Showing posts tagged #attention · clear

विज्ञापन र अटेन्सन् स्पान

प्रिमियर लिगले म्यानचेस्टर सिटी फुटबल क्लबलाई झण्डै एक दशकसम्मका गम्भीर आर्थिक नियम उल्लंघनका आरोपमा दोषी ठहर गरेको छ। सजाय के हुने भन्ने अझै तय भएको छैन र क्लबलाई अपिल गर्ने अधिकार पनि छ। मलाई फुटबल र प्रिमियर लिगमा रूचि भएकोले वास्तवमा के भएको रहेछ भनेर अलि गहिराइमा बुझ्न मन लाग्यो। त्यसैले युट्यूबमा गएँ र सर्च गर्न थालेँ।

१८ मिनेट लामो ESPN FC को एउटा भिडियोमा क्लिक गरेँ। भिडियो सुरु हुनु अघि नै दुईवटा स्किप गर्न नमिल्ने विज्ञापन। चार मिनेटपछि फेरि ३० सेकेन्डको अर्को स्किप गर्न नमिल्ने विज्ञापन। दश मिनेट जति भएपछि फेरि अर्को विज्ञापन। त्यसपछि मैले एप बन्द गरिदिएँ।

अनि मलाई फेरि ती सबै अध्ययनहरू सम्झना आयो जसले मानिसहरूको लामो सामग्रीमा ध्यान केन्द्रित गर्ने क्षमता घट्दै गएको बताउँछन्।

होला।

तर सायद मानिसहरू हरेक चार मिनेटमा रोकिने र केही न केही बेच्न खोजिने १५ मिनेटको भिडियो हेर्न चाहँदैनन्। सायद हाम्रो अटेन्सन् स्पान छोटिएको होइन। सायद लगातार बीचमा घुसाइने विज्ञापन सहने हाम्रो धैर्य छोटिएको हो।

कहिलेकाहीँ मलाई लाग्छ, ‘मानिसहरूको ध्यान दिने क्षमता घट्दै गइरहेको छ’ भन्ने सम्पूर्ण कथाले एउटा सानो कुरा सुविधाजनक रूपमा बिर्सन्छ: प्लेटफर्महरूले वर्षौँदेखि हामीलाई छोटाछोटा सामग्री हेर्ने बानी लगाएका छन् अनि लामो सामग्री हेर्न खोज्दा त्यसैमा विज्ञापनको बाढी पनि हालिदिएका छन्।

सबस्क्रिप्सन् किन्न नचाहने म जस्ता प्रयोगकर्ताको युट्यूबलाई खासै वास्ता नहुन सक्छ। ठीकै छ।

अब मेरो फोनबाट युट्यूब कसरी अनइनस्टल गर्ने भन्ने पत्ता लगाउन मात्रै बाँकी छ।