मैले वर्षौंसम्म Spotify का सानातिना विज्ञापनहरू, सीमित स्किपहरू र शफल्ड प्लेलिस्टहरू स्वीकार गरेरै चलाएँ। हालसालै आएको बदलाव पछि अब यो एप फ्री भर्सनमा प्रयोग गर्न मिल्छ जस्तै लाग्दैन। यो गीत सुन्ने एप भन्दा सजाय जस्तो लाग्न थाल्यो। मैले अनइन्स्टल गरें।
यो केवल Spotify मात्र होइन। मोबाइलमा Youtube हेर्नै नसकिने भैसक्यो। इन्स्टाग्राम व्यक्तिगत ठाउँ भन्दा बिलबोर्ड र बजारमा परिणत भैसक्यो। मैले Candy Crush खेल्नै छोडेँ।
यहाँ के कुरालाई बेवास्ता गरिन्छ भने हाम्रो जस्तो देशमा सबै प्रयोगकर्ताहरूको भुक्तानी गर्ने क्षमता समान हुँदैनन्। म एपहरूको सब्स्क्रिप्सन तिर्न अनिच्छुक होइन तर नेपालमा डलरमा गरिने भुक्तानीहरू धेरै झन्झटिला छन्।
एउटा मध्यमार्गी बाटो हुनुपर्छ। निशुल्कको अर्थ पहुँचयोग्य हुनुपर्छ। कम सुविधाहरू होस् तर विज्ञापनहरूबाट एप प्रयोग गर्दा निरन्तर झर्को लाग्दो नहोस्।
यसबाट एउटा अनपेक्षित फाइदा भएको छ।
मेरो स्क्रिन टाईम उल्लेख्य घटेको छ। अहिले म मेरी छोरीसँग धेरै समय बिताउँछु, किताबहरू पढ्छु र आफ्नै बगैंचाको फूलहरू स्याहार्न लामो समय बिताउँछु।
मैले अपडेट नपाएर केही कुराहरू छुटाएँ भने संसार ध्वस्त हुँदैन भन्ने बुझेको छु।