गएको साता मात्र एक वर्ष पुगेकी छोरीसँग पहिलो पारिवारिक यात्राका लागि थाइल्याण्ड पुगेको थिएँ। म काम गर्ने संस्थाले बिदा र अरू व्यवस्थापन गरिदिएको थियो।
बजेट एयरलाइन्स रोजेको भएर हामीले स्ट्रोलर बोकेनौ, बेबी क्यारियरको भरमा भ्रमण गर्ने निधो भयो। अप्रिल महिनाको पताया सहरको गर्मीमा सहज थिएन। तर एउटा कुराले मलाई निकै प्रभावित गर्यो।
जब हामी जेब्राक्रसिङमा पाइला टेक्यौं, गाडीहरू रोकिए, जबरजस्ती हैन, पूर्ण रूपमा रोकिए। हर्न बजेन, हतार देखिएन। हरेक पटक, हरेक क्रसिङमा यही भयो।
मलाई सबैभन्दा गजब लागेको भनेको यो कुरा त्यहाँ कसैका लागि विशेष थिएन। त्यहाँ यो सामान्य व्यवहार थियो। पैदलयात्रीले बाटो काट्न खोज्छ भने सवारीसाधन रोकिन्छन्।
मलाई लाग्यो पताया पर्यटकीय सहर भएकोले यस्तो हार्दिकता देखिएको हो। तर बैंकक जस्तो व्यस्त ठाउँमा पनि उही अनुभव भयो। त्यो देशमा सायद कसैले, कुनै बेला, पैदल हिँड्ने मानिसहरूले सुरक्षित महसुस गर्नुपर्छ भन्ने निर्णय गर्यो, अनि त्यसलाई व्यवहारमा उतार्ने प्रणाली बनायो।
सायद विकास भनेको केवल चिल्ला सडक र अग्ला भवनहरू मात्र होइन। विकास भनेको हामी एकअर्कासँग कस्तो व्यवहार गर्छौं भन्ने कुरा पनि हो भन्ने अनुभव भयो।
मेरी छोरीले एक्लै सडक काट्ने उमेरमा पुग्दासम्म हाम्रो समाजमा पनि केही परिवर्तन, थोरै भए पनि आएको होस् भन्ने मेरो चाहना छ।