबेलै आधुनिक, व्यवस्थित र फ्युचरिस्टिक देखिन्छ। यता त्यही समयमा काठमाडौं भने खुला खेत, परम्परागत बस्ती, गुठी, मन्दिर र समुदायमा आधारित जीवनले भरिएको थियो।

हामीले पछि शिक्षा, स्वास्थ्य र अरु आधुनिकताको अवसर त पायौँ तर सँगसँगै केही छिमेकीपन, केही साझा जिम्मेवारी र केही समुदायको न्यानोपन पनि गुमायौँ। पश्चिमी समाजले सय वर्षमा भोगेको परिवर्तन नेपालले एक पुस्तामै भोग्यौं।

आधुनिकता समस्या होइन तर आधुनिक मात्र राम्रो भन्ने सोच समस्या हुन सक्छ।

प्रगतिको दौडमा हामीले के गुमायौँ र अझै के फिर्ता ल्याउन सक्छौँ, सायद आज हामीले आफैँलाई सोध्नुपर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो।

राजमार्गको दृश्यहरू

अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्ड एक्सप्रेसवे जस्तै देखिन्छ तर सायद हैन। किनभने हरेक दिन जुनसुकै समयमा तपाई त्यो सडक प्रयोग गर्नुहोस् तपाई देख्नुहुनेछ सामानले भरिएका ठेलागाडा धकेलिरहेका मानिसहरू, मालसामान बोकेका साइकलहरू, जथाभावी सडक काट्ने पैदल यात्रीहरू, कुदिरहेको मोटरसाइकलमा एउटा हातमा मोबाइलमा कुरा गर्दै गरेका चटकी डेरडेभिलहरू र सार्वजनिक बसहरू आफूलाई जहाँ मन लाग्यो त्यहीँ रोकेको ।

यी मध्ये कुनै पनि कुरा सुरक्षित होइन र यी मध्ये कुनै पनि मुख्य सडकमा हुनुपर्ने होइन। त्यसका लागि दुवै किनारामा सर्भिस लेन बनाइएका छन्। तर ती सर्भिस लेनहरूको अवस्था यति दयनीय छ कि तिनिहरू व्यवहारमा पार्किङ स्थल जस्तै बनेका छन्। सर्भिस लेनका धेरै खण्ड त हालसम्म बनेको छैन। यो सडक बनेको एक दशक भन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै सरकार आए र गए तर सर्भिस लेनहरू उस्तै बेवास्तामा परेका छन्।

किन यो विषय महत्वपूर्ण छ भने काठमाडौं एउटा प्राइमेट सिटी हो जुन चारै तिर साथसाथै माथि तिर पनि फैलिरहेको छ जसको आफ्नै भौगोलिक र भौगर्भिक सीमितता छ। भविष्यमा काठमाडौं फैलिएर छिमेकी जिल्लाको बनेपा र धुलिखेलसम्म पुग्छ। हुनत यी बजारहरूलाई जोड्ने सडक पूर्वाधार पनि निर्माण हुँदैछ। तर त्यो भविष्य हाल बनिरहेको पूर्वाधार तयार भए पनि नभए पनि आउँदैछ।

उपत्यका केवल यहाँका करिब २० लाख स्थायी बासिन्दाको मात्र घर होइन। विद्यार्थी, आप्रवासी श्रमिक, दैनिक आवतजावत गर्ने यात्रु, पर्यटक, तथा स्वास्थ्य सेवा वा प्रशासनिक कामका लागि आउने मानिसहरूलाई समेत जोड्ने हो भने उपत्यकाको वास्तविक कार्यात्मक जनसंख्या ५० लाखको हाराहारीमा पुग्छ र ती सबै मानिस यस्तै सडकहरूमा निर्भर छन्। यसको लागि पनि यो सडकको उचित व्यवस्थापन आवश्यक छ।

ठूला र महत्वाकांक्षी परियोजनाका सपना हामी देख्दै गरौला। अहिलेका लागि त हामीलाई केवल यति चाहिएको हो कि बनेको/भएको सडकले साँच्चिकै नै काम गरोस्।