Showing posts tagged #social · clear

आफ्नो ठाउँको प्रशंसा

आफ्नो ठाउँको प्रशंसा

टिकटक इन्स्टल गरेँ। केही भिडियो स्क्रोल गर्दै जाँदा एउटा पश्चिमी देशकी आमा–छोरी नेपाल घुमिरहेको भिडियोमा अडिएँ। उनीहरू नेपालको बारे यति राम्रा कुरा गरिरहेका थिए कि सुन्दा नै मन खुसी भयो। आफ्नो ठाउँको कसैले खुलेर प्रशंसा गर्दा अचम्मकै राम्रो लाग्ने रहेछ।

अझै स्क्रोल गर्दै गएँ। धेरै भारतीय पर्यटकहरू पनि नेपाल बारे राम्रा कुरा गरिरहेका थिए। आल्गोरिदमले कुरा बुझि हाले। त्यसपछि अरू देशका पर्यटकहरूका भिडियोहरू पनि आए। उनीहरू यहाँको सिभिक सेन्स, सार्वजनिक सुरक्षा, सरसफाइ, मिलनसार समाज, सडक संस्कृति, खाना र यस्तै धेरै कुराको प्रशंसा गरिरहेका थिए।

पर्यटकहरूले नेपाललाई हिमाल-पहाड भन्दा बाहिर पनि चिन्न थालेका रहेछन्।

त्यस पछि मनमा एउटा जिज्ञासा भयो। के म उनीहरूले देखिरहेको त्यही देशमा बसिरहेको छु?

सायद हामी काँडाहरू मात्र हेर्न यति व्यस्त भयौं कि फुलेको गुलाफको फूल देख्न छोड्यौँ।

कि मैले कुरो नबुझेको हो?

हामी सचेत नागरिक

सामाजिक सञ्जालले राजनीतिक नेताहरूलाई आलोचना भन्दा माथि राखिएका व्यक्तित्वमा रूपान्तरण गर्ने प्रवृत्ति बढाएको छ। यो पहिले पनि भएको थियो, अहिले पनि भइरहेको छ। उनीहरूले लिएको हरेक निर्णयको बचाउ गरिन्छ, हरेक गल्तीको औचित्य खोजिन्छ अनि हरेक आलोचनालाई शत्रुताको रूपमा व्याख्या गरिन्छ।

जब निष्ठाले विवेकलाई विस्थापित गर्छ, लोकतन्त्र कमजोर हुन थाल्छ।

अन्धो समर्थनले इमानदार बहसको ढोका बन्द गर्छ। यसले सत्तालाई जवाफदेही बनाउने संस्कृतिलाई कमजोर बनाउँछ। अझ चिन्ताजनक कुरा के हो भने संवेदनशील विषयहरूमा समेत मानिसहरू सहानुभूति, तथ्य र सामान्य विवेक भन्दा आफ्नो नेतालाई कसरी बचाउने भन्ने सोचमा केन्द्रित हुन थाल्छन्। देशका लागि यो सही निर्णय हो कि होइन भन्ने प्रश्न हराउँछ र त्यसको ठाउँमा मेरो नेतालाई/मेरो पार्टीलाई कसरी बचाउने भन्ने प्रश्न आउँछ।

यो परिवर्तन सबैभन्दा खतरनाक हो।

कुनै राजनीतिक दललाई समर्थन गर्नु भनेको आफ्नो आलोचनात्मक सोच त्याग्नु होइन। त्यसैगरी सरकारको आलोचना गर्नु भनेको कसैलाई राष्ट्र विरोधी वा राजनीतिक रूपमा पूर्वाग्रही बनाउँदैन। राजनीतिक दल समाज कस्तो हुनुपर्छ भन्ने एउटा समूहको साझा दृष्टिकोणमा आधारित हुन्छ। तपाईं एउटा दृष्टिकोणमा विश्वास गर्नुहुन्छ, मेरो अर्कै होला। त्यसैले राजनीतिक दल तपाईंको हुन सक्छ, मेरो हुन सक्छ तर देशको सरकार कसैको निजी हुँदैन। लोकतन्त्रको सुन्दरता नै यही हो कि नागरिकहरूले सत्तामा रहेकाहरूलाई प्रश्न गर्न, आलोचना गर्न र जवाफ माग्न पाउँछन्।

परिपक्व लोकतन्त्रलाई अन्धभक्त होइन, सचेत र सूचित नागरिक चाहिन्छ।

नेताहरू आउँछन् र जान्छन्। सरकारहरू बदलिन्छन्। राजनीतिक उतार चढाव भइरहन्छ। तर देश भने स्थायी हुन्छ। त्यसैले हाम्रो निष्ठा पदमा बसेका व्यक्ति प्रति होइन, देश तथा जनताको दीर्घकालीन हित प्रति हुनुपर्छ।

अब हामी सँग अन्धो समर्थनलाई स्वीकार गर्ने समय छैन।

कसैले छुन नसक्ने भ्रम

अनाम वा फेक अकाउन्टहरूको आडमा मानिसहरू आफू कानुनको दायरा भन्दा माथि रहेको सोच्दै डिजिटल स्पेसमा जथाभाबी व्यवहार गर्छन्। उनीहरूको यो बुझाइ धेरैजसो अवस्थामा पूर्ण रूपमा गलत पनि छैन। नेपालमा अनलाइन दुर्व्यवहारका विरुद्ध थोरै मात्र देखिने खालका कारबाहीहरू भएका छन्।

सामाजिक सञ्जालका कमेन्ट सेक्सनहरू संवाद गर्ने ठाउँ जस्ता नभएर गालीगलौज, व्यक्तिगत आक्रमण र विषाक्त शब्दहरूले भरिएका अखडा जस्ता लाग्छन्। यस्तो वातावरणले हामीहरू जस्ता साधारण मान्छे सामाजिक सञ्जालका आफ्नो विचार व्यक्त गर्न समेत हिचकिचाउँछौं।

आफूलाई कोही कसैले छुन सक्दैन भन्ने यो भ्रम नेपालको सिमाना पार गर्ने बित्तिकै भत्किन्छ।

हालैका समाचारहरूले एउटा चिन्ताजनक चित्र प्रस्तुत गरेका छन्। यूएई, साउदी र कुवेत जस्ता देशहरूमा रहेका नेपालीहरूले आफ्नो अनलाइन व्यवहारका कारण हिरासत वा कानुनी कारबाही भोग्नु परिरहेको छ। नेपालमा सामान्य लाग्न सक्ने व्यवहारहरू पनि ती देशहरूका कडा साइबर र राष्ट्रिय सुरक्षा कानुनहरू उल्लंघन गरिरहेका हुन सक्छन्। संवेदनशील विषयहरू जस्तै सैन्य गतिविधि, विस्फोटन, राजनीतिक असहमति वा द्वन्द्वको समयमा निषेधित पोस्टहरूलाई त्यहाँ गम्भीर अपराधको रूपमा हेरिन्छ।

विदेशमा रहेका धेरै नेपालीहरू अझै पनि यस कुराबाट अनभिज्ञ छन् कि नेपालमा सामान्य रूपमा सहिने कुरा अर्को देशमा गैरकानुनी हुन सक्छ। सामाजिक सञ्जालको विश्वव्यापी स्वरूपले प्रयोगकर्तामा एउटा झुटो भ्रम पैदा गरिदिन्छ मानौँ संसार भर एउटै नियम लागू हुन्छ। तर त्यस्तो हुँदैन। प्रत्येक देशको आफ्नै कानुनी दायरा, संवेदनशीलता र डिजिटल क्षेत्रमा कुन कुरा अपराध ठहरिन्छ भन्ने आफ्नै मापदण्ड हुन्छ।

यस समस्यालाई अझ बढी ‘भाइरल संस्कृति’ ले गम्भीर बनाएको छ। परिणामको वास्ता नगरि अनलाइनमा भिजिबिलिटी र वाहवाही पाउने तीव्र चाहना मानिसहरूमा देखिन्छ। लाइक्स र सेयरको पछि दौडने क्रममा कतिपयले आफू कुन उद्देश्यका लागि विदेश गएको हो भन्ने कुरा नै बिर्सिन्छन्।

सबैभन्दा चिन्ताको विषय के हो भने यस्ता घटनाहरू पटक-पटक दोहोरिँदा पनि यो प्रवृत्तिमा सुधार आएको छैन। यसले एउटा गहिरो समस्यातर्फ संकेत गर्छ। हाम्रो डिजिटल साक्षरता एकदमै न्यून छ। हामी डिजिटल अधिकार, जिम्मेवारी, गोपनीयता, गलत सूचना र विशेष गरी सम्बन्धित देशको साइबर कानुनका बारेमा आफूलाई र अरूलाई पर्याप्त रूपमा शिक्षित गराइरहेका छैनौँ। यो समस्या कुनै एक व्यक्तिको गल्ती मात्र होइन। यसले तीव्र रूपमा अन्तर-सम्बन्धित र नियमन गरिएको डिजिटल संसारसँग आफूलाई ढाल्न नसकेको हाम्रो प्रणालीगत असफलतालाई झल्काउँछ।

दशैं

दशैं नेपालको सबैभन्दा ठूलो चाड हो। यो परिवार-साथीभाईसँग भेटघाट गर्ने, ठूलाबडाबाट आशीर्वाद लिने, चंगा उडाउने र खानपिन गर्दै रमाइलो गर्ने समय हो। दशैं धार्मिक र सांस्कृतिक पर्व मात्र होइन हाम्रो सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको छ।

दशैं नजिकिँदै गर्दा काठमाडौंमा काम वा अध्ययनका लागि बसेका लाखौँ मानिस आफ्नो गाउँघर फर्किन थाल्छन्। लामो दूरीको यात्रा, खचाखच भरिएका बस र बजारको भीड यस समयको परिचित दृश्य हो। आफन्तका लागि कोसेली र खानेकुरा बोकेर घर फर्कनेहरूको अनुहारमा उत्साह र खुसी देखिन्छ। दशैंमा पाइने अतिरिक्त तलबको रकमले पनि घर फर्केर चाड मनाउने उत्साहलाई थप बल दिन्छ।

वर्षेनी देखिने यो घर फिर्तीको लहरले एउटा कुरा सम्झाउँछ। मानिस जहाँ पुगे पनि चाडपर्वमा आफ्नै घर जस्तो ठाउँ अर्को हुँदैन।