विपत्ति र हाम्रो जिम्मेवारी

आज सिंगो देश विनाशकारी बाढीमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाइरहेको छ।

विपत्ति पछि दस दिनसम्म जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना मानिसलाई जीवितै उद्धार गरिएको खबर आएको थियो। यी कठिन दिनहरूमा यस्ता खबरहरू नै हाम्रा लागि आशाको आधार बनेका छन्। अँध्यारोमा दस दिन बितिसक्दा पनि जीवनको सम्भावना बाँकी रहन सक्छ भन्ने कुराले हामीलाई आशा दिएको छ। त्यसको भोलिपल्ट अर्को एक जनालाई अर्को आयोजनाको सुरुङबाट जीवितै उद्धार गरियो। त्यसपछि बाढीले थुपारेको माटो, ढुंगा र भग्नावशेष मुनिबाट एक महिलालाई जीवितै उद्धार गरिएको खबर आयो।

हामी जस्ता जलविद्युत् आयोजनाका सुरुङमा काम गर्नेहरूका लागि यी खबरहरू अलि फरक छन् र निकै नजिकबाट नियालिरहेका हुन्छौँ। हामीलाई थाहा छ, सुरुङ कस्तो हुन्छ। सुरुङलाई बाढीले तहसनहस बनाएको अवस्थामा त्यसभित्र पस्नु, खोजी गर्नु र कसैलाई जीवितै उद्धार गर्नु कति कठिन हुन्छ भन्ने हामी बुझ्छौँ।

उद्धारको अग्रपंक्तिमा खटिनुभएका सबैलाई धन्यवाद।

हामीलाई तपाईंहरूको नाम थाहा नहुन सक्छ। तपाईंहरूले कति घण्टा काम गर्नुभयो, कति जोखिम उठाउनुभयो वा कति पटक ‘अब सम्भव छैन’ जस्तो लागेको थियो भन्ने पनि हामीलाई थाहा नहुन सक्छ। तर तपाईंहरू साँच्चिकै हीरो हुनुहुन्छ। तपाईंहरूले जीवन बचाउनुभएको छ।
र हामीले प्रयास गरिरहनै पर्छ।

अझ एक जना मानिसलाई पनि जीवितै बाहिर ल्याउन सकियो भने, त्यो ठूलो उपलब्धि हो। कोही अझै जीवित हुन सक्ने सानोभन्दा सानो सम्भावना पनि बाँकी छ भने हामीले हार मान्नु हुँदैन। दिनहरू बित्दै जाँदा हाम्रो प्रयास अझ बढ्नुपर्छ, दृढता अझ बलियो हुनुपर्छ र सायद, अझ धेरै चमत्कारको आशा पनि गर्नुपर्छ।

यी दिनहरूमा मलाई सबैभन्दा निराश बनाउने कुरा भनेको सत्तामा बसेका मानिसहरूले उद्धार किन हुन सकेन भनेर गरेका गैरजिम्मेवार टिप्पणीहरू हुन्। यति ठूलो विपत्तिपछि प्राविधिक रूपमा के–के सम्भव हुन्छ भन्ने कुराबारे उनीहरू नै अनभिज्ञ देखिए।

त्यसमाथी पदमा बसेकाहरूबाट देखिएका केही ‘वीरता’ पनि मैले देखेको छु, जुन नेतृत्वभन्दा बढी अज्ञानता र देखावटीजस्तो लाग्यो। कहिलेकाहीँ त उनीहरूले ऐनामा आफ्नो अनुहार हेरेर आफूले वास्तवमै सहयोग गरिरहेका छन् कि केवल तमासा गरिरहेका छन् भनेर आफैँलाई सोधून् जस्तो लाग्छ।

यो त्रासदी जलविद्युत् क्षेत्रका लागि एउटा गम्भीर पाठ बन्नुपर्छ।

हामीले संरचनाहरू कसरी डिजाइन गर्छौँ भन्ने कुरालाई गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्छ। सामान्य अवस्थामा सबै ठीक हुन्छ भनेर मात्र सोचेर पुग्दैन। अझ कठिन प्रश्न सोध्नुपर्छ -जब सबै कुरा गलत हुन्छ, त्यति बेला के हुन्छ?

यो प्रश्न विपत्ति आएपछि मात्र सोधिने हुनु हुँदैन। यिनलाई डिजाइन प्रक्रियाकै हिस्सा बनाउनुपर्छ।
किनकि अन्ततः हाम्रो सबै इन्जिनियरिङ, गणना, कंक्रिट, स्टिल र मेसिनहरूको अर्थ त्यति बेला निकै सानो हुन्छ यदि निर्णायक क्षणमा हामी एउटा मानव जीवन बचाउन सक्दैनौँ भने।

अर्को पटक हामीले एक जना मानिसको जीवन मात्र पनि बचाउन सक्यौं भने त्यसका लागि गरिएको सबै प्रयास सार्थक हुनेछ।

२०८३ भदौ १०

सामान्य दिन थियो। आफ्नै काममा व्यस्त थिएँ। एक सहकर्मीले भन्यो, भोटेकोशीमा ठूलो बाढी आएछ।

मनमा पहिलो कुरा आयो, फेरि।

गत वर्ष पनि यही समयमा यही खोलामा ठूलो बाढी आएको थियो।

पहिलो भिडियो हेरेपछि मेरो शरीर नै काँप्यो।

भोटेकोशीको त्यो उर्लिएको छालले त्रिशूली बजारलाई केही क्षणमै तहसनहस बनाएको थियो। घरहरू बगिरहेका थिए। पुल एकै झट्कामा ढलेको थियो। अझ डरलाग्दो कुरा त त्यति बेला स्थानीय मानिसहरू खोला छेउको सडकमै हिँडिरहेका थिए। केही पर कस्तो विनाश भइसकेको छ उनीहरूलाई पत्तै थिएन।

फेरी प्रश्न आयो, माथिल्लो भेगमा के भयो होला?

मैले यो खोलाको किनारमा वर्षौँ काम गरेको छु। सबै बस्तीहरू झलझलती याद आयो। त्यहाँ खाना खाएको छु, रात बिताएको छु, मानिसहरूसँग भलाकुसारी गरेको छु।

बाढी आउँदैछ भन्ने सामान्य पूर्व सूचना त पाएका रहेछ तर बाढी त त्यहाँका मानिसका लागि नयाँ कुरा थिएन। पुस्तौँ देखि खोला सँगै बसेका समुदायले हरेक बाढीमा घर छोडेर भाग्न सक्दैनन्। उनीहरूलाई यति ठूलो बाढी आउँछ भन्ने कसरी थाहा होस्?

सामाजिक सञ्जालमा देखिने “समय हुँदाहुँदै किन भागेनन्?” भन्ने प्रश्नले मलाई झन् दुःखी बनाउँछ। बैठक कोठामा बसेर प्रश्न गर्न सजिलो छ तर आफूले जीवनभरि चिनेको खोला एक्कासि यस्तो राक्षस बन्छ भनेर कसरी अनुमान गर्नु?

एउटा भिडियोले मलाई भित्रैदेखि हल्लायो। मैले पहिले काम गरेको आयोजनाको क्याम्पहाउस त्यही उर्लिएको पानीले बगाइरहेको थियो। भिडियोमा मानिसहरू अन्तिम क्षणसम्म क्याम्पबाट भाग्ने प्रयास गरिरहेका देखिन्थे।

त्यहाँ काम गरेका मेरा केही सहकर्मीहरू अझै सम्पर्क विहीन छन्।

सरकारले आफ्नो काम गरिरहेको होला। उद्धार र खोजीमा मानिसहरू खटिएका होलान्। तर यति ठूलो विपत्तिका लागि हाम्रो तयारी पर्याप्त रहेनछ।

हरेक जीवनको मूल्य हुन्छ।

एउटा जीवन पनि तयारीको कमी, पूर्व सूचनाको कमजोरी वा ढिलो प्रतिक्रियाका कारण गुम्छ भने पनि प्रश्न उठ्नुपर्छ। जवाफदेहिता खोजिनुपर्छ।

रेस्ट इन पीस, गरिमा

कहिलेकाहीँ समाचार पढिन्छ, मोबाइल एकातिर राखिन्छ अनि आफ्नो दैनिकीमा फर्किन खोजिन्छ तर मनबाट त्यो कुरा हट्दैन। के भन्ने, कसरी प्रतिक्रिया दिने। आफ्नो आक्रोश मनभित्रै बोकेर बस्छौँ। एक्लै हुँदा आँसु पनि आउँछ।

एउटा तीन वर्षीया बालिका यस्तो अकल्पनीय अपराधको शिकार भइन्, शरीर काँपिरहेको छ, मन रिसले अशान्त भएको छ।

मलाई सरकारसँग रिस उठेको छ। सुरक्षा निकायसँग रिस उठेको छ। हामीले निर्माण गरेको समाजसँग रिस उठेको छ। म आफैँसँग पनि रिसाएको छु किनकी हामी यस्तो समाजमा बाँचिरहेका छौँ जहाँ एउटा अबोध बालिकामाथि यति भयानक घटना हुन सक्छ।

मानिस आखिर कसरी एउटा सानो बालिका माथि यस्तो अपराध गर्न सक्ने अवस्थामा पुग्छ? हामीले के सिकाउन सकेनौँ? के रोक्न सकेनौँ? के देख्न सकेनौँ?

म पनि एउटी छोरीको बुबा हुँ। त्यसैले मलाई यस्ता समाचारले अझ गहिरो सताउँछ।

एउटी छोरी यो संसारमा आउँदा उनको मनमा एउटा विश्वास हुन्छ उनका बुबाले उनलाई जीवनका हरेक बाधाबाट जोगाउनेछन्। म पनि आफ्नी छोरीलाई जोगाउन आफूले सक्ने सबै कुरा गर्नेछु। तैपनि एउटा डरलाग्दो प्रश्न मनमा आउँछ-यदि एकछिनका लागि म त्यहाँ भइनँ भने? यदि आँखाको एक झिमिक्कमै केही छुट्यो भने?

गरिमा चौधरीको घटनाले छोडेर गएको डर यही हो।

गरिमाले भर्खर हिड्न थालेकी थिइन्। उनी केवल तीन वर्षकी थिइन्। गरिमाले हुर्किन पाउनुपर्थ्यो। उनले विद्यालय जाने बिहानहरू देख्नुपर्थ्यो। जन्मदिनमा केक काट्नुपर्थ्यो। अनगिन्ती प्रश्न सोध्नुपर्थ्यो। बाल्यकालका ससाना खुसीहरू अनुभव गर्नुपर्थ्यो। उनले पूरा जीवन बाँच्न पाउनुपर्थ्यो।

रेस्ट इन पीस, गरिमा।

लेडी राइडर

समयमै पुगिएला कि भनेर एयरपोर्टसम्मको यात्राको लागि दुई पांग्रे बुक गरेको थिएँ। म सडकको छेउमा उभिएको थिएँ त्यत्तिकैमा एउटी केटी पल्सर चढेर आइन्। केही नाम केटा र केटी दुवैको हुने भएकाले मेरो राइडर केटी नै हुन्छिन् भन्ने मैले साँच्चै सोचेको थिइनँ।

उनको शरीर औसत बनौटको थियो र बाइक रोकिएको बेला खुट्टाले बल्लतल्ल जमिन छोइरहेको थियो। मनमनै मलाई लागिरहेको थियो यो बाइक उनको उचाइका लागि ठीक छैन।

त्यसैले मैले सम्मान पूर्वक सोधेँ, “बहिनी, मेरो वेट ८४ किलो छ। मलाई पछाडी राखेर यो बाइकलाई ब्यालेन्स गर्न सकिन्छ त? तपाईंलाई गाह्रो हुन्छ भने म बाइक चलाउँछु तपाईं पछाडि बस्नुस्।” उनी मुसुक्क हाँसिन् र भनिन्, “दाई, मलाई चान्स दिनुस्। तपाईंलाई कतै अप्ठ्यारो महसुस भयो भने त्यसपछि तपाई चलाउनुस्।”

म सहमत भए।

उनले जाममा बाइक रोक्न खुट्टा भुइँमा टेक्नु पर्दा मलाई अलि टेन्सन हुन्थ्यो। त्यसबाहेक यात्रा एकदमै सहज भयो। उनले मलाई गुनासो गर्ने एउटा पनि कारण दिइनन्।

यात्राको क्रममा म खासै ड्राइभरसँग गफ गर्दिन, उनीसँग पनि गरिन। एयरपोर्ट पुग्नै लाग्दा उनले हेलमेटले छोपेको मधुरो आवाजमा सोधिन्, “डोमेस्टिक कि इन्टरनेसनल?” मैले भनेँ, “डोमेस्टिक।”

दुई मिनेटपछि हामी एयरपोर्ट पुगिसकेका थियौँ।

यसलाई मैले उनलाई केटी भएकोमा वा “कमजोर” देखेर शंका गरेको अर्थमा नलिनुहोला। मलाई आफ्नै अनुभवबाट थाहा छ आफूभन्दा धेरै वजन भएको मान्छे पछाडि बसेको बेला बाइक ब्यालेन्स गर्न कति गाह्रो हुन्छ।

तर उनले त एकदमै प्रोफेसनल तरिकाले सम्हालिन्।

आफ्नो ठाउँको प्रशंसा

आफ्नो ठाउँको प्रशंसा

टिकटक इन्स्टल गरेँ। केही भिडियो स्क्रोल गर्दै जाँदा एउटा पश्चिमी देशकी आमा–छोरी नेपाल घुमिरहेको भिडियोमा अडिएँ। उनीहरू नेपालको बारे यति राम्रा कुरा गरिरहेका थिए कि सुन्दा नै मन खुसी भयो। आफ्नो ठाउँको कसैले खुलेर प्रशंसा गर्दा अचम्मकै राम्रो लाग्ने रहेछ।

अझै स्क्रोल गर्दै गएँ। धेरै भारतीय पर्यटकहरू पनि नेपाल बारे राम्रा कुरा गरिरहेका थिए। आल्गोरिदमले कुरा बुझि हाले। त्यसपछि अरू देशका पर्यटकहरूका भिडियोहरू पनि आए। उनीहरू यहाँको सिभिक सेन्स, सार्वजनिक सुरक्षा, सरसफाइ, मिलनसार समाज, सडक संस्कृति, खाना र यस्तै धेरै कुराको प्रशंसा गरिरहेका थिए।

पर्यटकहरूले नेपाललाई हिमाल-पहाड भन्दा बाहिर पनि चिन्न थालेका रहेछन्।

त्यस पछि मनमा एउटा जिज्ञासा भयो। के म उनीहरूले देखिरहेको त्यही देशमा बसिरहेको छु?

सायद हामी काँडाहरू मात्र हेर्न यति व्यस्त भयौं कि फुलेको गुलाफको फूल देख्न छोड्यौँ।

कि मैले कुरो नबुझेको हो?

किनमेलको कला

किनमेलको कला

मेरो एउटा साथी किनमेल गर्न असाध्यै पोख्त छ। उसलाई कुन सामान कहाँ राम्रो पाइन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ। बत्ती र इलेक्ट्रिकल सामानका लागि भोटेबहाल, सुकुटी र ड्राइ फ्रुटका लागि असन, लुगाका लागि खिचापोखरी, जडिबुटीका लागि मंगलबजार, मिठाईको लागि तिछुगल्ली, आदि इत्यादि।

उसले किनमेल गर्ने पसलहरू प्रायः काठमाडौंका पुरानो बजारमै हुन्छन् जहाँ मानिसहरू पुस्तौं देखि सायद गुणस्तरकै कारण आइरहेका छन्।

म भने ठीक उल्टो। घर र अफिसको बाटोमै भेटिने पसलबाट किनिहाल्छु। कन्भिनियन्स् मेरो पहिलो प्राथमिकता। मलाई लाग्छ काठमाडौंमा अहिले यति धेरै अप्सन छ कि चाहिएको सामानका लागि टाढासम्म धाउनै पर्दैन।

तर उसको रोजाई देखेर लोभ लाग्छ। उसले अझै पनि पुरानो बजारको मूल्य र गुणस्तरमाथि विश्वास गर्छ जब कि म भने सजिलो बाटो रोजिरहन्छु।

उसले कमाएको पैसाको महत्व र लाइफ जिउन जानेको छ।

असहज विचार

यो सायद अनपपुलर अपिनियन हुन सक्छ।

जब कुनै नेपालीमूलको व्यक्तिले विदेशमा ठूलो सफलता हासिल गर्छ, हामीले उसलाई लगभग तुरुन्तै “हाम्रो मान्छे” भनेर स्वीकार गर्छौ चाहे उसले विदेशी नागरिकता नै किन नलिएको होस्। विश्व मञ्चमा कम प्रभाव भएको हाम्रो जस्तो देशले यस्ता व्यक्तिहरू मार्फत “हामी पनि विश्वस्तरमा छौं” भन्ने अनुभूति गर्छ। उनीहरूलाई “हाम्रो मान्छे” स्वीकार गर्न कुनै जोखिम पनि हुँदैन किनभने उनीहरू यहाँको सामाजिक जटिलताको हिस्सा हुँदैनन्। उनीहरू समाचारका शीर्षक र इन्स्टाग्राम पोस्टहरूमा मात्र देखिन्छन्। जिल्ला प्रशासन कार्यालयको लाइनमा उभिएर राष्ट्रिय परिचयपत्र बनाउन आएका हुँदैनन्।

तर देश भित्रै भने पहिचान र अपनत्व बारेका बहसहरू धेरै जटिल छन। हामी आफ्नै मान्छेहरूलाई रंग, अनुहारको बनौट र लवजको कारण विदेशी हो कि भनेर शंका गर्छौ।

आशाका साइरन

आशाका साइरन

हामी नेपालीहरू सडकमा हुँदा सिभिक सेन्सका लागि खासै परिचित छैनौं। ट्राफिक नियम पालना गर्ने बानीमा अझै धेरै सुधार गर्न बाँकी छ।

एउटा कुरा भने हामीले कुनै नियम वा निर्देशन बिना नै सिकेका छौं। साइरन बज्ने बित्तिकै आपत्कालीन गाडीलाई बाटो दिने। त्यहाँ कुनै प्रहरीले आदेश दिइरहनु पर्दैन। सबै आफैं अग्रसर हुन्छन्।

यसको कारण सायद हाम्रो जीवन इमर्जेन्सीसँग धेरै नजिकबाट जोडिएको छ। यी हाम्रो लागि समाचारका विषय मात्र होइनन्, धेरैले आफ्नै जीवनमा भोगेका वास्तविकता हुन्। आज पनि आपत पर्दा सबैभन्दा पहिले सरकार होइन, समुदाय नै उद्धारमा जुट्छ। छिमेकी, आफन्त र अपरिचित मानिसहरू नै पहिलो सहयोगी बन्छन्।

त्यसैले साइरनको आवाज हाम्रो लागि एउटा गाडीको आवाज मात्र होइन, त्यो कसैको जीवन र मृत्यु बीचको दौड हो भन्ने हामी बुझ्छौं।

हामी सँग धेरै कमी कमजोरीहरू छन् तर त्यो केही इन्च बाटो छोड्ने बानीले हामी अझै पनि संकटमा परेकाको पीडा बुझ्ने समाज हौं भन्ने देखाउछ। किनकि हामीलाई थाहा छ, एक दिन त्यो एम्बुलेन्स भित्र हाम्रो आफ्नै मान्छे पनि हुन सक्छ।

सिनेमाको सुगन्ध

हामी जब सुरक्षा जाँच पार गरेर हलको लबीमा छिर्छौँ, सिनेमाको अनुभव दिने एउटा परिचित बास्ना नाकमा आउँछ, त्यो हो पपकर्नको सुगन्ध।

नेपालमा सिनेमा हेर्ने अनुभवले परम्परागत हलहरूबाट अत्याधुनिक मल्टिप्लेक्स सम्मको यात्रा तय गरिसकेको छ। यति धेरै परिवर्तनका बीच सिनेमा हेर्दा पपकर्नको ठाउँ भने आजसम्म उस्तै छ। पपकर्न ताजा अनि हल्का हुन्छ, सजिलै बोक्न र खान सकिन्छ र फिल्म हेर्दा ध्यान पनि भंग गर्दैन (आफ्नो र अरुको पनि)।

घरमै फिल्म हेर्दा पपकर्न खाने क्रेभिङ्ग कहिले भएन। तर हलमा काखमा पपकर्नको बकेट नबोकी फिल्म हेर्न खल्लो लाग्छ। स्वादका लागि मात्र होइन, अर्को दुई घण्टासम्म अँध्यारो कोठामा हातमा केही न केही समातिरहन मन लाग्ने रहेछ र त्यसका लागि पपकर्न जस्तो अर्को विकल्प मानौँ छैन।

हामीलाई थाहा छ कि सिनेमा हलको पपकर्न निकै महँगो हुन्छ। प्रत्येक पटक “आज त किन्दिनँ” भनेर सोचिन्छ। तर त्यो बास्ना नाकमा पुग्नेबित्तिकै काउन्टरतिर नजर पुग्छ र केही क्षणमै हातमा पपकर्नको बकेट लिएर हलभित्र पसिरहेको हुन्छु।

फोन किन्ने कसरत

पोर्ट बिग्रिएर चार्ज नहुने अवस्थामा पुगेपछि नयाँ फोन लिने निर्णय लिएँ। यस पाली एक लाख सम्मको राम्रो क्यामेरा अनि अरू फीचर्स भएको फोन लिने भए। नयाँ ग्याजेट्स र प्रविधि बारे त्यति धेरै जानकारी नभएकोले सुरुमा नयाँ फोन किन्दा के-के हेर्ने गूगल गरेर शर्तलिस्ट तयार पारे। स्न्यापड्रागन् ८ जेन-ठूलो नम्बर, डिडिआर-ठूलो नम्बर, युएफएस-ठूलो नम्बर, एमोलेड, टेलिफोटो जस्ता गाह्रो-गाह्रो शब्द याद गरे। आफूले आफैंलाई एजुकेट गरें। युट्यूबमा गएर दुई-चार वटा भिडियो पनि हेरें। फोनको मोडेलहरूको पनि लिस्ट बनाए। अनि फोनको मूल्य देखाउने वेबसाइट तिर गए।

अचम्म, एक लाख रुपैयाँमा मैले याद गरेका प्राविधिक शब्द मिल्ने एउटै फोन फेला परेन। त्यसको लागि कम्तीमा अर्को ५० हजार खर्चिनू पर्ने रैछ। एक लाखमा त मात्र मिड-रेञ्ज भन्ने फोन आउने रैछ। मिड-रेञ्ज नामैले मध्यम वर्ग। कुनैमा क्यामेरा राम्रो भए अरू फीचर्स नराम्रो, शर्तलिस्टमा भएको धेरै कुरा टिक नहुने। मलाई लाग्थ्यो एक लाख भनेको थुप्रो पैसा हो। आई वाज लिभिङ अन्डर अ रक।

साथीहरूले सुझाए कि अनलाइन हेरेर हुन्न, अफलाइन बजारमा बार्गेन गरेर किन्ने। कुरा सही हो। यही बहनामा फोन छोएर, चलाएर हेर्न पाइने। पसलमा सेल्स टार्गेट पुर्याउनु पर्ने भएकोले थोरै बढी डिस्काउन्ट दिने रैछ। तैपनी चित्त बुझ्ने फोन मेरो पहुँच भन्दा बाहिर थियो। पसले बहिनीले नागरिकता दियो भने फोन किस्तामा पाइने अप्सन दिए। फूल क्यास दिने र भ्याट बिल नलिने भए थप एक्स्ट्रा डिस्काउन्ट को अप्सन पनि दिए। दिक्क लाग्यो, इरिटेट भए। एक लाख बजेट हुँदा पनि मेरो लागि राम्रो फोन बजारमा थिएन। अनि फर्किए।

घर छेउको मर्मत गर्ने ठाउँमा आफ्नो पुरानो फोन देखाए। पोर्ट फेर्न १२०० रुपैयाँ लाग्ने भयो। मलाई थाहा छ एकचोटी कुनै पार्ट फेरेपछि फोन टिक्दैन। तर म सँग अरू अप्सन छैन। जति टिक्छ, पुरानै फोन चलाउने।