Showing posts tagged #mood · clear

असहज विचार

यो सायद अनपपुलर अपिनियन हुन सक्छ।

जब कुनै नेपालीमूलको व्यक्तिले विदेशमा ठूलो सफलता हासिल गर्छ, हामीले उसलाई लगभग तुरुन्तै “हाम्रो मान्छे” भनेर स्वीकार गर्छौ चाहे उसले विदेशी नागरिकता नै किन नलिएको होस्। विश्व मञ्चमा कम प्रभाव भएको हाम्रो जस्तो देशले यस्ता व्यक्तिहरू मार्फत “हामी पनि विश्वस्तरमा छौं” भन्ने अनुभूति गर्छ। उनीहरूलाई “हाम्रो मान्छे” स्वीकार गर्न कुनै जोखिम पनि हुँदैन किनभने उनीहरू यहाँको सामाजिक जटिलताको हिस्सा हुँदैनन्। उनीहरू समाचारका शीर्षक र इन्स्टाग्राम पोस्टहरूमा मात्र देखिन्छन्। जिल्ला प्रशासन कार्यालयको लाइनमा उभिएर राष्ट्रिय परिचयपत्र बनाउन आएका हुँदैनन्।

तर देश भित्रै भने पहिचान र अपनत्व बारेका बहसहरू धेरै जटिल छन। हामी आफ्नै मान्छेहरूलाई रंग, अनुहारको बनौट र लवजको कारण विदेशी हो कि भनेर शंका गर्छौ।

आशाका साइरन

हामी नेपालीहरू सडकमा हुँदा सिभिक सेन्सका लागि खासै परिचित छैनौं। ट्राफिक नियम पालना गर्ने बानीमा अझै धेरै सुधार गर्न बाँकी छ।

एउटा कुरा भने हामीले कुनै नियम वा निर्देशन बिना नै सिकेका छौं। साइरन बज्ने बित्तिकै आपत्कालीन गाडीलाई बाटो दिने।

मैले देखेको काठमाडौंका ग्वार्को, कोटेश्वर, जडीबुटी वा सातदोबाटो जस्ता धेरै जाम हुने चोकहरूमा पनि मानिसहरूले आफ्नो गाडी थोरै भए पनि सारेर आपत्कालीन सवारीलाई बाटो बनाइ दिन्छन्। त्यहाँ कुनै प्रहरीले आदेश दिइरहनु पर्दैन। सबै आफैं अग्रसर हुन्छन्।

यसको कारण सायद हाम्रो जीवन इमर्जेन्सीसँग धेरै नजिकबाट जोडिएको छ। बाढी, पहिरो, भूकम्प, डढेलो वा दुर्घटना, यी हाम्रो लागि समाचारका विषय मात्र होइनन्, धेरैले आफ्नै जीवनमा भोगेका वास्तविकता हुन्। देशका धेरै ठाउँमा आज पनि आपत पर्दा सबैभन्दा पहिले सरकार होइन, समुदाय नै उद्धारमा जुट्छ। छिमेकी, आफन्त र अपरिचित मानिसहरू नै पहिलो सहयोगी बन्छन्।

त्यसैले साइरनको आवाज हाम्रो लागि एउटा गाडीको आवाज मात्र होइन। त्यो कसैको जीवन र मृत्यु बीचको दौड हो भन्ने हामी बुझ्छौं।

हामी सँग धेरै कमी कमजोरीहरू छन् तर त्यो केही इन्च बाटो छोड्ने बानीले एउटा सुन्दर कुरा सम्झाइरहन्छ। अन्ततः हामी अझै पनि संकटमा परेकाको पीडा बुझ्ने समाज हौं। किनकि हामीलाई थाहा छ, एक दिन त्यो एम्बुलेन्स भित्र हाम्रो आफ्नै मान्छे पनि हुन सक्छ।

सिनेमाको सुगन्ध

हामी जब सुरक्षा जाँच पार गरेर हलको लबीमा छिर्छौँ, सिनेमाको अनुभव दिने एउटा परिचित बास्ना नाकमा आउँछ। त्यो हो पपकर्नको सुगन्ध। त्यो सुगन्ध अनि स्वाद आफैँमा सिनेमा हेर्ने अनुभवको एउटा अभिन्न हिस्सा बनेको हुन्छ।

नेपालमा सिनेमा हेर्ने अनुभवले परम्परागत हलहरूबाट अत्याधुनिक मल्टिप्लेक्स सम्मको यात्रा तय गरिसकेको छ। आरामदायी सिट, ठूला स्क्रीन, गजबको साउण्ड इफेक्ट अनि व्यवस्थित टिकेटिङले सबै कुरा बदलिदिएको छ। यति धेरै परिवर्तनका बीच सिनेमा हेर्दा पपकर्नको ठाउँ भने आजसम्म उस्तै छ। आज अझ धेरै स्न्याक्स्का विकल्पहरू छन् तर पपकर्न ताजा अनि हल्का हुन्छ, सजिलै बोक्न र खान सकिन्छ र फिल्म हेर्दा ध्यान पनि भंग गर्दैन (आफ्नो र अरुको पनि)।

घरमै फिल्म हेर्न पपकर्न खाने क्रेभिङ्ग कहिले भएन। तर हलमा काखमा पपकर्नको बकेट नबोकी फिल्म हेर्न खल्लो लाग्छ। स्वादका लागि मात्र होइन, अर्को दुई घण्टासम्म अँध्यारो कोठामा हातमा केही न केही समातिरहन मन लाग्ने रहेछ र त्यसका लागि पपकर्न जस्तो अर्को विकल्प मानौँ छैन।

हामीलाई थाहा छ कि सिनेमा हलको पपकर्न निकै महँगो हुन्छ। प्रत्येक पटक “आज त किन्दिनँ” भनेर सोचिन्छ। तर त्यो बास्ना नाकमा पुग्नेबित्तिकै काउन्टरतिर नजर पुग्छ र केही क्षणमै हातमा पपकर्नको बकेट लिएर हलभित्र पसिरहेको हुन्छु।

केही परम्पराहरू आवश्यक भएकाले होइन अनुभवको हिस्सा बनेकाले जीवित रहन्छन्। सिनेमा प्रेमीहरूका लागि पपकर्न त्यस्तै एउटा परम्परा हो।