Showing posts tagged #travel · clear

काँक्रेविहार

सुर्खेतको काँक्रेविहार, १२ औं शताब्दीको बौद्ध मन्दिर।

प्रादेशिक राजधानीको छेउमा घना जङ्गलको बिचमा रमणीय ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ। मन्दिर प्रवेशको लागि थोरै शुल्क लाग्ने रहेछ। हामी काठमाडौँ बासिन्दालाई मन्दिर प्रवेशमा पैसा परेको थोरै अनौठो लाग्ने रहेछ। यता विदेशीहरूलाई बाहेक हामी कसैलाई कतै प्रवेश शुल्क लाग्दैन। तर आन्तरिक पर्यटकबाट थोरै शुल्क लिएर यस ठाउँको संरक्षण हुन्छ भने त्यो कुनै समस्याको कुरा भएन।

थाईल्याण्डको अनुभव शेयर गर्न चाहें। बैंकक घुम्ने दिन हाम्रो टुर गाइडले एउटा मन्दिर अगाडी रोके। प्रवेश शुल्क ฿ ४० (रू २००) थियो। त्यति पैसा तिरेपछि हेर्ने ठाउँ खत्रै होला भन्ने आशा थियो। मन्दिर सुन्दर थियो, त्यसमा शंका रहेन तर त्यस्ता मन्दिरहरू त हाम्रोमा गल्ली-गल्लीमा छन्। हामीले हरेक मन्दिर पसेको छुट्टाछुट्टै शुल्क विदेशीहरूसंग लिएका छैन।

लेडी राइडर

समयमै पुगिएला कि भनेर एयरपोर्टसम्मको यात्राको लागि दुई पांग्रे बुक गरेको थिएँ। म सडकको छेउमा उभिएको थिएँ त्यत्तिकैमा एउटी केटी पल्सर चढेर आइन्। केही नाम केटा र केटी दुवैको हुने भएकाले मेरो राइडर केटी नै हुन्छिन् भन्ने मैले साँच्चै सोचेको थिइनँ।

उनको शरीर औसत बनौटको थियो र बाइक रोकिएको बेला खुट्टाले बल्लतल्ल जमिन छोइरहेको थियो। मनमनै मलाई लागिरहेको थियो यो बाइक उनको उचाइका लागि ठीक छैन।

त्यसैले मैले सम्मान पूर्वक सोधेँ, “बहिनी, मेरो वेट ८४ किलो छ। मलाई पछाडी राखेर यो बाइकलाई ब्यालेन्स गर्न सकिन्छ त? तपाईंलाई गाह्रो हुन्छ भने म बाइक चलाउँछु तपाईं पछाडि बस्नुस्।” उनी मुसुक्क हाँसिन् र भनिन्, “दाई, मलाई चान्स दिनुस्। तपाईंलाई कतै अप्ठ्यारो महसुस भयो भने त्यसपछि तपाई चलाउनुस्।”

म सहमत भए।

उनले जाममा बाइक रोक्न खुट्टा भुइँमा टेक्नु पर्दा मलाई अलि टेन्सन हुन्थ्यो। त्यसबाहेक यात्रा एकदमै सहज भयो। उनले मलाई गुनासो गर्ने एउटा पनि कारण दिइनन्।

यात्राको क्रममा म खासै ड्राइभरसँग गफ गर्दिन, उनीसँग पनि गरिन। एयरपोर्ट पुग्नै लाग्दा उनले हेलमेटले छोपेको मधुरो आवाजमा सोधिन्, “डोमेस्टिक कि इन्टरनेसनल?” मैले भनेँ, “डोमेस्टिक।”

दुई मिनेटपछि हामी एयरपोर्ट पुगिसकेका थियौँ।

यसलाई मैले उनलाई केटी भएकोमा वा “कमजोर” देखेर शंका गरेको अर्थमा नलिनुहोला। मलाई आफ्नै अनुभवबाट थाहा छ आफूभन्दा धेरै वजन भएको मान्छे पछाडि बसेको बेला बाइक ब्यालेन्स गर्न कति गाह्रो हुन्छ।

तर उनले त एकदमै प्रोफेसनल तरिकाले सम्हालिन्।

राराको यात्रा

मुगु जिल्ला प्राकृतिक सुन्दरताले निकै धनी ठाउँ हो। देशकै ठूलो रारा ताल यतै छ। तर जिल्लाको सदरमुकाम पुग्न प्रादेशिक राजधानी सुर्खेतबाट दुई दिनको राजमार्गको यात्रा गर्न पर्छ। हवाईमार्गबाट मुगुलाई सुर्खेतले जोडिँदैन। त्यसको लागि नेपालगन्जबाट यात्रा गर्नुपर्ने हुन्छ।

हरेक वर्ष रारा घुम्न आउनेहरूको ठूलो समूह छ। यहाँ पुग्ने बाटो निकै नै रमणीय र साहसिक छ तर प्राय ठाउँमा पुगेपछि निरास हुन्छन्। यताउटी फोटो खिचेपछि एक घण्टा भुल्ने ठाउँ पनि छैन। यता पुगेपछि बस्ने खाने राम्रो सुविधा छैन। सदरमुकाम गमगढीमा राम्रो होटलहरू छैनन् र तालकै छेउछाउका रिसोर्टहरू अत्यन्तै महँगा छन्। यता पुग्ने सबै जना कवि हुन्नन्। सबैजना फेवा तालसँग तुलना गर्दै फर्कन्छन्।

यात्रा महत्वपूर्ण हो, गन्तव्य हैन भन्ने भनाइ यो ठाउँमा सार्थक हुन्छ।

थाइल्याण्डको अनुभव

थाइल्याण्डको अनुभव

गएको साता मात्र एक वर्ष पुगेकी छोरीसँग पहिलो पारिवारिक यात्राका लागि थाइल्याण्ड पुगेको थिएँ। म काम गर्ने संस्थाले बिदा र अरू व्यवस्थापन गरिदिएको थियो।

बजेट एयरलाइन्स रोजेको भएर हामीले स्ट्रोलर बोकेनौ, बेबी क्यारियरको भरमा भ्रमण गर्ने निधो भयो। अप्रिल महिनाको पताया सहरको गर्मीमा सहज थिएन। तर एउटा कुराले मलाई निकै प्रभावित गर्यो।

जब हामी जेब्राक्रसिङमा पाइला टेक्यौं, गाडीहरू रोकिए, जबरजस्ती हैन, पूर्ण रूपमा रोकिए। हर्न बजेन, हतार देखिएन। हरेक पटक, हरेक क्रसिङमा यही भयो।

मलाई सबैभन्दा गजब लागेको भनेको यो कुरा त्यहाँ कसैका लागि विशेष थिएन। त्यहाँ यो सामान्य व्यवहार थियो। पैदलयात्रीले बाटो काट्न खोज्छ भने सवारीसाधन रोकिन्छन्।

मलाई लाग्यो पताया पर्यटकीय सहर भएकोले यस्तो हार्दिकता देखिएको हो। तर बैंकक जस्तो व्यस्त ठाउँमा पनि उही अनुभव भयो। त्यो देशमा सायद कसैले, कुनै बेला, पैदल हिँड्ने मानिसहरूले सुरक्षित महसुस गर्नुपर्छ भन्ने निर्णय गर्‍यो, अनि त्यसलाई व्यवहारमा उतार्ने प्रणाली बनायो।

सायद विकास भनेको केवल चिल्ला सडक र अग्ला भवनहरू मात्र होइन। विकास भनेको हामी एकअर्कासँग कस्तो व्यवहार गर्छौं भन्ने कुरा पनि हो भन्ने अनुभव भयो।

मेरी छोरीले एक्लै सडक काट्ने उमेरमा पुग्दासम्म हाम्रो समाजमा पनि केही परिवर्तन, थोरै भए पनि आएको होस् भन्ने मेरो चाहना छ।

बैंककको वैभव

चाओ फ्राय नदीमा डिनर क्रूजको लागि परिवार सहित पुग्यौ। हामीले थोरै बढी शुल्क तिरेर अप्पर डेकको टिकट काटेका थियौं। अप्पर डेक खुल्ला भएको कारण निकै चर्को बतास चल्थ्यो। मेरो सानो छोरी विरामी पर्ला कि भन्ने चिन्ता। हामीले इन्क्लोज्ड लोवर डेक बुक गरेको भए हुन्थ्यो।

क्रूजको आतिथ्य राम्रो थियो। खानेकुरा मिठो थियो। हाम्रो डेकमा ९० प्रतिशत भन्दा बढी पर्यटक भारतीय थिए। क्रूजमा बज्ने सम्पूर्ण सङ्गीत भारतीय (अझ दक्षिण भारतीय) थियो। त्यो सङ्गीतको स्वाद हाम्रो कानले मन पराएन। हामीले साँचै लोवर डेक बुक गर्नुपर्थ्यो।

क्रूजबाट बैंककको वैभव देखियो। रातीको समयमा ढकमक्क उज्यालो शहर र मन खोलेरै वाउ भनियो। यत्तिको पूर्वाधार बन्न हाम्रोमा अझ धेरै समय लाग्ला।

यस्ता केही समय हुन्छन जहाँ फोनमा राम्रो क्यामेराको आवश्यकता हुने।

लुम्बिनी

धेरै वर्ष पछि लुम्बिनीको पवित्र भूमिमा आउने फेरि मौका मिल्यो।

कामको सिलसिलामा भैरहवा पुगेको थिएं, फ्लाइट पनि बिहान कै भएको हुनाले पाँच बजे नै उठेर यता पुगियो। बिहानै भएकोले धेरै ठाउँ खुल्ला थिएन। बिहान ध्यानको समय भएकोले सबै ठाउँ पसेर डिस्टर्ब गर्ने सोच भएन।

फिल्डवर्कमा विश्राम

तातो चियाको मज्जा

थर्मसको तातो पानी, ब्यागको चिया, सुगरक्युबस् अनि प्लास्टिकका कपहरू

फिल्डवर्कमा विश्राम अनि आनन्दको अनुभव

कालिगण्डकी नदि

कालिगण्डकी नदि

गुल्मी र पर्बत को सिमाना स्थित कालिगण्डकी नदिले यु-टर्न गरेको मनमोहक ठाउँ

तनावपूर्ण हवाई यात्रा

तनावपूर्ण हवाई यात्रा

तुम्लिङटार विमानस्थलमा बिहानै देखि बाक्लो कुहिरो लागेको थियो। समय बित्दै जाँदा विमान चढ्न पाउने हाम्रो आशा पनि बिस्तारै मर्दै गएको थियो। पूर्वी नेपालको महत्वपूर्ण विमानस्थलका रूपमा रहेको तुम्लिङटारमा कुहिरो, बादल, चुनौतीपूर्ण भौगोलिक अवस्था र नजिकै बग्ने विशाल अरुण नदीका कारण उडानहरू प्रायः प्रभावित हुने गर्छन्।

जलविद्युत् आयोजनाका लागि अहिले सम्मकै कठिन साइट मध्ये एक पूरा गरेपछि हामी त्यहाँबाट निस्कन आतुर थियौँ। तर मौसम भने हामीलाई त्यहीँ रोकिराख्न दृढ देखिन्थ्यो।

अन्ततः चार घण्टाको ढिलाइपछि चमत्कार भए जस्तै आकाश खुल्यो र काठमाडौंबाट विमान आइपुग्यो।

त्यसको एक दिनअघि मात्र छिमेकी जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा नेपालका पर्यटन मन्त्रीको निधन भएको दुःखद खबर हामीले सुनेका थियौँ। त्यो खबरको गहिरो प्रभाव मनमा बोकेर हामी बुद्ध एयरको Beechcraft 1900D विमानमा चढ्यौँ।

खराब मौसमका कारण सानो विमान निकै जोडले हल्लिन थाल्यो जसले यात्रालाई झन् तनावपूर्ण बनाइदियो। अघिल्लो दिनको दुःखद घटना अझै ताजा थियो र त्यसमाथि आकाशमा विमानले खेपिरहेको अस्थिरताले यो यात्रा मेरो जीवनकै सबैभन्दा डर लाग्दो उडानमध्ये एक बन्यो।

उत्साहित स्थानीय

उत्साहित स्थानीय

जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइको बेला उपस्थित स्थानीयहरू ।