Showing posts tagged #football · clear

स्पेनलाई बधाई

स्पेन फुटबल टोलीलाई हार्दिक बधाई। उनीहरू यस विश्वकप भरकै उत्कृष्ट टोली र उपाधिका पूर्ण हकदार थिए। उनीहरूले फाइनल खेलमा प्रतिद्वन्द्वीलाई सुरुदेखि अन्त्यसम्म नियन्त्रण कायम राखे। सेमिफाइनलमा पनि प्रतियोगिता भर उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स विरुद्ध स्पष्ट रूपमा हाबी भएका थिए।

रोड्री, ओल्मो, रुईज, कुबारसि अनि यमालका नाम लिन चाहेँ। रोड्री त यस विश्वकप कै उत्कृष्ट खेलाडी घोषित भए।

सुपरस्टार खेलाडीहरूले कहिलेकाहीँ निर्णायक क्षणमा खेलको दिशा बदल्न सक्छन् तर फुटबल अन्ततः सामूहिक खेल नै हो भन्ने मानक यस विश्वकपले फेरि एक पटक प्रमाणित गर्यो। सन्तुलित र अनुशासित टोलीले व्यक्तिगत प्रतिभामा अत्याधिक निर्भर टोलीभन्दा प्रायः सधैं राम्रो प्रदर्शन गर्छ। स्पेन त्यसको उत्कृष्ट उदाहरण बन्यो।

अर्जेन्टीनाले देखाएको नकारात्मक शैली, अनावश्यक उग्र व्यवहार र खेल-भावना विपरीतका गतिविधिले उपाधिको हकदार टोलीको छवि प्रस्तुत गरेन। त्यसैले उनीहरूले उपाधि जित्न नसक्नु फुटबलका लागि सकारात्मक परिणाम नै रह्यो।

कांस्य पदकको खेल

एउटा द्विविधा। एकातिर अङ्ग्रेजहरूले फ्रान्स विरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ। अर्कोतिर त्यो जित तेस्रो स्थानका लागि भएको खेलमा आयो जसलाई धेरै सञ्चार माध्यमले पहिल्यै अर्थहीन घोषणा गरिसकेका थिए। मानौँ विश्वकप जितेन भने फुटबल खेल्नुको कुनै अर्थ नै छैन।

वास्तविकता के हो भने प्रत्येक प्रतियोगितामा अन्ततः एउटा मात्र टोली विजेता बन्छ। “हामी जित्न योग्य थियौँ” भन्नु भनेको अप्रत्यक्ष रूपमा बाँकी सबै टोली हार्न योग्य थिए भन्ने पनि हो। त्यसैगरी कांस्य पदकको खेलको कुनै अर्थ छैन भन्नु भनेको फाइनल अघि नै बाहिरिएका सबै टोलीले प्रतियोगिता व्यर्थ खेले भन्ने जस्तै हो।

यस खेलमा फ्रान्सले इङ्गल्यान्डलाई दोस्रो हाफमा निकै दबाबमा राखेको थियो। तर इङ्गल्यान्डले अर्जेन्टीना विरुद्धको खेलमा जस्तो अत्तालिएर बललाई जथाभाबी टाढा हान्ने रणनीति अपनाउनुको सट्टा यस पटक डिफेन्सबाट संयमित र योजनाबद्ध रूपमा खेल बनाउने प्रयास गर्यो। यही शैलीबाट इङ्गल्यान्डले दुई गोल गर्न पनि सफल भयो। यदि उनीहरूले डराएर हरेक पटक बल क्लियर मात्र गरेका भए सम्भवतः त्यो खेल पनि हार्ने थिए।

इङ्गल्यान्डले ६० वर्षयताकै आफ्नो उत्कृष्ट विश्वकप नतिजा हासिल गरेको छ तर पनि प्रशिक्षक विरुद्धको आलोचना भने थामिएको छैन।

गोटको बहस

हरेक चार वर्षमा दुई हप्ता फुटबल हेर्ने सिजनल फ्यानहरूलाई मेस्सी र रोनाल्डो बीच को “गोट” हो भन्ने बहस रमाइलो हुने रहेछ। मेस्सीका समर्थकले रोनाल्डोलाई होच्याउँछन् अनि रोनाल्डोका समर्थकले मेस्सीलाई। अर्जेन्टीना भर्सेस पोर्चुगल। उही बहस, हरेक चार वर्षमा, फेरि फेरि, विश्वकप चलुन्जेल। साँच्चै भन्नु पर्दा हरेक चोटी टाइमलाइन भरि यो कुराले वाक्क लाग्न थालेको छ।

मैले मेस्सीको खेल खासै हेरेको छैन। कहिले कहीं च्याम्पियनस् लिग वा अन्तर्राष्ट्रिय फुटबल बाहेक स्पेनको ला लिगा, फ्रान्सको लिग वान र अहिले खेल्ने अमेरिकाको एमएलएस मध्ये कुनै पनि लिग नेपालमा नियमित प्रत्यक्ष प्रसारण हुँदैनन्। रोनाल्डोलाई भने म्यानचेस्टर युनाइटेडमा हुँदा खेल हेर्न पाइन्थ्यो। उनलाई पनि ला लिगा वा इटालीको सेरी आ मा हुँदा हेर्न पाईएन। अहिले उनी पनि साउदी लिगमा छन्। त्यो लिग आउंछ आउँदैन थाहा छैन।

यद्यपि फुटबललाई साँच्चै माया गर्नेहरूले प्रतिद्वन्द्विता बुझ्छन् घृणा होइन। तपाईं मेस्सीलाई समर्थन गर्नुस् वा रोनाल्डोलाई दुवै खत्रा खेलाडीहरू हुन्। यी बाहेक यो उमेरमा पनि मोड्रिचको खेल कति राम्रो छ, एम्बाप्पेको स्पीड कति भयङ्कर छ र केनको फिनिसिङ कति शान्त र सटीक छ। रोड्री, हालण्ड, क्यासिमिरो, ट्रोसार्डका खेलहरू पनि हेर्नुस। मेस्सी वा रोनाल्डोलाई हेट गर्न समय खर्चिनु भन्दा यी सबैको खेल हेरेर आनन्द लिनु धेरै राम्रो।

फुटबल रमाइलोका लागि हो, घृणा फैलाउनको लागि होइन। “गोट” को हो भन्ने अल्छी लाग्दो बहस अब त छोडौँ।

पहिलो डिजिटल विश्वकप

फिफा विश्वकप नेपालमा सधैँ नै ठुलै उत्सव हुन्छ। दक्षिण अफ्रिकामा आयोजना भएको २०१० को संस्करणको भाइब भने बेग्लै थियो। यो यस्तो विश्वकप थियो जतिबेला हाम्रो खल्तीमा भर्खरै फेसबुक र ट्विटर पुगेको थियो। त्यति बेलाको प्रविधिको मोबाइल इन्टरनेट एकदमै सुस्त र महँगो थियो तर त्यसैले सबथोक बदलिदियो।

त्यतिबेला हामी केवल कोठामा मात्र म्याच हेरिरहेका थिएनौं, कोठामै नभएका साथीहरूलाई होच्याई, जिस्क्याई रमाइलो गर्दै थियौं । बैठक कोठामा बसेरै ट्याक्टिस र लाइनअपमा आफ्नो “विशेषज्ञ सुझाव” दिइरहेका हुन्थ्यौं। जर्सी र खाजाका धमिलो फोटोहरू पोस्ट गर्थ्यौं र दुई मिनेटभित्र अपलोड होस् भनेर प्रार्थना गर्थ्यौं। गोल हुँदा टाढा रहेका मानिसहरूसँग पनि रियल टाईममा खुसी साट्न सकिन्थ्यो। आफ्नो बैठक कोठामा एक्लै कराइरहेको भए पनि संसारले आफूले कुन टोलीलाई समर्थन गरिरहेको छ भन्ने थाहा पाएको जस्तो लाग्थ्यो। त्यो अनुभव नयाँ थियो। त्यो बेला कुनै चमत्कार भन्दा कम लाग्दैनथ्यो।

सायद त्यो विश्वकपले नेपालमा फेसबुक र ट्विटरको लोकप्रियतालाई अर्कै उचाइमा पुर्‍याएको थियो।

बाल्यकालको विश्वकप

अमेरिकामा १९९४ को फुटबल विश्वकप हुँदा म कक्षा ४ मा पढ्ने १० वर्षको केटो थिएँ।

रोमारियो, बाज्जियो, माराडोना, क्लिन्समान, स्टोइचकोभ।

यी नामहरू मैले मेरो बुबा र उहाँका साथीहरू बीचका कुराकानीबाट अनि रेडियो समाचारहरूबाट सुनेको थिएँ। ती नामहरू मेरो मन मस्तिष्कमा सदाका लागि छापिएर बसे। मलाई अझै पनि सम्झना छ त्यो रात खचाखच भरिएको Rose Bowl रंगशालामा भएको फाइनलमा बाज्जियोले पेनाल्टी मिस गरेको दृश्य हेर्न म अबेरसम्म जागा बसेको थिएँ। जब बल बार माथिबाट बाहिर गयो र ब्राजिल च्याम्पियन बन्यो, म इटालीसँगै रोएको थिएँ।

३२ वर्ष पछि विश्वकप फेरि अमेरिकामा फर्किंदैछ। अहिले म जीवनको यस्तो चरणमा छु जहाँ समय र ऊर्जा दुवै सीमित बनेका छन्। मलाई थाहा छ कि यस पटक कुराकाओ वा केप भर्ड जस्ता टोलीका खेलहरू हेर्न बिहान तीन बजेसम्म जागा बस्न सक्दिन चाहे ती खेलहरू जति नै ऐतिहासिक किन नहोस्। १९९४ मा मलाई रुवाउने टोली त यस पटक छनौट नै भएन। तर मलाई थाहा छ जब माहोल तात्दै जान्छ र फुटबल साँच्चिकै रोमांचक हुन थाल्छ म राती दालमोठ र कोक बोकेर टिभी अगाडि हुनेछु। सायद आधा निद्रामा, सायद खेलको समय मिलेन भनेर अलिकति झर्किएको अवस्थामा, तर फुटबल हेर्न उपस्थित भने अवश्य हुनेछु।

नेपालमा ईपिएल

हाम्रो स्कुल साथीहरूको समूहमा इंग्लिस प्रीमियर लिगको क्रेज धेरै नै छ। दुई दशकभन्दा बढी भयो हरेक सप्ताहन्त हामी जितमा रमाउँछौं, हारमा झोक्किन्छौं, अनि आफ्ना क्लबका लागि बहस गर्छौं।

ईपिएल किन यति लोकप्रिय छ भन्ने बुझ्न गाह्रो छैन। विश्वकै उत्कृष्ट खेलाडी, रोमाञ्चक प्रतिस्पर्धा र उत्कृष्ट टिभी प्रसारण – त्यसमाथि नेपाली दर्शकका लागि यसको समय पनि एकदमै मिलेको। अफिस सकिएपछि बेलुका आरामसँग हेर्न पाइन्छ। त्यसैले हाम्रो लागि सप्ताहन्त र ईपिएल लगभग एउटै कुरा बनिसकेका छन्।

नेपालमा ईपिएल हेर्न सधैं सजिलो थिएन। टिभीमा भारतीय च्यानलबाट मात्रै आउने र टिभीबाट टाढा हुँदा भरै पर्न नसकिने पप-अप विज्ञापनले भरिएको, बीचबीचमै रोकिने पाईरेटेड स्ट्रिममा हेर्नु पार्ने बाध्यता थियो। यी सबै झेल्दै खेल हेरेका दिन धेरै छन्।

यस सिजन भने कान्तिपुर टिभीको प्रसारणले पहिलो पटक ईपिएल निःशुल्क टेलिभिजनसँगै अनलाइन र मोबाइल एपमा पनि सहज रूपमा हेर्न पाइने भयो। अहिले घरमा टिभीमा होस् वा बाहिर फोनमै राम्रो गुणस्तरमा बिना झन्झट खेल हेर्न सकिने भयो। साँच्चै भन्नुपर्दा नेपाली फुटबल समर्थकका लागि यो धेरै वर्ष देखिको चाहना पूरा भएको जस्तो लाग्छ। आशा छ कान्तिपुर टिभीले यो यात्रा अझ धेरै वर्षसम्म निरन्तर अगाडि बढाइरहोस्।

अपडेट: अनलाइन र मोबाइल स्ट्रिम मिड सिजन मै सशुल्क भयो। खुसी धेरै बेर टिकेन। सशुल्क मोबाइल स्ट्रिम अत्याधिक महँगो। पाईरेटेड स्ट्रिम जिन्दाबाद!

स्टेडियममा फुटबल

स्टेडियममा फुटबल

लामो समय पछि स्टेडियममै बसेर फुटबल हेर्ने मौका मिल्यो। न्यानो घाम अनि दर्शकले खचाखच भरिएको दशरथ रङ्गशाला, फुटबल हेर्नका लागि सबै कुरा उपयुक्त थियो र मैदानको माहोल साँच्चै रमाइलो थियो। एनआरटी र नेपाल पुलिस क्लब बीचको खेल १–१ को बराबरीमा टुङ्गियो।

मेरो साथीहरूको सर्कलमा नेपाल पुलिस सबैभन्दा कम रुचाइने क्लब हो तर स्टेडियम भित्र उनीहरूकै समर्थनमा सबैभन्दा ठूलो आवाज सुनिन्थ्यो। पछि किन रहेछ भन्ने बुझियो। स्टेडियमका दर्शक-दीर्घामा ठूलो संख्यामा वर्दी लगाएका प्रहरीहरू बसेर पुलिस क्लबको पक्षमा हुटिंग लगाइरहेका थिए।

कल्पना गर्नुहोस् तपाईं एनआरटीको समर्थक हुनुहुन्छ तर वरिपरि वर्दीधारी प्रहरीहरू विपक्षी टोलीको समर्थनमा चिच्याइरहेका छन्। यस्तो वातावरणले सर्वसाधारणलाई खुला रूपमा आफ्नो टोलीको समर्थन गर्न असहज बनाउँछ। फुटबलमा यस्तो अवस्था हुनु हुँदैन।

अर्को कुरा, यहाँ सार्वजनिक स्थानमा धूम्रपान निषेध छ भन्ने मेरो बुझाइ थियो। तर स्टेडियम भित्र मानिसहरू खुलेआम चुरोट सल्काइरहेका थिए, मानौँ त्यो नियम नै छैन।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेका प्रहरीहरू त्यहीँ केही सिट पर बसेका थिए। उनीहरूको आँखै अगाडि सार्वजनिक स्थानमा धूम्रपान भइरहेको थियो। तर ती प्रहरीहरू नियम नमान्नेलाई रोक्नु भन्दा आफ्नै टोलीको समर्थनमा नारा लगाउन केन्द्रित देखिन्थ्यो।

हाम्रा धेरै नियम कानुनका किताबमा मात्र सीमित छन्। ती लागू हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रायः लागू गराउनेहरूको इच्छामै भर पर्छ।

निराशाजनक हार

घर छेउको थ्री स्टार क्लब भारतमा भएको प्रतियोगितामा १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। के कारणले हो थाहा भएन आयोजकहरूले त्यो खेल फेरि खेल्नुपर्ने निर्णय गर्यो। क्लबले पनि त्यो निर्णय स्वीकार गर्‍यो। फेरि खेलिएको खेलमा भने क्लब पराजित भयो।

मैले फुटबलको माथिल्लो स्तरको प्रतियोगितामा यसरी खेल फेरि खेलाइएको घटना सुनेको थिइनँ। विश्वकप २०१० छनोटको फ्रान्स–आयरल्यान्ड प्लेअफमा भएको चर्चित “हेन्ड अफ हेनरी” घटना पछि सबैले र स्वयं थियरी हेनरीले समेत पुनः खेलको माग गरेका थिए। त्यति बेला पनि खेल दोहोरिएन। फुटबलमा एक पटक खेल सकिए पछि त्यसको नतिजा नै अन्तिम मानिन्छ र यही सिद्धान्तले खेलको विश्वसनीयता कायम राखेको हुन्छ।

यही कारणले थ्री स्टार क्लबले पुनः खेल्न सहमत भएको कुरा साह्रै निराशाजनक लाग्यो। यस्तो अपमानजनक निर्णय स्वीकार गर्नुको सट्टा प्रतियोगिताबाट त्यति खेर बाहिरिनु नै उचित हुन्थ्यो भन्ने मेरो विचार हो। विदेशी आयोजकहरूको दबाब अघि क्लब झुकेको दुःखद छ।