Showing posts tagged #mood · clear

रेस्ट इन पीस, गरिमा

कहिलेकाहीँ समाचार पढिन्छ, मोबाइल एकातिर राखिन्छ अनि आफ्नो दैनिकीमा फर्किन खोजिन्छ तर मनबाट त्यो कुरा हट्दैन। के भन्ने, कसरी प्रतिक्रिया दिने। आफ्नो आक्रोश मनभित्रै बोकेर बस्छौँ। एक्लै हुँदा आँसु पनि आउँछ।

एउटा तीन वर्षीया बालिका यस्तो अकल्पनीय अपराधको शिकार भइन्, शरीर काँपिरहेको छ, मन रिसले अशान्त भएको छ।

मलाई सरकारसँग रिस उठेको छ। सुरक्षा निकायसँग रिस उठेको छ। हामीले निर्माण गरेको समाजसँग रिस उठेको छ। म आफैँसँग पनि रिसाएको छु किनकी हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ एउटा अबोध बालिकामाथि यति भयानक घटना हुन सक्छ।

मानिस आखिर कसरी एउटा सानो बालिका माथि यस्तो अपराध गर्न सक्ने अवस्थामा पुग्छ? हामीले के सिकाउन सकेनौँ? के रोक्न सकेनौँ? के देख्न सकेनौँ?

म पनि एउटी छोरीको बुबा हुँ। त्यसैले मलाई यस्ता समाचारले अझ गहिरो सताउँछ।

एउटी छोरी यो संसारमा आउँदा उनको मनमा एउटा विश्वास हुन्छ उनका बुबाले उनलाई जीवनका हरेक बाधाबाट जोगाउनेछन्। म पनि आफ्नी छोरीलाई जोगाउन आफूले सक्ने सबै कुरा गर्नेछु। तैपनि एउटा डरलाग्दो प्रश्न मनमा आउँछ-यदि एकछिनका लागि म त्यहाँ भइनँ भने? यदि आँखाको एक झिमिक्कमै केही छुट्यो भने?

गरिमा चौधरीको घटनाले छोडेर गएको डर यही हो।

गरिमाले भर्खर हिड्न थालेकी थिइन्। उनी केवल तीन वर्षकी थिइन्। गरिमाले हुर्किन पाउनुपर्थ्यो। उनले विद्यालय जाने बिहानहरू देख्नुपर्थ्यो। जन्मदिनमा केक काट्नुपर्थ्यो। अनगिन्ती प्रश्न सोध्नुपर्थ्यो। बाल्यकालका ससाना खुसीहरू अनुभव गर्नुपर्थ्यो। उनले पूरा जीवन बाँच्न पाउनुपर्थ्यो।

रेस्ट इन पीस, गरिमा।

असहज विचार

यो सायद अनपपुलर अपिनियन हुन सक्छ।

जब कुनै नेपालीमूलको व्यक्तिले विदेशमा ठूलो सफलता हासिल गर्छ, हामीले उसलाई लगभग तुरुन्तै “हाम्रो मान्छे” भनेर स्वीकार गर्छौ चाहे उसले विदेशी नागरिकता नै किन नलिएको होस्। विश्व मञ्चमा कम प्रभाव भएको हाम्रो जस्तो देशले यस्ता व्यक्तिहरू मार्फत “हामी पनि विश्वस्तरमा छौं” भन्ने अनुभूति गर्छ। उनीहरूलाई “हाम्रो मान्छे” स्वीकार गर्न कुनै जोखिम पनि हुँदैन किनभने उनीहरू यहाँको सामाजिक जटिलताको हिस्सा हुँदैनन्। उनीहरू समाचारका शीर्षक र इन्स्टाग्राम पोस्टहरूमा मात्र देखिन्छन्। जिल्ला प्रशासन कार्यालयको लाइनमा उभिएर राष्ट्रिय परिचयपत्र बनाउन आएका हुँदैनन्।

तर देश भित्रै भने पहिचान र अपनत्व बारेका बहसहरू धेरै जटिल छन। हामी आफ्नै मान्छेहरूलाई रंग, अनुहारको बनौट र लवजको कारण विदेशी हो कि भनेर शंका गर्छौ।

आशाका साइरन

आशाका साइरन

हामी नेपालीहरू सडकमा हुँदा सिभिक सेन्सका लागि खासै परिचित छैनौं। ट्राफिक नियम पालना गर्ने बानीमा अझै धेरै सुधार गर्न बाँकी छ।

एउटा कुरा भने हामीले कुनै नियम वा निर्देशन बिना नै सिकेका छौं। साइरन बज्ने बित्तिकै आपत्कालीन गाडीलाई बाटो दिने। त्यहाँ कुनै प्रहरीले आदेश दिइरहनु पर्दैन। सबै आफैं अग्रसर हुन्छन्।

यसको कारण सायद हाम्रो जीवन इमर्जेन्सीसँग धेरै नजिकबाट जोडिएको छ। यी हाम्रो लागि समाचारका विषय मात्र होइनन्, धेरैले आफ्नै जीवनमा भोगेका वास्तविकता हुन्। आज पनि आपत पर्दा सबैभन्दा पहिले सरकार होइन, समुदाय नै उद्धारमा जुट्छ। छिमेकी, आफन्त र अपरिचित मानिसहरू नै पहिलो सहयोगी बन्छन्।

त्यसैले साइरनको आवाज हाम्रो लागि एउटा गाडीको आवाज मात्र होइन, त्यो कसैको जीवन र मृत्यु बीचको दौड हो भन्ने हामी बुझ्छौं।

हामी सँग धेरै कमी कमजोरीहरू छन् तर त्यो केही इन्च बाटो छोड्ने बानीले हामी अझै पनि संकटमा परेकाको पीडा बुझ्ने समाज हौं भन्ने देखाउछ। किनकि हामीलाई थाहा छ, एक दिन त्यो एम्बुलेन्स भित्र हाम्रो आफ्नै मान्छे पनि हुन सक्छ।

सिनेमाको सुगन्ध

हामी जब सुरक्षा जाँच पार गरेर हलको लबीमा छिर्छौँ, सिनेमाको अनुभव दिने एउटा परिचित बास्ना नाकमा आउँछ, त्यो हो पपकर्नको सुगन्ध।

नेपालमा सिनेमा हेर्ने अनुभवले परम्परागत हलहरूबाट अत्याधुनिक मल्टिप्लेक्स सम्मको यात्रा तय गरिसकेको छ। यति धेरै परिवर्तनका बीच सिनेमा हेर्दा पपकर्नको ठाउँ भने आजसम्म उस्तै छ। पपकर्न ताजा अनि हल्का हुन्छ, सजिलै बोक्न र खान सकिन्छ र फिल्म हेर्दा ध्यान पनि भंग गर्दैन (आफ्नो र अरुको पनि)।

घरमै फिल्म हेर्दा पपकर्न खाने क्रेभिङ्ग कहिले भएन। तर हलमा काखमा पपकर्नको बकेट नबोकी फिल्म हेर्न खल्लो लाग्छ। स्वादका लागि मात्र होइन, अर्को दुई घण्टासम्म अँध्यारो कोठामा हातमा केही न केही समातिरहन मन लाग्ने रहेछ र त्यसका लागि पपकर्न जस्तो अर्को विकल्प मानौँ छैन।

हामीलाई थाहा छ कि सिनेमा हलको पपकर्न निकै महँगो हुन्छ। प्रत्येक पटक “आज त किन्दिनँ” भनेर सोचिन्छ। तर त्यो बास्ना नाकमा पुग्नेबित्तिकै काउन्टरतिर नजर पुग्छ र केही क्षणमै हातमा पपकर्नको बकेट लिएर हलभित्र पसिरहेको हुन्छु।

अस्वाभाविक अनादर

गत शनिबार स्वयम्भूको दर्शन गर्न जाँदा एउटा रोचक दृश्य फेरि देखेँ।

भक्तजनहरू फूल, फल र पूजा सामग्री बोकेर लाइनमा थिए। अनि ती सामग्रीहरू चोर्न केही चलाक बाँदरहरू कमजोर टार्गेट जस्तै बच्चाहरू वा छोटो कदका मानिसहरू, प्राय महिलाहरू रोज्थे। सजिलो शिकार, सजिलो फाइदा।

त्यो दृश्यले सामाजिक सञ्जालमा देखेको अर्को घटना सम्झायो। एउटी युवतीले आफूले मन पराएको राजनीतिक नेतालाई समर्थन गरेको मात्रै के भनिन्, उनलाई गिज्याउने, होच्याउने र उनको बुद्धिमत्तामाथि प्रश्न उठाउनेहरूको भीड लाग्यो।

हजारौँ वर्षको सभ्यता र प्रविधि पछि पनि हामीले एउटा बानी भने खासै छोडेका रहेनछौँ – कमजोर देखिएका माथि जाइलाग्ने। फरक यति हो बाँदरले फल खोस्छन्, हामी लाइक, सेयर र भाइरल हुनको लागि मानिसको सम्मान खोस्छौँ।

लोकतन्त्रमा फरक विचार हुनु स्वाभाविक हो तर त्यसकै कारण कसैलाई अपमान गर्नु बुद्धिमानी होइन। सायद विकास केवल जैविक होइन, नैतिक पनि हो र त्यो उचाइ हामीले अझै पूरा चढ्न बाँकी छ।

गुगल नोज

हिजो साँझ घर फर्किदै गर्दा बाटोछेउको एउटा बगैंचाबाट हावासँगै आएको चमेलीका फूलहरूको मिठो सुगन्धले एकाएक मेरो मन हल्का बनाइदियो। त्यो अनुभव केही सेकेन्डभन्दा बढीको थिएन तर दिनभरको थकान र व्यस्तताबीच एउटा सानो खुसीको झिल्को दिन त्यति नै पर्याप्त भयो। यस्ता क्षणहरू बेला-बेलामा सम्झिन्छु – कहिले सडकछेउको मःमः पसलबाट आउने स्वादिलो बास्ना, कहिले पेट्रोल पम्पको कडा गन्ध त कहिले बैंकबाट निकालिएको नयाँ नोटको गन्ध। एउटा सामान्य सुगन्धले पनि मनस्थिति कति छिटो परिवर्तन गर्न सक्ने रहेछ!

केही वर्षअघि गुगलले अप्रिल फूलको दिन Google Nose को अवधारणा ल्याएको थियो। उनीहरूले इन्टरनेट मार्फत गन्ध खोज्न र अनुभव गर्न सकिने दाबी गरेका थिए। हुनत त्यो केवल अप्रिल फूलको जोक थियो तर त्यसले एउटा रमाइलो प्रश्न मनमा ल्यायो – यदि साँच्चै प्रविधिले गन्ध पनि पठाउन सक्ने भए के हुन्थ्यो?

हामी अहिले चित्र र आवाजको संसारमा बाँचिरहेका छौं। स्क्रिन, भिडियो, संगीत, नोटिफिकेसन, सबैतिर दृश्य र श्रव्यले भरिएका छन्। गन्ध भने चुपचाप हाम्रो भावनासँग काम गरिरहेको हुन्छ। एउटा परिचित सुगन्धले बाल्यकालको सम्झना जगाउन सक्छ, तनाव कम गर्न सक्छ वा अचानक मन राम्रो बनाउन सक्छ।

कहिलेकाहीँ दिमागमा आउंछ – यदि भविष्यमा खाना अर्डर गर्नुअघि मोबाइलबाट त्यसको बास्ना लिन सकिने भए? वा कुनै पर्यटनस्थलको प्रचारमा त्यहाँको हावा, फूल वा वर्षाको सुगन्ध पनि अनुभव गर्न सकिने भए? सायद त्यो दिन आउला, सायद नआउला। तर जहिले पनि एउटा सानो सुगन्धले पनि हाम्रो मूड बदल्न सक्छ।

गलत रिकमेन्डेसन्

कहिल्यै आफूलाई मन परेको सामान, फिल्म वा रेस्टुरेन्ट साथीलाई रिकमेन्ड गर्नुभएको छ?

अनि साथीले निराश हुँदै - “ह्या, खासै राम्रो छैन!” भनेको।

यस्तो सुन्दा नरमाइलो लाग्छ जबकि तपाईंले त आफूलाई मन परेको कुरा मात्र शेयर गर्न खोज्नुभएको थियो।

तपाईंका लागि राम्रो भएको कुरा सबैका लागि राम्रो नहुन सक्छ। हाम्रो स्वाद, आवश्यकता र अपेक्षा फरक हुन्छन्। समस्या के हो भने आफूलाई कुनै कुरा धेरै मन परेको बेला हामी त्यसलाई अलि बढी नै ‘हाइप’ गरिदिन्छौँ। अनि उसको एक्स्पेक्टेसन् बढ्छ। वास्तविक अनुभव सामान्य मात्र भयो भन, अन्ततः दोष तपाईंको रिकमेन्डेसन् माथि आउँछ।

कहिलेकाहीँ मेरो लागि राम्रो कुरा, अरूका लागि सही नहुन सक्छ। यो हाम्रो मानवीय स्वभाव हो।

कपाल काटने समय

कपाल काट्न प्रायः म कार्यालय समय पछि मंगलबार साँझको समय रोज्छु। हाम्रो ठाउँमा मानिसहरू मंगलबारको दिन कपाल कटाउने काम गर्दैनन्। यसै कारण मंगलबार सैलुनहरू अलि खाली हुन्छ र आफूलाई केही अतिरिक्त समय र आराम मिल्छ।

मलाई लामो कपाल सुहाउँदैन, त्यसैले नियमित रूपमा कपाल काट्छु। मेरो लागि कपाल काट्नु भनेको केवल कपाल छोट्याउनु मात्र होइन, यो सानो शारीरिक र मानसिक विश्राम पनि हो। दैनिक व्यस्तताबाट केही समय टाढा भएर आफूलाई हल्का महसुस गर्ने अवसर।

जब हेयरड्रेसरले कपाल काट्न सुरु गर्छन् त्यसमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। ट्रिमरको आवाज, कैंचीको खटखट र वरिपरिको मन्द गफगाफले छुट्टै माहोल बनाउँछ। कपालसँगै तनाव पनि काटिएर गएको जस्तो लाग्छ। टाउको हल्का हुने गरी मसाज पाए जस्तै लाग्छ।

व्यस्त दिनमा आफूलाई फेरि ताजा बनाउने सबैभन्दा सस्तो उपाय सायद कपाल काट्नु नै हो।

नो मोर नेपाली फिल्म्स

एक समय थियो म नेपाली फिल्मको रेगुलर दर्शक थिएँ।

२०१० को दशकको सुरुवात तिर कथा, अभिनय, संगीत र प्रविधिमा नेपाली सिनेमाले ठूलो फड्को मारेको थियो। लुट, टलकजंग भर्सेस टुल्के, जात्रा, कबड्डी, साँघुरो जस्ता फिल्महरूले हल भरि भराउ हुन्थे र म पनि महिनामा कम्तीमा एउटा नेपाली फिल्म छुटाउँदिनथेँ।

हामीले नहेरे कसले हेर्छ त भन्ने भावना थियो।

बिस्तारै धेरै कलाकार र निर्माताले हामी दर्शकलाई हल्का लिन थाले। लगातार खत्तम फिल्महरू आए। केही फिल्म त यति कमजोर थिए कि डर लाग्नुपर्ने दृश्यमा हल भरि हाँसो गुञ्जिन्थ्यो। त्यसपछि मैले नेपाली फिल्म हेर्नै छोडेँ।

कोभिडपछि त हल जानु पनि लगभग बन्द भयो। अहिले धेरै नेपाली फिल्म तीन दिन टिक्न नसकेको खबर सुनिन्छ। साथीहरू फेरि नयाँ छक्का पन्जा हेर्न जाऔँ भन्छन् तर मसँग पहिलेको जस्तो उत्साह छैन।

यस बीच केही राम्रा नेपाली फिल्महरू छुटे तर निराशाको त्यो लामो श्रृंखलाले मलाई अझैसम्म हल फर्किन मन लाग्न दिएको छैन।