विद्युतीय गाडी बारे प्रश्नहरू
धेरै सामान्य नेपाली परिवारको साझा सपना हो एउटा घर, अनि एउटा चारपाङ्ग्रे गाडी किन्नु। पैतृक सम्पत्ति छैन भने त राम्रो आम्दानी हुने परिवारका लागि पनि किन्ने मूल्य देखि लिएर वार्षिक कर, बीमा, दैनिक खर्च र मर्मत-सम्भारका कारण गाडीको स्वामित्व सजिलो कुरा होइन। सायद यही कारणले नेपालमा विद्युतीय गाडी (EV) आकर्षक बनेका छन्। कर छुट, विभिन्न वित्तीय योजना र पेट्रोल–डिजेलको तुलनामा निकै कम सञ्चालन खर्चले चारपाङ्ग्रे गाडी धेरै परिवारको पहुँचमा आएको छ।
केही दिनअघि चितवनमा गुडिरहेको एउटा EV मा आगलागी भयो। त्यसका भिडियो र तस्विरले साँच्चिकै झस्कायो। सामाजिक सञ्जालमा ठूलो चर्चा भयो तर मूलधारका सञ्चार माध्यम, सरकारी निकाय वा सम्बन्धित निर्माता/ वितरकबाट भने खासै प्रतिक्रिया आएन। त्यो चाहिँ चिन्ताको विषय हो।
नयाँ चारपाङ्ग्रे गाडी किन्न खोज्ने धेरै नेपाली परिवार अहिले EV लाई नै विकल्पका रूपमा हेरिरहेका छन्। हालैका अटो शोहरूले पनि यही ट्रेन्ड देखाउँछन्। एउटा घटनाका आधारमा समग्रमा EV असुरक्षित छन् भन्ने भाष्य बनाउनु हुन्न तर यसले एउटा ठूलो प्रश्न भने उठाउँछ, के EV हरू वास्तवमै नेपालको सडकको लागि उपयुक्त छन्? किनभने हाम्रा सडकहरू गर्व गर्न लायकका पक्कै छैनन्।
त्यसैले EV क्रान्तिको उत्सव मनाउनु अघि केही असहज प्रश्नहरू सोध्नैपर्छ।
- के EV हरू इलेक्ट्रोनिक प्रणालीमा यति धेरै निर्भर छन् कि ब्याट्रीमा वा अन्यत्र आगलागी हुँदा ढोका खोल्ने जस्तो आधारभूत काम समेत प्रभावित हुन सक्छ?
- सस्तो वा व्यावसायिक रूपमा आकर्षक भएकै कारण हामी कमजोर सुरक्षा रेकर्ड भएका ब्रान्डहरू आयात गरिरहेका त छैनौँ?
- नेपालका खाल्टाखुल्टी, उकालो–ओरालो, असमान सडक र निर्माणाधीन सडकका लागि केही EV को ग्राउन्ड क्लियरेन्स पर्याप्त छ? न्यूनतम ग्राउन्ड क्लियरेन्स कति हुनुपर्छ भन्ने स्पष्ट सरकारी मापदण्ड नै छ?
- हाम्रा चार्जिङ स्टेशनहरू सही तरिकाले जडान र नियमित मर्मत र नियमन भएका छन्?
- नेपालमा EV आगलागीको स्वतन्त्र अनुसन्धान गर्ने र त्यसको निष्कर्ष सार्वजनिक गर्ने व्यवस्था छ? EV मा आगलागी हुँदा अनुसन्धान कसले गर्छ: निर्माता, वितरक, बीमा कम्पनी, सरकारी निकाय कि कसैले पनि गर्दैन?
- हामी नेपालका लागि EV परीक्षण गरिरहेका छौँ कि फरक सडक, फरक मौसम, फरक पूर्वाधार र फरक आपत्कालिन प्रणाली भएका देशका लागि डिजाइन गरिएका गाडीहरू नेपालमा ल्याएर ‘चलिहाल्छन्’ भनेर मानिरहेका छौँ?
- EV का स्पेयर पार्टहरू सजिलै उपलब्ध छन्? र उपलब्ध भए पनि सामान्य ग्राहकले किन्न सक्ने मूल्यमा छन्? हाम्रा सर्भिस सेन्टरमा EV का विशेष समस्या पहिचान र मर्मत गर्न पर्याप्त तालिम प्राप्त प्राविधिक छन्? महँगो मर्मत-सम्भारका कारण कतिपय EV मालिकले नियमित सर्भिसिङ नै बेवास्ता गरिरहेका त छैनन्?
- अनि सबैभन्दा महत्वपूर्ण प्रश्न, EV चलाउनेहरूलाई आफ्नो गाडीमा भएका सुरक्षा प्रणाली र आपत्कालिन अवस्थामा अपनाउनुपर्ने प्रक्रियाबारे पर्याप्त जानकारी छ?
नेपालले पेट्रोलियम पदार्थ आयात गर्न ठूलो रकम खर्च गर्छ। EV को प्रयोग बढ्दा इन्धन आयात घटाउन, व्यापार घाटाको दबाब कम गर्न र अन्ततः यातायातको खर्च घटाउन मद्दत गर्न सक्छ। तर सस्तो यातायातको नाममा मानिसको सुरक्षासँग सम्झौता गर्न सकिँदैन।
यदि तपाईं आफ्नो दैनिक सवारीका रूपमा EV किन्न सोच्दै हुनुहुन्छ भने केवल रेन्ज, छुट र फाइनान्सिङ हेरेर मात्र निर्णय नगर्नुस्।
नेपालमा EV क्रान्ति सुरु भइसकेको छ। हाम्रा सडक, नियम, सर्भिस नेटवर्क र हाम्रा गाडीहरू; सबै यो क्रान्तिका लागि तयार छन् कि छैनन्?