गलत रिकमेन्डेसन्

कहिल्यै आफूलाई मन परेको सामान, फिल्म वा रेस्टुरेन्ट साथीलाई रिकमेन्ड गर्नुभएको छ?

अनि साथीले निराश हुँदै - “ह्या, खासै राम्रो छैन!” भनेको।

यस्तो सुन्दा नरमाइलो लाग्छ जबकि तपाईंले त आफूलाई मन परेको कुरा मात्र शेयर गर्न खोज्नुभएको थियो।

तपाईंका लागि राम्रो भएको कुरा सबैका लागि राम्रो नहुन सक्छ। हाम्रो स्वाद, आवश्यकता र अपेक्षा फरक हुन्छन्। समस्या के हो भने आफूलाई कुनै कुरा धेरै मन परेको बेला हामी त्यसलाई अलि बढी नै ‘हाइप’ गरिदिन्छौँ। अनि उसको एक्स्पेक्टेसन् बढ्छ। वास्तविक अनुभव सामान्य मात्र भयो भन, अन्ततः दोष तपाईंको रिकमेन्डेसन् माथि आउँछ।

कहिलेकाहीँ मेरो लागि राम्रो कुरा, अरूका लागि सही नहुन सक्छ। यो हाम्रो मानवीय स्वभाव हो।

ब्रिलियन्त, गर्ल्स!

हामी स्कुल पढ्दाका दिनमा नेपाली सिनियर क्रिकेट टोली खासै राम्रो थिएन। सानो लक्ष्य पछ्याउन पनि गाह्रो पर्थ्यो, त्यसैले नेपाल खेल्दा धेरै आशा हुँदैनथ्यो।

यो बीच एउटा टोलीले सधैं आशा जगाइरह्यो – उमेर समुहको यू-१९ टोली। उनीहरूले पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता क्रिकेट शक्तिहरूलाई हराएको अझै सम्झना छ। ती युवा खेलाडीहरूले नेपालमा क्रिकेटप्रतिको मोह नै बदलिदिए र हजारौं बालबालिकालाई क्रिकेटर बन्ने सपना देखाए।

आज घर आएर यू-१९ नेपाली महिला टोलीले पाकिस्तानलाई हराएको हाइलाइट्स हेर्दा फेरि त्यही याद ताजा भयो। जितपछि मैदानमै निहुरेर खुसी साट्दै गरेका ती छोरीहरू देख्दा आँखा रसाए। सायद यो नेपाली महिला क्रिकेटको नयाँ सुरुवात हो। जसरी यू-१९ केटाहरूले एक पुस्तालाई प्रेरित गरेका थिए त्यसरी नै यी छोरीहरूले पनि लाखौं नेपाली बालिकालाई ब्याट समात्ने सपना देखाउनेछन् भन्ने आशा छ।

एक समय क्रिकेट लाग्नेबित्तिकै टिभी बन्द गर्ने देश, आज नेपाल खेल्दा पुरै रंगशाला भरिन्छ। अझै धेरै काम गर्न बाँकी छ तर यस्ता जितहरूले भविष्यप्रति आशावादी बनाउँछन्।

लाइफ मस्ट गो अन

बाटाहरू अझै धुलाम्मे छन्, हिलाम्मे छन्। फुटपाथहरू भत्किएका छन्। बाढीले धेरैको दैनिक जीवन र व्यवसायमा गहिरो घाउ छोडेको छ तर विपत्ति आएको केही दिनमै बजार फेरि चलायमान भइसकेको छ, जनजीवन सामान्य तिर फर्किसकेको छ।

भित्तामा फेरि रङरोगन गर्ने, कार्पेट फेर्ने अनि क्याबिनेट मर्मत गर्ने जस्ता काम पछि हुँदै जाला। अहिलेका लागि उनीहरूको ध्यान नजिकिँदै गरेका चाडपर्वको तयारीमा छ।

यति ठूलो विपत्तिका बीच पनि जीवन रोकिएको छैन।

यो घटनाले धेरैको मनमा तितोपन छोडेको छ तर सँगै उनीहरूको अठोटलाई अझ बलियो पनि बनाएको छ। कठिन समयमा राज्यले साथ नदिए पनि एकअर्कामा र आफ्नै क्षमतामा भरोसा गर्न सकिने रहेछ भन्ने विश्वास उनीहरूले अझ मजबुत बनाएका छन्।

पुनर्निर्माण सरकारी पहलका कारण होइन बरु सरकारको अनुपस्थितिका बाबजुद भइरहेको छ।

बाढी पछिको पुनर्स्थापनाको यात्रामा एउटा कुरा भने स्पष्ट भएको छ: सरकारको अनुपस्थित थियो तर समुदायको थिएन। उनीहरूले आफ्नो भविष्यको जिम्मेवारी आफ्नै हातमा लिएका छन्। आफूले पाउनुपर्ने सहयोग नपाए पनि उठेर अघि बढ्ने साहस र क्षमता उनीहरूसँग छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

विपत्ति पछि सरकार सक्रिय हुन्छ भन्ने अपेक्षा गरिने संसारमा हाम्रो कथा फरक छ। जब अर्को कुनै विकल्प बाँकी रहँदैन, जनता आफैं उठ्छन्। उनीहरू फेरि निर्माण गर्छन्, परिस्थिति अनुसार आफूलाई ढाल्छन् र सबै चुनौती सहेर अघि बढ्छन्।

कोही साथमा होस् वा नहोस्।

आखिर लाइफ मस्ट गो अन।

कपाल काटने समय

कपाल काट्न प्रायः म कार्यालय समय पछि मंगलबार साँझको समय रोज्छु। हाम्रो ठाउँमा मानिसहरू मंगलबारको दिन कपाल कटाउने काम गर्दैनन्। यसै कारण मंगलबार सैलुनहरू अलि खाली हुन्छ र आफूलाई केही अतिरिक्त समय र आराम मिल्छ।

मलाई लामो कपाल सुहाउँदैन, त्यसैले नियमित रूपमा कपाल काट्छु। मेरो लागि कपाल काट्नु भनेको केवल कपाल छोट्याउनु मात्र होइन, यो सानो शारीरिक र मानसिक विश्राम पनि हो। दैनिक व्यस्तताबाट केही समय टाढा भएर आफूलाई हल्का महसुस गर्ने अवसर।

जब हेयरड्रेसरले कपाल काट्न सुरु गर्छन् त्यसमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। ट्रिमरको आवाज, कैंचीको खटखट र वरिपरिको मन्द गफगाफले छुट्टै माहोल बनाउँछ। कपालसँगै तनाव पनि काटिएर गएको जस्तो लाग्छ। टाउको हल्का हुने गरी मसाज पाए जस्तै लाग्छ।

व्यस्त दिनमा आफूलाई फेरि ताजा बनाउने सबैभन्दा सस्तो उपाय सायद कपाल काट्नु नै हो।

धन्यवाद, पलेशा!

पलेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्समा कांस्य पदक जितेर इतिहास रचिन्। यो ओलम्पिक स्तरको प्रतियोगितामा नेपालले जितेको पहिलो पदक हो र अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली खेलाडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता।

आज उनको नाम घरदेखि चियापसलसम्म, कार्यालयदेखि बसपार्कसम्म सबैको मुखमा छ। यो केवल एउटा पदक होइन, सिंगो देशले अनुभव गरेको गर्वको क्षण हो।

नेपालको विविधताले गर्दा हामी धेरै अवसरमा विभाजित हुन्छौं तर खेलकुदले ती सबै सीमाना मेटाइदिन्छ। क्रिकेट होस्, भलिबल होस् वा प्याराखेल – जब नेपाल जित्छ, हामी सबै एउटै टोलीका समर्थक बन्छौँ।

धन्यवाद, पलेशा।

तपाईंले केवल पदक जित्नुभएन, नेपाललाई इतिहास र एउटै खुसी बाँड्ने अवसर पनि दिनुभयो।

विपदमा आत्मीयता

नदी अस्वाभाविक रूपमा बस्तीहरूतर्फ बगेको हो कि हामीले नै बाढी आउने क्षेत्रमै घरहरू बनाएका हौँ भन्ने विषयमा बहस गर्न सकिन्छ र त्यो बहस आवश्यक पनि छ।

यद्यपि हाल त्यसमा केन्द्रित हुने समय होइन। दोषारोपण गर्नुको सट्टा हामी एकजुट हुनुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ र विपत्तिबाट प्रभावित भएकाहरूलाई सहयोग गर्नुपर्छ। धेरै मानिसहरूले ठूलो क्षति र कठिनाइ भोगिरहेका छन्, त्यसैले यो समय एकता र सहानुभूतिको हो। यस कठिन घडीमा सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सहयोग, साथ र प्रार्थना गरौँ।

यस्ता समयमा के गल्ती भयो वा किन भयो भन्ने बहसमा अल्झिन सजिलो छ तर अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेको आवश्यकतामा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ र सबैको सुरक्षा तथा हित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायका रूपमा एकजुट भएर एकअर्काको साथमा उभिनु हो।

बजेट ग्याजेट

JBL ले हालै नेपालमा Go4 नामको सानो ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय युट्युब टेक रिभ्युवरहरूले यसलाई राम्रो बजेट स्पिकर भनेका छन् र नेपाली रिभ्युवरहरू पनि यसलाई बजेट स्पिकर भनेरै प्रस्तुत गरेका छन्।

अमेरिकामा प्रति व्यक्ति आय ३५ हजार डलर भन्दा बढी छ भने नेपालमा करिब १५ सय डलर मात्र। अमेरिकामा ६० डलरको ग्याजेट बजेट समूहमा होला तर यहाँ पनि त्यही शब्द जस्ताको तस्तै प्रयोग गर्नु कति उपयुक्त होला? यसले धेरै टेक रिभ्युवरहरूले देश अनुसारको आर्थिक वास्तविकता नबुझी बाहिरको रिभ्यु र चल्तीका शब्दहरू मात्रै दोहोर्याइरहेको जस्तो देखाउँछ।

वा, वास्तविकता नै भिन्नै छ? हुन सक्छ नेपालमा पनि मानिसहरूले यस्ता महँगा ग्याजेट सहजै किनिरहेका छन् र हाम्रो खर्च गर्ने शक्ति निकै बढिसकेको छ? अनि यस्ता महँगा सामानमा खर्च गर्न नसक्ने मान्छे म मात्रै हुँ?

आज पनि २० हजार रुपैयाँको मोबाइल किन्न मैले २० वटा रिभ्यु भिडियो हेरेको सम्झना ताजै छ।

फियर अफ फिनिश लाइन

मोबाइल एपको सहायताले कहिलेकाहीँ योगका आसनहरू गर्छु। एपले प्रत्येक आसनका लागि टाइमर चलाउँछ। प्ल्याङ्क, लो बोट जस्ता केही आसनमा भने एउटा अनौठो कुराको अनुभव हुन्छ। एपले ‘आधा समय बाँकि’ भनेपछि मन आत्तिन थाल्छ। शरीर भन्दा पहिले दिमाग थाक्छ। बाँकी समय कसरी कटाउने भन्ने चिन्ताले आसन अझ कठिन लाग्न थाल्छ र धेरै पटक अन्त्यसम्म पुग्नुअघि नै हार मान्छु। समस्या गाह्रो आसनको भन्दा पनि अन्त्यसम्म टिक्न नसक्ने डरको जस्तो लाग्छ।

केही दिन अघि टी–२० विश्वकपमा नेपालको दक्षिण अफ्रिका सँग खेल थियो। खेल सुरु हुनु अघि दक्षिण अफ्रिकालाई हराउने कल्पना पनि हामी धेरैले गरेका थिएनौं। त्यस खेलमा नेपालले उनीहरूलाई सानो स्कोरमै रोकेको थियो र त्यसपछि जित्ने अपेक्षा एकाएक चुलियो। एक समयमा त विन प्रेडिक्टरले नेपालको जित्ने सम्भावना ९५ प्रतिशत देखाइरहेको थियो। तर अन्तिम क्षणमा हामी केवल एक रनले हार्यौं। इतिहास रच्ने अवसर आँखै अगाडि आएर पनि अन्तिम रेखा पार गर्न सकेनौं।

माथिका दुइटा कुरा नितान्त फरक हुन् तर एउटा अफ्ठ्यारो समानता देखिन्छ। कहिलेकाहीँ सबै भन्दा कठिन कुरा सुरुवात गर्नु होइन, अन्तिममा केही कदम बाँकी हुँदा त्यसलाई पूरा गर्ने मानसिक दबाब सहनु हो। जित नजिकिँदै जाँदा हारको डर पनि त्यत्तिकै ठूलो हुँदै जान्छ। योगको आसन होस् वा क्रिकेटको लक्ष्य, कहिलेकाहीँ प्रतिद्वन्द्वी हाम्रो क्षमता वा विपक्षी टोली होइन, अन्तिम रेखा देखे पछि अस्थिर हुने आफ्नै मन हुन्छ।

लुम्बिनी

धेरै वर्ष पछि लुम्बिनीको पवित्र भूमिमा आउने फेरि मौका मिल्यो।

कामको सिलसिलामा भैरहवा पुगेको थिएं, फ्लाइट पनि बिहान कै भएको हुनाले पाँच बजे नै उठेर यता पुगियो। बिहानै भएकोले धेरै ठाउँ खुल्ला थिएन। बिहान ध्यानको समय भएकोले सबै ठाउँ पसेर डिस्टर्ब गर्ने सोच भएन।

ह्याप्पी रेडियो डे!

हामी स्कुलमा हुँदा एफएम रेडियो हाम्रो दैनिकीको ठूलो हिस्सा थियो। सानो ब्याट्रीबाट चल्ने रेडियो हुनु नै गर्वको कुरा लाग्थ्यो। आफ्ना गीत बजाइदिन भनेर हातैले बनाएको कार्ड रेडियो स्टेशनमा पुर्‍याउने, आरजेलाई फोन गर्न रिडायल बटन घोट्ने अनि आफ्नो नाम रेडियोमा सुन्ने खुसीको कुनै तुलना थिएन।

रेडियोले नै हामीलाई पहिलो पटक पश्चिमी संगीतसँग परिचित गरायो। निर्भाना, मेटालिका, इगल्स, बब मार्ले, ब्याकस्ट्रिट बोइज, बोइजोन, माइकल ज्याक्सन, माइकल लर्न्स टु रक, स्पाइस गर्ल्स, आदि इत्यादी… उनीहरूको पोस्टर कोठाभरि टाँसिन्थ्यो, क्यासेट किनिन्थ्यो, गीतका शब्दहरू कण्ठ पारिन्थे। त्यसैले हाम्रो पुस्ताको संगीत रुचि निर्माण गर्न रेडियोको भूमिका निकै ठूलो थियो।

आज इन्टरनेटले सबै कुरा बदलिदिएको छ। जुनसुकै गीत जुनसुकै बेला सुन्न सकिन्छ। केही समय अघि एफएम बज्ने एउटा साधारण फोन किनेँ र फेरि रेडियो सुन्न थालें। काठमाडौंमा अहिले त धेरै रेडियो स्टेशन रहेछन्, केही पुराना पनि बाँकि छन्। तर पुरानै स्टेशनका आरजेका आवाज पनि चिनिएनन्। कार्यक्रम पनि पहिले जस्तो लागेन।

सायद रेडियो बदलिएको हो। सायद म नै त्यो दुनियाँबाट धेरै टाढा आइसकेँ।