Showing posts tagged #flood · clear

विपदका विज्ञहरू

विपदका विज्ञहरू

अर्को अनपपुलर अपिनियन र नितान्त व्यक्तिगत अपिनियन। गाली नगर्नु होला।

नेपालमा हरेक विपदपछि टेलिभिजन, पोडकास्ट र सामाजिक सञ्जालमा विज्ञहरूको एउटा नयाँ फौज देखा पर्छ। आफ्नो विज्ञता र ज्ञान बाँड्नु नराम्रो कुरा होइन तर धेरै पटक अनुमानलाई नै निष्कर्ष जस्तो प्रस्तुत गरिन्छ। न कुनै तथ्य, न कुनै तथ्याङ्क, न कुनै प्रमाण - तिनीहरू मिडियामा उद्धृत हुनको लागि दौडेका छन्। पोस्ट-डिजास्टर विज्डम बाँड्न व्यस्त छन।

हामी वैज्ञानिक समुदायको हिस्सा हौँ र हामी देश र समुदाय प्रति जिम्मेवार हुनु पर्छ। कुनै विपदको वास्तविक कारण पत्ता लगाउन समय लाग्छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ। स्थलगत सर्वेक्षण, तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान र पीयर टु पीयर रिभ्यु आवश्यक हुन्छ। “हामीलाई अहिले थाहा छैन” भन्नु पनि विज्ञानमा पूर्ण रूपमा स्वीकार्य उत्तर हो।

अहिले आफ्नो विज्ञता जहाँ साँच्चिकै आवश्यक छ त्यहाँ प्रयोग गरौँ न। उद्धार, राहत, क्षतिको मूल्याङ्कन र सही निर्णय लिन सहयोग गरौँ न।

यदि हाम्रो उद्देश्य अनुमान र अड्कलबाजीले मिडियाका ठाउँ भर्नु मात्र हो भने विपद् क्षेत्रमा प्रचारका लागि दौडिने नेताभन्दा हामी कति फरक भयौँ? विपद व्यक्तिगत ब्रान्डिङका लागि अवसरहरू होइनन्।

अनि सबैभन्दा दुःखद कुरा त यही ज्ञानको दरिद्रताका कारण आज हामीले भर्खरै नेपाल आएका विदेशी विज्ञले के भएको रहेछ बताइदेला भनेर प्रतीक्षा गर्नुपर्छ। हाम्रा खत्रा विज्ञहरूको कुरा सुन्न विद्यार्थीहरूको समेत चासो घट्दै गएको छ।

हामीलाई साँचै मिडिया फ्रेन्डली होइन तथ्यहरू केलाउने विज्ञहरू चाहिएको छ।

विपत्ति र हाम्रो जिम्मेवारी

आज सिंगो देश विनाशकारी बाढीमा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाइरहेको छ।

विपत्ति पछि दस दिनसम्म जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना मानिसलाई जीवितै उद्धार गरिएको खबर आएको थियो। यी कठिन दिनहरूमा यस्ता खबरहरू नै हाम्रा लागि आशाको आधार बनेका छन्। अँध्यारोमा दस दिन बितिसक्दा पनि जीवनको सम्भावना बाँकी रहन सक्छ भन्ने कुराले हामीलाई आशा दिएको छ। त्यसको भोलिपल्ट अर्को एक जनालाई अर्को आयोजनाको सुरुङबाट जीवितै उद्धार गरियो। त्यसपछि बाढीले थुपारेको माटो, ढुंगा र भग्नावशेष मुनिबाट एक महिलालाई जीवितै उद्धार गरिएको खबर आयो।

हामी जस्ता जलविद्युत् आयोजनाका सुरुङमा काम गर्नेहरूका लागि यी खबरहरू अलि फरक छन् र निकै नजिकबाट नियालिरहेका हुन्छौँ। हामीलाई थाहा छ, सुरुङ कस्तो हुन्छ। सुरुङलाई बाढीले तहसनहस बनाएको अवस्थामा त्यसभित्र पस्नु, खोजी गर्नु र कसैलाई जीवितै उद्धार गर्नु कति कठिन हुन्छ भन्ने हामी बुझ्छौँ।

उद्धारको अग्रपंक्तिमा खटिनु भएका सबैलाई धन्यवाद।

हामीलाई तपाईंहरूको नाम थाहा नहुन सक्छ। तपाईंहरूले कति घण्टा काम गर्नुभयो, कति जोखिम उठाउनुभयो वा कति पटक ‘अब सम्भव छैन’ जस्तो लागेको थियो भन्ने पनि हामीलाई थाहा नहुन सक्छ। तर तपाईंहरू साँच्चिकै महान हुनुहुन्छ। तपाईंहरूले जीवन बचाउनु भएको छ।

हामीले प्रयास गरिरहनै पर्छ। अझ एक जना मानिसलाई पनि जीवितै बाहिर ल्याउन सकियो भने त्यो ठूलो उपलब्धि हुन्छ। कोही अझै जीवित हुन सक्ने सानो भन्दा सानो सम्भावना पनि बाँकी छ भने हामीले हार मान्नु हुँदैन। दिनहरू बित्दै जाँदा हाम्रो प्रयास अझ बढ्नुपर्छ, दृढता अझ बलियो हुनुपर्छ र सायद अझ धेरै चमत्कारको आशा पनि गर्नुपर्छ।

यी दिनहरूमा सबैभन्दा निराश बनाउने कुरा भनेको सत्तामा बसेका मानिसहरूले उद्धार किन हुन सकेन भनेर गरेका गैरजिम्मेवार टिप्पणीहरू हुन्। यति ठूलो विपत्ति पछि प्राविधिक रूपमा के–के सम्भव हुन्छ भन्ने कुराबारे उनीहरू अनभिज्ञ नै देखिए।

त्यस माथी पदमा बसेकाहरूबाट गरिएका केही हिरोईजम पनि मैले देखेको छु जुन नेतृत्व भन्दा पनि देखावटी जस्तो लाग्यो। कहिलेकाहीँ त उनीहरूले ऐनामा आफ्नो अनुहार हेरेर आफूले वास्तवमै सहयोग गरिरहेका छन् कि केवल तमासा गरिरहेका छन् भनेर आफैँलाई सोधून् जस्तो लाग्छ।

यो त्रासदी जलविद्युत् क्षेत्रका लागि एउटा गम्भीर पाठ बन्नुपर्छ।

हामीले संरचनाहरू कसरी डिजाइन गर्छौँ भन्ने कुरालाई गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्छ। सामान्य अवस्थामा सबै ठीक हुन्छ भनेर मात्र सोचेर पुग्दैन। अझ कठिन प्रश्न सोध्नुपर्छ -जब सबै कुरा गलत हुन्छ, त्यति बेला के हुन्छ?

यो प्रश्न विपत्ति आएपछि मात्र सोधिने हुनु हुँदैन। यिनलाई डिजाइन प्रक्रियाकै हिस्सा बनाउनुपर्छ।
किनकि अन्ततः हाम्रो सबै इन्जिनियरिङ, गणना, कंक्रिट, स्टिल र मेसिनहरूको अर्थ त्यति बेला निकै सानो हुन्छ यदि निर्णायक क्षणमा हामी एउटा मानव जीवन बचाउन सक्दैनौँ भने।

अर्को पटक हामीले एउटा जीवन मात्र पनि बचाउन सक्यौं भने त्यसका लागि गरिएको सबै प्रयास सार्थक हुनेछ।

२०८३ भदौ १०

सामान्य दिन थियो। आफ्नै काममा व्यस्त थिएँ। एक सहकर्मीले भन्यो, भोटेकोशीमा ठूलो बाढी आएछ।

मनमा पहिलो कुरा आयो, फेरि।

गत वर्ष पनि यही समयमा यही खोलामा ठूलो बाढी आएको थियो।

पहिलो भिडियो हेरेपछि मेरो शरीर नै काँप्यो।

भोटेकोशीको त्यो उर्लिएको छालले त्रिशूली बजारलाई केही क्षणमै तहसनहस बनाएको थियो। घरहरू बगिरहेका थिए। पुल एकै झट्कामा ढलेको थियो। अझ डरलाग्दो कुरा त त्यति बेला स्थानीय मानिसहरू खोला छेउको सडकमै हिँडिरहेका थिए। केही पर कस्तो विनाश भइसकेको छ उनीहरूलाई पत्तै थिएन।

फेरी प्रश्न आयो, माथिल्लो भेगमा के भयो होला?

मैले यो खोलाको किनारमा वर्षौँ काम गरेको छु। सबै बस्तीहरू झलझलती याद आयो। त्यहाँ खाना खाएको छु, रात बिताएको छु, मानिसहरूसँग भलाकुसारी गरेको छु।

बाढी आउँदैछ भन्ने सामान्य पूर्व सूचना त पाएका रहेछ तर बाढी त त्यहाँका मानिसका लागि नयाँ कुरा थिएन। पुस्तौँ देखि खोला सँगै बसेका समुदायले हरेक बाढीमा घर छोडेर भाग्न सक्दैनन्। उनीहरूलाई यति ठूलो बाढी आउँछ भन्ने कसरी थाहा होस्?

सामाजिक सञ्जालमा देखिने “समय हुँदाहुँदै किन भागेनन्?” भन्ने प्रश्नले मलाई झन् दुःखी बनाउँछ। बैठक कोठामा बसेर प्रश्न गर्न सजिलो छ तर आफूले जीवनभरि चिनेको खोला एक्कासि यस्तो राक्षस बन्छ भनेर कसरी अनुमान गर्नु?

एउटा भिडियोले मलाई भित्रैदेखि हल्लायो। मैले पहिले काम गरेको आयोजनाको क्याम्पहाउस त्यही उर्लिएको पानीले बगाइरहेको थियो। भिडियोमा मानिसहरू अन्तिम क्षणसम्म क्याम्पबाट भाग्ने प्रयास गरिरहेका देखिन्थे।

त्यहाँ काम गरेका मेरा केही सहकर्मीहरू अझै सम्पर्क विहीन छन्।

सरकारले आफ्नो काम गरिरहेको होला। उद्धार र खोजीमा मानिसहरू खटिएका होलान्। तर यति ठूलो विपत्तिका लागि हाम्रो तयारी पर्याप्त रहेनछ।

हरेक जीवनको मूल्य हुन्छ।

एउटा जीवन पनि तयारीको कमी, पूर्व सूचनाको कमजोरी वा ढिलो प्रतिक्रियाका कारण गुम्छ भने पनि प्रश्न उठ्नुपर्छ। जवाफदेहिता खोजिनुपर्छ।

लाइफ मस्ट गो अन

बाटाहरू अझै धुलाम्मे छन्, हिलाम्मे छन्। फुटपाथहरू भत्किएका छन्। बाढीले धेरैको दैनिक जीवन र व्यवसायमा गहिरो घाउ छोडेको छ तर विपत्ति आएको केही दिनमै बजार फेरि चलायमान भइसकेको छ, जनजीवन सामान्य तिर फर्किसकेको छ।

भित्तामा फेरि रङरोगन गर्ने, कार्पेट फेर्ने अनि क्याबिनेट मर्मत गर्ने जस्ता काम पछि हुँदै जाला। अहिलेका लागि उनीहरूको ध्यान नजिकिँदै गरेका चाडपर्वको तयारीमा छ।

यति ठूलो विपत्तिका बीच पनि जीवन रोकिएको छैन।

यो घटनाले धेरैको मनमा तितोपन छोडेको छ तर सँगै उनीहरूको अठोटलाई अझ बलियो पनि बनाएको छ। कठिन समयमा राज्यले साथ नदिए पनि एकअर्कामा र आफ्नै क्षमतामा भरोसा गर्न सकिने रहेछ भन्ने विश्वास उनीहरूले अझ मजबुत बनाएका छन्।

पुनर्निर्माण सरकारी पहलका कारण होइन बरु सरकारको अनुपस्थितिका बाबजुद भइरहेको छ।

बाढी पछिको पुनर्स्थापनाको यात्रामा एउटा कुरा भने स्पष्ट भएको छ: सरकारको अनुपस्थित थियो तर समुदायको थिएन। उनीहरूले आफ्नो भविष्यको जिम्मेवारी आफ्नै हातमा लिएका छन्। आफूले पाउनुपर्ने सहयोग नपाए पनि उठेर अघि बढ्ने साहस र क्षमता उनीहरूसँग छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

विपत्ति पछि सरकार सक्रिय हुन्छ भन्ने अपेक्षा गरिने संसारमा हाम्रो कथा फरक छ। जब अर्को कुनै विकल्प बाँकी रहँदैन, जनता आफैं उठ्छन्। उनीहरू फेरि निर्माण गर्छन्, परिस्थिति अनुसार आफूलाई ढाल्छन् र सबै चुनौती सहेर अघि बढ्छन्।

कोही साथमा होस् वा नहोस्।

आखिर लाइफ मस्ट गो अन।

विपदमा आत्मीयता

नदी अस्वाभाविक रूपमा बस्तीहरूतर्फ बगेको हो कि हामीले नै बाढी आउने क्षेत्रमै घरहरू बनाएका हौँ भन्ने विषयमा बहस गर्न सकिन्छ र त्यो बहस आवश्यक पनि छ।

यद्यपि हाल त्यसमा केन्द्रित हुने समय होइन। दोषारोपण गर्नुको सट्टा हामी एकजुट हुनुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ र विपत्तिबाट प्रभावित भएकाहरूलाई सहयोग गर्नुपर्छ। धेरै मानिसहरूले ठूलो क्षति र कठिनाइ भोगिरहेका छन्, त्यसैले यो समय एकता र सहानुभूतिको हो। यस कठिन घडीमा सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सहयोग, साथ र प्रार्थना गरौँ।

यस्ता समयमा के गल्ती भयो वा किन भयो भन्ने बहसमा अल्झिन सजिलो छ तर अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेको आवश्यकतामा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ र सबैको सुरक्षा तथा हित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायका रूपमा एकजुट भएर एकअर्काको साथमा उभिनु हो।