नमस्कार ! म नविन। मेरो डिजिटल जर्नल पढ्न आउनु भएकोमा धन्यवाद ।
मैले २०१० मा छोटो ब्लग अनि र्यान्डम कुराहरू शेयर गर्न टम्बलरमा आफ्नो अकाउन्ट बनाएको थिएँ। टम्बलरको टर्म्सहरू पछि चेञ्ज भयो र केही सुविधाहरूको लागि शुल्क लाग्ने भयो। त्यस पछि आफैं होस्ट गर्ने वर्डप्रेस तिर लागेँ।
कुनै समयमा मेरो PHP मा राम्रो दख्खल थियो। आफ्नो कलेज पढ्ने खर्च मैले PHP मै काम गरेर जुटाएको थिएँ। कोडिंग नगरेको धेरै भाको थियो अनि वर्डप्रेसमा आफुलाई चाहिने भन्दा बढी फिचर्स भएकोले एउटा सिएमएस आफैं बनाउने प्रयास गरे। टम्बलर भन्दा कम सुविधा भए पनि आफ्नै सिएमएस चलाउने निधो गरें। २०२५ पछि अली बढी एक्टिभ छु। टम्बलरबाट वर्डप्रेसमा र वर्डप्रेसबाट यता कन्टेन्ट माईग्रेट गर्दा प्रविधि अन्तरको कारण पुरानो धेरै सामग्री हराए। आफूलाई मन पर्ने लेखहरू म्यान्युअली तानेर राखेको छु।
यो ब्लगको डिजाइन र मेरा लेखहरू गम्भीर पाठकका लागि सोचेर बनाएका होइनन् है। यो एकतर्फी जर्नल स्टाइलको ब्लग हो जसमा कमेन्ट, लाइक वा शेयर गर्न मिल्दैन। यो जानाजानी गरिएको डिजाइन चोईस हो।
यसमा भएका केही पोस्टहरू हिँड्दा हिँड्दै दिमागमा फ्याट्ट आएका आइडियाहरू हुन्, केही चाहिँ रिस पोखिएका कुराहरू हुन सक्छन् र केही चाहिँ दिमागबाट हट्दै नहटेका सोचहरू मात्र हुन्।
यहाँ तपाईंले मेरा यात्राहरू, मेरो जागिर र पेसासँग जोडिएका कुराहरू, चाडपर्वहरूका बारेमा, अलि भिन्नै खालका मुडका कुराहरू, नेपालको राजनीति र पक्कै पनि फुटबल र म्यानचेस्टर युनाइटेडका बारेमा पोस्टहरू पाउनुहुनेछ।
साथै मलाई सेयर गर्न मन लागेका अरू थुप्रै र्यान्डम कुराहरू पनि यहाँ छन्।
बोलीचालीको भाषा प्रयोग गर्न खोज्छु तर प्राय असफल हुन्छु। भाषागत शुद्धताको लागि AI को मद्दत लिने प्रयास बेला-बेलामा गर्छु। कहिले कहीं अंग्रेजीमा सोच्छु, शब्दमा उतार्छु अनि नेपालीमा उल्था गर्छु। नेपाली भाषा बोले जसरी लेख्न सहज नहुने रैछ।
ल त, यदि तपाईंको मुड अलि र्यान्डम कुराहरू पढ्ने छ भने यता फेरि फेरि आउनुहोस। मेरा जीवनका सानोतिनो पाटा र सोचहरू सेयर गर्दै जाँदा सँगै रमाइलो गरौँला।