Showing posts tagged #flood · clear

२०८३ भदौ १०

सामान्य दिन थियो। आफ्नै काममा व्यस्त थिएँ। एक सहकर्मीले भन्यो, भोटेकोशीमा ठूलो बाढी आएछ।

मनमा पहिलो कुरा आयो, फेरि।

गत वर्ष पनि यही समयमा यही खोलामा ठूलो बाढी आएको थियो।

पहिलो भिडियो हेरेपछि मेरो शरीर नै काँप्यो।

भोटेकोशीको त्यो उर्लिएको छालले त्रिशूली बजारलाई केही क्षणमै तहसनहस बनाएको थियो। घरहरू बगिरहेका थिए। पुलहरू एकै झट्कामा ढलिरहेका थिए। अझ डरलाग्दो कुरा त स्थानीय मानिसहरू खोला छेउको सडकमा हिँडिरहेका थिए। केही पर कस्तो विनाश भइसकेको छ उनीहरूलाई पत्तै थिएन।

फेरी प्रश्न आयो, माथिल्लो भेगमा के भयो होला?

मैले यो खोलाको किनारमा वर्षौँ काम गरेको छु। सबै बस्तीहरू झलझलती याद आयो। त्यहाँ खाना खाएको छु, रात बिताएको छु, मानिसहरूसँग भलाकुसारी गरेको छु।

बाढी आउँदैछ भन्ने सामान्य पूर्व सूचना त पाएका रहेछ तर बाढी त त्यहाँका मानिसका लागि नयाँ कुरा थिएन। पुस्तौँ देखि खोला सँगै बसेका समुदायले हरेक बाढीमा घर छोडेर भाग्न सक्दैनन्। उनीहरूलाई यति ठूलो बाढी आउँछ भन्ने कसरी थाहा होस्?

सामाजिक सञ्जालमा देखिने “समय हुँदाहुँदै किन भागेनन्?” भन्ने प्रश्नले मलाई झन् दुःखी बनाउँछ। बैठक कोठामा बसेर प्रश्न गर्न सजिलो छ तर आफूले जीवनभरि चिनेको खोला एक्कासि यस्तो राक्षस बन्छ भनेर कसरी अनुमान गर्नु?

एउटा भिडियोले मलाई भित्रैदेखि हल्लायो। मैले पहिले काम गरेको आयोजनाको क्याम्पहाउस त्यही उर्लिएको पानीले बगाइरहेको थियो। भिडियोमा मानिसहरू अन्तिम क्षणसम्म क्याम्पबाट भाग्ने प्रयास गरिरहेका देखिन्थे।

त्यहाँ काम गरेका मेरा केही सहकर्मीहरू अझै सम्पर्क विहीन छन्।

सरकारले आफ्नो काम गरिरहेको होला। उद्धार र खोजीमा मानिसहरू खटिएका होलान्। तर यति ठूलो विपत्तिका लागि हाम्रो तयारी पर्याप्त रहेनछ।

हरेक जीवनको मूल्य हुन्छ।

एउटा जीवन पनि तयारीको कमी, पूर्व सूचनाको कमजोरी वा ढिलो प्रतिक्रियाका कारण गुम्छ भने पनि प्रश्न उठ्नुपर्छ। जवाफदेहिता खोजिनुपर्छ।

लाइफ मस्ट गो अन

बाटाहरू अझै धुलाम्मे छन्, हिलाम्मे छन्। फुटपाथहरू भत्किएका छन्। बाढीले धेरैको दैनिक जीवन र व्यवसायमा गहिरो घाउ छोडेको छ तर विपत्ति आएको केही दिनमै बजार फेरि चलायमान भइसकेको छ, जनजीवन सामान्य तिर फर्किसकेको छ।

भित्तामा फेरि रङरोगन गर्ने, कार्पेट फेर्ने अनि क्याबिनेट मर्मत गर्ने जस्ता काम पछि हुँदै जाला। अहिलेका लागि उनीहरूको ध्यान नजिकिँदै गरेका चाडपर्वको तयारीमा छ।

यति ठूलो विपत्तिका बीच पनि जीवन रोकिएको छैन।

यो घटनाले धेरैको मनमा तितोपन छोडेको छ तर सँगै उनीहरूको अठोटलाई अझ बलियो पनि बनाएको छ। कठिन समयमा राज्यले साथ नदिए पनि एकअर्कामा र आफ्नै क्षमतामा भरोसा गर्न सकिने रहेछ भन्ने विश्वास उनीहरूले अझ मजबुत बनाएका छन्।

पुनर्निर्माण सरकारी पहलका कारण होइन बरु सरकारको अनुपस्थितिका बाबजुद भइरहेको छ।

बाढी पछिको पुनर्स्थापनाको यात्रामा एउटा कुरा भने स्पष्ट भएको छ: सरकारको अनुपस्थित थियो तर समुदायको थिएन। उनीहरूले आफ्नो भविष्यको जिम्मेवारी आफ्नै हातमा लिएका छन्। आफूले पाउनुपर्ने सहयोग नपाए पनि उठेर अघि बढ्ने साहस र क्षमता उनीहरूसँग छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

विपत्ति पछि सरकार सक्रिय हुन्छ भन्ने अपेक्षा गरिने संसारमा हाम्रो कथा फरक छ। जब अर्को कुनै विकल्प बाँकी रहँदैन, जनता आफैं उठ्छन्। उनीहरू फेरि निर्माण गर्छन्, परिस्थिति अनुसार आफूलाई ढाल्छन् र सबै चुनौती सहेर अघि बढ्छन्।

कोही साथमा होस् वा नहोस्।

आखिर लाइफ मस्ट गो अन।

विपदमा आत्मीयता

नदी अस्वाभाविक रूपमा बस्तीहरूतर्फ बगेको हो कि हामीले नै बाढी आउने क्षेत्रमै घरहरू बनाएका हौँ भन्ने विषयमा बहस गर्न सकिन्छ र त्यो बहस आवश्यक पनि छ।

यद्यपि हाल त्यसमा केन्द्रित हुने समय होइन। दोषारोपण गर्नुको सट्टा हामी एकजुट हुनुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ र विपत्तिबाट प्रभावित भएकाहरूलाई सहयोग गर्नुपर्छ। धेरै मानिसहरूले ठूलो क्षति र कठिनाइ भोगिरहेका छन्, त्यसैले यो समय एकता र सहानुभूतिको हो। यस कठिन घडीमा सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सहयोग, साथ र प्रार्थना गरौँ।

यस्ता समयमा के गल्ती भयो वा किन भयो भन्ने बहसमा अल्झिन सजिलो छ तर अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेको आवश्यकतामा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ र सबैको सुरक्षा तथा हित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायका रूपमा एकजुट भएर एकअर्काको साथमा उभिनु हो।