आज सिंगो देश विनाशकारी बाढीमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाइरहेको छ।
विपत्ति पछि दस दिनसम्म जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना मानिसलाई जीवितै उद्धार गरिएको खबर आएको थियो। यी कठिन दिनहरूमा यस्ता खबरहरू नै हाम्रा लागि आशाको आधार बनेका छन्। अँध्यारोमा दस दिन बितिसक्दा पनि जीवनको सम्भावना बाँकी रहन सक्छ भन्ने कुराले हामीलाई आशा दिएको छ। त्यसको भोलिपल्ट अर्को एक जनालाई अर्को आयोजनाको सुरुङबाट जीवितै उद्धार गरियो। त्यसपछि बाढीले थुपारेको माटो, ढुंगा र भग्नावशेष मुनिबाट एक महिलालाई जीवितै उद्धार गरिएको खबर आयो।
हामी जस्ता जलविद्युत् आयोजनाका सुरुङमा काम गर्नेहरूका लागि यी खबरहरू अलि फरक छन् र निकै नजिकबाट नियालिरहेका हुन्छौँ। हामीलाई थाहा छ, सुरुङ कस्तो हुन्छ। सुरुङलाई बाढीले तहसनहस बनाएको अवस्थामा त्यसभित्र पस्नु, खोजी गर्नु र कसैलाई जीवितै उद्धार गर्नु कति कठिन हुन्छ भन्ने हामी बुझ्छौँ।
उद्धारको अग्रपंक्तिमा खटिनुभएका सबैलाई धन्यवाद।
हामीलाई तपाईंहरूको नाम थाहा नहुन सक्छ। तपाईंहरूले कति घण्टा काम गर्नुभयो, कति जोखिम उठाउनुभयो वा कति पटक ‘अब सम्भव छैन’ जस्तो लागेको थियो भन्ने पनि हामीलाई थाहा नहुन सक्छ। तर तपाईंहरू साँच्चिकै हीरो हुनुहुन्छ। तपाईंहरूले जीवन बचाउनुभएको छ।
र हामीले प्रयास गरिरहनै पर्छ।
अझ एक जना मानिसलाई पनि जीवितै बाहिर ल्याउन सकियो भने, त्यो ठूलो उपलब्धि हो। कोही अझै जीवित हुन सक्ने सानोभन्दा सानो सम्भावना पनि बाँकी छ भने हामीले हार मान्नु हुँदैन। दिनहरू बित्दै जाँदा हाम्रो प्रयास अझ बढ्नुपर्छ, दृढता अझ बलियो हुनुपर्छ र सायद, अझ धेरै चमत्कारको आशा पनि गर्नुपर्छ।
यी दिनहरूमा मलाई सबैभन्दा निराश बनाउने कुरा भनेको सत्तामा बसेका मानिसहरूले उद्धार किन हुन सकेन भनेर गरेका गैरजिम्मेवार टिप्पणीहरू हुन्। यति ठूलो विपत्तिपछि प्राविधिक रूपमा के–के सम्भव हुन्छ भन्ने कुराबारे उनीहरू नै अनभिज्ञ देखिए।
त्यसमाथी पदमा बसेकाहरूबाट देखिएका केही ‘वीरता’ पनि मैले देखेको छु, जुन नेतृत्वभन्दा बढी अज्ञानता र देखावटीजस्तो लाग्यो। कहिलेकाहीँ त उनीहरूले ऐनामा आफ्नो अनुहार हेरेर आफूले वास्तवमै सहयोग गरिरहेका छन् कि केवल तमासा गरिरहेका छन् भनेर आफैँलाई सोधून् जस्तो लाग्छ।
यो त्रासदी जलविद्युत् क्षेत्रका लागि एउटा गम्भीर पाठ बन्नुपर्छ।
हामीले संरचनाहरू कसरी डिजाइन गर्छौँ भन्ने कुरालाई गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्छ। सामान्य अवस्थामा सबै ठीक हुन्छ भनेर मात्र सोचेर पुग्दैन। अझ कठिन प्रश्न सोध्नुपर्छ -जब सबै कुरा गलत हुन्छ, त्यति बेला के हुन्छ?
यो प्रश्न विपत्ति आएपछि मात्र सोधिने हुनु हुँदैन। यिनलाई डिजाइन प्रक्रियाकै हिस्सा बनाउनुपर्छ।
किनकि अन्ततः हाम्रो सबै इन्जिनियरिङ, गणना, कंक्रिट, स्टिल र मेसिनहरूको अर्थ त्यति बेला निकै सानो हुन्छ यदि निर्णायक क्षणमा हामी एउटा मानव जीवन बचाउन सक्दैनौँ भने।
अर्को पटक हामीले एक जना मानिसको जीवन मात्र पनि बचाउन सक्यौं भने त्यसका लागि गरिएको सबै प्रयास सार्थक हुनेछ।