Showing posts tagged #road · clear

हामी किन धेरै रिसाउन थालेका छौं?

केही दिनअघि फेरि सहरको बीचमै आत्मदाहको दुःखद घटना भयो। उनी एक सार्वजनिक बस चालक थिए र समाचार अनुसार ट्राफिक प्रहरीसँगको विवादपछि उनले यस्तो कदम उठाए। एक महिना अघि पनि यस्तै प्रकृतिको घटना भएको थियो।

को सही थियो, को गलत थियो म त्यसको बहस गर्न चाहन्नँ।

एउटा प्रश्न चाहिँ गम्भीर छ। के हामी समाजको रूपमा यति धेरै रिसाउन थालेका छौं कि सामान्य विवाद पनि जीवन–मरणको अवस्थामा पुग्न थालेको हो?

अझ चिन्ताको कुरा के छ भने यस्तो चरम आक्रोश बोकेका मानिसहरू सार्वजनिक यातायात चलाइरहेका छन्। उनीहरू दिनभरि सयौं यात्रु बोकेर सडकमा दौडिरहेका हुन्छन्।

यदि सडकमा हुने सामान्य विवाद र तनाव यति गम्भीर अवस्थासम्म पुग्न सक्छ भने हामीले चालकहरूको काम गर्ने वातावरण र समग्र सार्वजनिक यातायात व्यवस्थाबारे पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ।

सार्वजनिक सवारी चलाउने व्यक्तिको ड्राइभिङ सीप मात्र होइन जिम्मेवारी, व्यवहार र यात्रु सुरक्षा प्रतिको संवेदनशीलता पनि महत्वपूर्ण हुनुपर्छ। यो यात्रु, चालक र सडकमा रहेका सबैको सुरक्षासँग जोडिएको विषय हो।

बस चालक बन्नका लागि आवश्यक योग्यता, लाइसेन्स र स्वास्थ्यसम्बन्धी मापदण्ड छन् भने ती कागजमा मात्र सीमित हुनु हुँदैन। सम्बन्धित निकायले यसको कडाइका साथ कार्यान्वयन र निगरानी गर्नुपर्छ।

हामीलाई सडकमा केवल गाडी चलाउन सक्ने चालक चाहिएको होइन। हामीलाई सयौं मानिसको जीवन आफ्नो हातमा लिएर गाडी चलाउन सक्ने जिम्मेवार चालक चाहिएको हो।

आशाका साइरन

आशाका साइरन

हामी नेपालीहरू सडकमा हुँदा सिभिक सेन्सका लागि खासै परिचित छैनौं। ट्राफिक नियम पालना गर्ने बानीमा अझै धेरै सुधार गर्न बाँकी छ।

एउटा कुरा भने हामीले कुनै नियम वा निर्देशन बिना नै सिकेका छौं। साइरन बज्ने बित्तिकै आपत्कालीन गाडीलाई बाटो दिने। त्यहाँ कुनै प्रहरीले आदेश दिइरहनु पर्दैन। सबै आफैं अग्रसर हुन्छन्।

यसको कारण सायद हाम्रो जीवन इमर्जेन्सीसँग धेरै नजिकबाट जोडिएको छ। यी हाम्रो लागि समाचारका विषय मात्र होइनन्, धेरैले आफ्नै जीवनमा भोगेका वास्तविकता हुन्। आज पनि आपत पर्दा सबैभन्दा पहिले सरकार होइन, समुदाय नै उद्धारमा जुट्छ। छिमेकी, आफन्त र अपरिचित मानिसहरू नै पहिलो सहयोगी बन्छन्।

त्यसैले साइरनको आवाज हाम्रो लागि एउटा गाडीको आवाज मात्र होइन, त्यो कसैको जीवन र मृत्यु बीचको दौड हो भन्ने हामी बुझ्छौं।

हामी सँग धेरै कमी कमजोरीहरू छन् तर त्यो केही इन्च बाटो छोड्ने बानीले हामी अझै पनि संकटमा परेकाको पीडा बुझ्ने समाज हौं भन्ने देखाउछ। किनकि हामीलाई थाहा छ, एक दिन त्यो एम्बुलेन्स भित्र हाम्रो आफ्नै मान्छे पनि हुन सक्छ।

सार्वजनिक यातायातको सकस

सार्वजनिक यातायातको विषयमा धेरै बहसहरू सुनिन्छ। केही समयअघि अनुभवको लागि आफ्नो दुई पांग्रे घरमै छोडेर बसमा अफिस जाने निर्णय गरेँ। घर र अफिस जम्मा ७ किमि टाढा छन् र सहरकै राम्रो मध्येको सडकले जोडिएका।

सोचेको थिएँ बढीमा ३५-४० मिनेट लाग्ला तर वास्तविकता फरक रहेछ। खचाखच भरिएको मिनी-बसमा उभिने ठाउँ समेत थिएन। प्रत्येक स्टपमा लामो पर्खाइ, थप यात्रु कोच्ने हतार, सहचालकको रुखो बोली, लापरवाह गाडी चलाउनु सार्है मन परेन। अन्ततः ७ किमिको यात्रा पूरा गर्न ९० मिनेटभन्दा बढी लाग्यो।

त्यसपछि बुझें सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ भन्न सजिलो छ, दैनिक रूपमा त्यसमै निर्भर हुनु अर्कै स्तरको मानसिक तनाव हो। काठमाडौं धेरै बदलिसकेको छ, सार्वजनिक यातायात प्रणाली सायद दशक अघि देखि उस्तै छ।

काठमाडौंमा रोजगार गर्नेलाई समय नै सबैभन्दा ठूलो सम्पत्ति हो। दिनको धेरै समय अव्यवस्थित यातायातमा गुमाउनु भन्दा सक्नेले आफ्नै भरपर्दो साधनको व्यवस्था गर्नु खराब निर्णय होइन।

सार्वजनिक यातायात सुधारिनु पर्छ, त्यसमा दुईमत छैन तर त्यो नहुँदासम्म मानिसहरूले आफ्नो समय र पीस अफ माइन्डको पनि मूल्य बुझ्नुपर्छ।

ट्राफिक नियम र जरिवाना

ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि निकै कडा जरिवानाको प्रस्ताव गरेको छ। सोहि अवस्थामा स्वीकृत भए केही जरिवाना त देशको न्यूनतम मासिक ज्याला भन्दा पनि बढी हुन सक्छ।

यस विषयमा इन्टरनेट विभाजित छ। धेरैले भन्छन्, “नियम पालना गरे डराउनु पर्दैन“। नेपालमा सडक दुर्घटनाको तथ्यांक भयावह हुनु र त्यसको ठूलो कारण सामान्य ट्राफिक नियमको बेवास्ता हुनु पनि सत्य हो। तर समस्या त्यतिमै सकिँदैन। नियम पालना गर्ने व्यक्ति पनि गलत आरोप, पहिचानमा त्रुटि वा कमजोर प्रमाणका कारण कारबाहीमा पर्न सक्छ। “नियम पालना गरे पुग्छ” भन्ने तर्कले यस्ता गल्तीलाई समेट्दैन।

सुरक्षित सडकका लागि कडा जरिवाना मात्रै पर्याप्त हुँदैन। राम्रो सडक पूर्वाधार, निष्पक्ष र प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्तालाई उचित शिक्षा पनि उत्तिकै आवश्यक छ। दण्डहीनता जति हानिकारक छ अत्यधिक सजाय पनि त्यत्तिकै हानिकारक हुन्छ। दुवैले अन्ततः सार्वजनिक प्रणाली प्रतिको विश्वास कमजोर बनाउँछन्।