Showing posts tagged #worldcup · clear

स्पेनलाई बधाई

स्पेन फुटबल टोलीलाई हार्दिक बधाई। उनीहरू यस विश्वकप भरकै उत्कृष्ट टोली र उपाधिका पूर्ण हकदार थिए। उनीहरूले फाइनल खेलमा प्रतिद्वन्द्वीलाई सुरुदेखि अन्त्यसम्म नियन्त्रण कायम राखे। सेमिफाइनलमा पनि प्रतियोगिता भर उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स विरुद्ध स्पष्ट रूपमा हाबी भएका थिए।

रोड्री, ओल्मो, रुईज, कुबारसि अनि यमालका नाम लिन चाहेँ। रोड्री त यस विश्वकप कै उत्कृष्ट खेलाडी घोषित भए।

सुपरस्टार खेलाडीहरूले कहिलेकाहीँ निर्णायक क्षणमा खेलको दिशा बदल्न सक्छन् तर फुटबल अन्ततः सामूहिक खेल नै हो भन्ने मानक यस विश्वकपले फेरि एक पटक प्रमाणित गर्यो। सन्तुलित र अनुशासित टोलीले व्यक्तिगत प्रतिभामा अत्याधिक निर्भर टोलीभन्दा प्रायः सधैं राम्रो प्रदर्शन गर्छ। स्पेन त्यसको उत्कृष्ट उदाहरण बन्यो।

अर्जेन्टीनाले देखाएको नकारात्मक शैली, अनावश्यक उग्र व्यवहार र खेल-भावना विपरीतका गतिविधिले उपाधिको हकदार टोलीको छवि प्रस्तुत गरेन। त्यसैले उनीहरूले उपाधि जित्न नसक्नु फुटबलका लागि सकारात्मक परिणाम नै रह्यो।

कांस्य पदकको खेल

एउटा द्विविधा। एकातिर अङ्ग्रेजहरूले फ्रान्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ। अर्कोतिर त्यो जित तेस्रो स्थानका लागि भएको खेलमा आयो जसलाई धेरै सञ्चार माध्यमले पहिल्यै अर्थहीन घोषणा गरिसकेका थिए। मानौँ विश्वकप जितेन भने फुटबल खेल्नुको कुनै अर्थ नै छैन।

वास्तविकता के हो भने प्रत्येक प्रतियोगितामा अन्ततः एउटा मात्र टोली विजेता बन्छ। “हामी जित्न योग्य थियौँ” भन्नु भनेको अप्रत्यक्ष रूपमा बाँकी सबै टोली हार्न योग्य थिए भन्ने पनि हो। त्यसैगरी कांस्य पदकको खेलको कुनै अर्थ छैन भन्नु भनेको फाइनल अघि नै बाहिरिएका सबै टोलीले प्रतियोगिता व्यर्थ खेले भन्ने जस्तै हो।

यस खेलमा फ्रान्सले इङ्गल्यान्डलाई दोस्रो हाफमा निकै दबाबमा राखेको थियो। तर इङ्गल्यान्डले अर्जेन्टीना विरुद्धको खेलमा जस्तो अत्तालिएर बललाई जथाभाबी टाढा हान्ने रणनीति अपनाउनुको सट्टा यस पटक डिफेन्सबाट संयमित र योजनाबद्ध रूपमा खेल बनाउने प्रयास गर्यो। यही शैलीबाट इङ्गल्यान्डले दुई गोल गर्न पनि सफल भयो। यदि उनीहरूले डराएर हरेक पटक बल क्लियर मात्र गरेका भए सम्भवतः त्यो खेल पनि हार्ने थिए।

इङ्गल्यान्डले ६० वर्षयताकै आफ्नो उत्कृष्ट विश्वकप नतिजा हासिल गरेको छ तर पनि प्रशिक्षक विरुद्धको आलोचना भने थामिएको छैन।

बाल्यकालको विश्वकप

अमेरिकामा १९९४ को फुटबल विश्वकप हुँदा म कक्षा ४ मा पढ्ने १० वर्षको केटो थिएँ।

रोमारियो, बाज्जियो, माराडोना, क्लिन्समान, स्टोइचकोभ।

यी नामहरू मैले मेरो बुबा र उहाँका साथीहरू बीचका कुराकानीबाट अनि रेडियो समाचारहरूबाट सुनेको थिएँ। ती नामहरू मेरो मन मस्तिष्कमा सदाका लागि छापिएर बसे। मलाई अझै पनि सम्झना छ त्यो रात खचाखच भरिएको Rose Bowl रंगशालामा भएको फाइनलमा बाज्जियोले पेनाल्टी मिस गरेको दृश्य हेर्न म अबेरसम्म जागा बसेको थिएँ। जब बल बार माथिबाट बाहिर गयो र ब्राजिल च्याम्पियन बन्यो, म इटालीसँगै रोएको थिएँ।

३२ वर्ष पछि विश्वकप फेरि अमेरिकामा फर्किंदैछ। अहिले म जीवनको यस्तो चरणमा छु जहाँ समय र ऊर्जा दुवै सीमित बनेका छन्। मलाई थाहा छ कि यस पटक कुराकाओ वा केप भर्ड जस्ता टोलीका खेलहरू हेर्न बिहान तीन बजेसम्म जागा बस्न सक्दिन चाहे ती खेलहरू जति नै ऐतिहासिक किन नहोस्। १९९४ मा मलाई रुवाउने टोली त यस पटक छनौट नै भएन। तर मलाई थाहा छ जब माहोल तात्दै जान्छ र फुटबल साँच्चिकै रोमांचक हुन थाल्छ म राती दालमोठ र कोक बोकेर टिभी अगाडि हुनेछु। सायद आधा निद्रामा, सायद खेलको समय मिलेन भनेर अलिकति झर्किएको अवस्थामा, तर फुटबल हेर्न उपस्थित भने अवश्य हुनेछु।