Showing posts tagged #nepal · clear

अलिकति मर्यादा कायम राखौँ न

अघिल्ला प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्र संघको महासभा वा अरू कुनै अन्तर्राष्ट्रिय मञ्चमा के बोले भन्ने मलाई खासै चासो थिएन। अहिलेका प्रधानमन्त्रीले के बोले भन्नेमा पनि सुरुमा कुनै चासो थिएन। म एउटा साधारण नागरिक हुँ, आफ्नै दैनिक झमेलामा व्यस्त छु। तर यस पटक सामाजिक सञ्जाल अचानक प्रधानमन्त्रीको UNGA सम्बोधनको पक्ष र विपक्षमा विभाजित भयो। मेरो टाईमलाइन नै त्यही बहसले भरियो।

अन्ततः भिडियो खोजेर हेरें।

साँचो भन्नु पर्दा समर्थकहरूले ताली पिटे जस्तो कुनै असाधारण कुरा मैले देखिनँ। अनि आलोचकहरूले भने जस्तो कुनै ठूलो गल्ती पनि देखिनँ। मेरो लागि त्यो एउटा सामान्य, नियमित अन्तर्राष्ट्रिय सम्बोधन थियो।

म यति बौद्धिक पनि छैन, बुझ्न सकूँ कि प्रधानमन्त्रीको भाषणका हरेक कूटनीतिक शब्द र सन्दर्भको गहिराइ। तर यति मूर्ख पनि छैन, सोचूँ कि उहाँको एउटा भाषण सुनेपछि अन्तर्राष्ट्रिय समुदायले अचानक नेपाललाई गम्भीरतापूर्वक लिन थाल्छ भन्ने।

एउटा कुरा चाहिँ निकै असहज लाग्यो - UNGA हलभित्र नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको व्यवहार। ताली बजाउने, हल्ला गर्ने, भिडियो खिच्ने शैली हेर्दा त्यो संयुक्त राष्ट्र संघको महासभा हो कि कलेजको फेरवेल कार्यक्रम वा कमेडी शो हो भन्ने छुट्याउन गाह्रो भयो। प्रतिनिधिमण्डलमा बसेका मानिसहरूले भविष्यमा कम्तीमा अन्तर्राष्ट्रिय मञ्चको न्यूनतम मर्यादा चाहिँ कायम राखून्।

हरेक क्षण रेकर्ड गरेर, हरेक प्रतिक्रिया सामाजिक सञ्जालमा देखाएर हामी आफैंले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा तमासा बनाइरहेका त छैनौँ?

विद्युतीय गाडी बारे प्रश्नहरू

धेरै सामान्य नेपाली परिवारको साझा सपना हो एउटा घर, अनि एउटा चारपाङ्ग्रे गाडी किन्नु। पैतृक सम्पत्ति छैन भने त राम्रो आम्दानी हुने परिवारका लागि पनि किन्ने मूल्य देखि लिएर वार्षिक कर, बीमा, दैनिक खर्च र मर्मत-सम्भारका कारण गाडीको स्वामित्व सजिलो कुरा होइन। सायद यही कारणले नेपालमा विद्युतीय गाडी (EV) आकर्षक बनेका छन्। कर छुट, विभिन्न वित्तीय योजना र पेट्रोल–डिजेलको तुलनामा निकै कम सञ्चालन खर्चले चारपाङ्ग्रे गाडी धेरै परिवारको पहुँचमा आएको छ।

केही दिनअघि चितवनमा गुडिरहेको एउटा EV मा आगलागी भयो। त्यसका भिडियो र तस्विरले साँच्चिकै झस्कायो। सामाजिक सञ्जालमा ठूलो चर्चा भयो तर मूलधारका सञ्चार माध्यम, सरकारी निकाय वा सम्बन्धित निर्माता/ वितरकबाट भने खासै प्रतिक्रिया आएन। त्यो चाहिँ चिन्ताको विषय हो।

नयाँ चारपाङ्ग्रे गाडी किन्न खोज्ने धेरै नेपाली परिवार अहिले EV लाई नै विकल्पका रूपमा हेरिरहेका छन्। हालैका अटो शोहरूले पनि यही ट्रेन्ड देखाउँछन्। एउटा घटनाका आधारमा समग्रमा EV असुरक्षित छन् भन्ने भाष्य बनाउनु हुन्न तर यसले एउटा ठूलो प्रश्न भने उठाउँछ, के EV हरू वास्तवमै नेपालको सडकको लागि उपयुक्त छन्? किनभने हाम्रा सडकहरू गर्व गर्न लायकका पक्कै छैनन्।

त्यसैले EV क्रान्तिको उत्सव मनाउनु अघि केही असहज प्रश्नहरू सोध्नैपर्छ।

  • के EV हरू इलेक्ट्रोनिक प्रणालीमा यति धेरै निर्भर छन् कि ब्याट्रीमा वा अन्यत्र आगलागी हुँदा ढोका खोल्ने जस्तो आधारभूत काम समेत प्रभावित हुन सक्छ?
  • सस्तो वा व्यावसायिक रूपमा आकर्षक भएकै कारण हामी कमजोर सुरक्षा रेकर्ड भएका ब्रान्डहरू आयात गरिरहेका त छैनौँ?
  • नेपालका खाल्टाखुल्टी, उकालो–ओरालो, असमान सडक र निर्माणाधीन सडकका लागि केही EV को ग्राउन्ड क्लियरेन्स पर्याप्त छ? न्यूनतम ग्राउन्ड क्लियरेन्स कति हुनुपर्छ भन्ने स्पष्ट सरकारी मापदण्ड नै छ?
  • हाम्रा चार्जिङ स्टेशनहरू सही तरिकाले जडान र नियमित मर्मत र नियमन भएका छन्?
  • नेपालमा EV आगलागीको स्वतन्त्र अनुसन्धान गर्ने र त्यसको निष्कर्ष सार्वजनिक गर्ने व्यवस्था छ? EV मा आगलागी हुँदा अनुसन्धान कसले गर्छ: निर्माता, वितरक, बीमा कम्पनी, सरकारी निकाय कि कसैले पनि गर्दैन?
  • हामी नेपालका लागि EV परीक्षण गरिरहेका छौँ कि फरक सडक, फरक मौसम, फरक पूर्वाधार र फरक आपत्कालिन प्रणाली भएका देशका लागि डिजाइन गरिएका गाडीहरू नेपालमा ल्याएर ‘चलिहाल्छन्’ भनेर मानिरहेका छौँ?
  • EV का स्पेयर पार्टहरू सजिलै उपलब्ध छन्? र उपलब्ध भए पनि सामान्य ग्राहकले किन्न सक्ने मूल्यमा छन्? हाम्रा सर्भिस सेन्टरमा EV का विशेष समस्या पहिचान र मर्मत गर्न पर्याप्त तालिम प्राप्त प्राविधिक छन्? महँगो मर्मत-सम्भारका कारण कतिपय EV मालिकले नियमित सर्भिसिङ नै बेवास्ता गरिरहेका त छैनन्?
  • अनि सबैभन्दा महत्वपूर्ण प्रश्न, EV चलाउनेहरूलाई आफ्नो गाडीमा भएका सुरक्षा प्रणाली र आपत्कालिन अवस्थामा अपनाउनुपर्ने प्रक्रियाबारे पर्याप्त जानकारी छ?

नेपालले पेट्रोलियम पदार्थ आयात गर्न ठूलो रकम खर्च गर्छ। EV को प्रयोग बढ्दा इन्धन आयात घटाउन, व्यापार घाटाको दबाब कम गर्न र अन्ततः यातायातको खर्च घटाउन मद्दत गर्न सक्छ। तर सस्तो यातायातको नाममा मानिसको सुरक्षासँग सम्झौता गर्न सकिँदैन।

यदि तपाईं आफ्नो दैनिक सवारीका रूपमा EV किन्न सोच्दै हुनुहुन्छ भने केवल रेन्ज, छुट र फाइनान्सिङ हेरेर मात्र निर्णय नगर्नुस्।

नेपालमा EV क्रान्ति सुरु भइसकेको छ। हाम्रा सडक, नियम, सर्भिस नेटवर्क र हाम्रा गाडीहरू; सबै यो क्रान्तिका लागि तयार छन् कि छैनन्?

महिला मात्रका लागि बिदा

नेपाल विविधताले भरिएको देश हो र यो विविधता यहाँको चाडपर्व र सार्वजनिक बिदाले भरिएको क्यालेन्डरमा देखिन्छ। यी मध्ये धेरै चाडपर्व कुनै खास क्षेत्र, समुदाय वा धर्मसँग सम्बन्धित छन्। त्यसैले राष्ट्रिय पर्व बाहेक सरकारले क्षेत्र र समुदाय विशेषका लागि बिदा घोषणा गर्छ, जस्तै काठमाडौं उपत्यकाका लागि, लुम्बिनी प्रदेशका लागि, पहाडी क्षेत्रका लागि, मुस्लिम/इसाई धर्मावलम्बीका लागि, नेवार/किरात समुदायका लागि, आदि। कुनै विशेष समुदायका मानिसहरू त्यस दिन काममा आउन नसक्ने भए पनि देशको दैनिक कामकाज भने अरू सबैका लागि चलिरहनुपर्छ भन्ने उद्देश्य ठीक हो।

तर दुईवटा बिदा, अन्तर्राष्ट्रिय महिला दिवस र तीज, यी दुवै महिला मात्रका लागि बिदा घोषणा गरिएका छन्। यहीँनेर मलाई यसको तर्क बुझ्न अलि गाह्रो हुन्छ। काम गर्ने जनशक्तिको झन्डै आधा हिस्सा नै अनुपस्थित हुँदा कुनै व्यवसाय सामान्य रूपमा कसरी चल्ने हो? यो कुरा सरकारी कार्यालयमा मात्र सीमित छैन; निजी कम्पनीहरूले पनि यही अभ्यास पछ्याउँछन्।

केही दशकअघि यो कुरा अर्थपूर्ण थियो जब रोजगारीमा महिलाको सहभागिता निकै कम थियो। तर आजको समयमा महिलाहरू बिना कार्यस्थल सहज रूपमा चल्नै गाह्रो हुन्छ। त्यसैले मलाई असहज बनाउने कुरा बिदा आफैँभन्दा पनि यसको पछाडिको सोच हो, मानौं तपाईंहरू एक दिन काममा नआए पनि सबै कुरा ठिकठाक चलिहाल्छ भन्ने मौन सन्देश।

गरिबी र गल्ती

प्रिय सरकारको शक्तिशाली कुर्सीमा बस्ने शक्तिशाली व्यक्तिहरू, हामीले तपाईंबाट धेरै आशा गरेका थियौँ, छौं। तपाईंहरूले सुशासनको वाचा गर्नुभएको थियो। भुई मान्छेका दुःख दर्द सुनिनेछन् भन्नुभएको थियो।

हिजो राजविराजमा जे भयो त्यो सुशासनको लज्जाको विषय थियो।

एउटी गर्भवती महिलाले पैसा तिर्न नसकेकै कारण सरकारी अस्पतालमा उपचार पाइनन्। अन्ततः उनले अस्पतालको आँगनमा खुला आकाश मुनि बच्चा जन्माउनुपर्यो।

यो कसरी सम्भव हुन्छ? यो अस्पतालको असफलता मात्र होइन। यो हाम्रो संस्था, हाम्रो प्रणाली र अन्ततः मानवताको लागि लाजमर्दो कुरा हो।

मलाई थाहा छैन तपाईं यसलाई कसरी प्रतिरक्षा गर्नुहुन्छ। मलाई थाहा छैन तपाईं अब के गर्नुहुन्छ। मलाई थाहा छैन कसैलाई जवाफदेही बनाइनेछ कि छैन।

हामीले सरकारमा बस्नेहरुको अनुहार फेर्यौं तर नयाँ अनुहारहरू पनि त्यही एलिट वर्गकै हुन् भन्ने कुरा बुझ्न सकेनौँ। एउटा गम्भीर प्रश्न, के तपाईंहरू साँच्चै दुःख गरेर बाँचिरहेको साधारण नेपालीको जीवन बुझ्नुहुन्छ?

प्रिय शक्तिशाली मानिसहरू, प्लीज रोक्नुहोस्।

जसको सेवा र संरक्षण गर्ने वाचा गर्नुभएको थियो उनीहरूलाई यसरी अविभावक बिहीन हुनबाट रोक्नुहोस्।

प्लीज, हरेक हप्ता यस्तो अमानवीय समाचारबाट हाम्रो मगज र आत्मा यसरी नहल्लाइदिनुहोस्।

एउटा महान व्यक्तिको भनाइ यता राखेँ: तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।

गल्ती हाम्रै हो!

आफ्नो ठाउँको प्रशंसा

आफ्नो ठाउँको प्रशंसा

टिकटक इन्स्टल गरेँ। केही भिडियो स्क्रोल गर्दै जाँदा एउटा पश्चिमी देशकी आमा–छोरी नेपाल घुमिरहेको भिडियोमा अडिएँ। उनीहरू नेपालको बारे यति राम्रा कुरा गरिरहेका थिए कि सुन्दा नै मन खुसी भयो। आफ्नो ठाउँको कसैले खुलेर प्रशंसा गर्दा अचम्मकै राम्रो लाग्ने रहेछ।

अझै स्क्रोल गर्दै गएँ। धेरै भारतीय पर्यटकहरू पनि नेपाल बारे राम्रा कुरा गरिरहेका थिए। आल्गोरिदमले कुरा बुझि हाले। त्यसपछि अरू देशका पर्यटकहरूका भिडियोहरू पनि आए। उनीहरू यहाँको सिभिक सेन्स, सार्वजनिक सुरक्षा, सरसफाइ, मिलनसार समाज, सडक संस्कृति, खाना र यस्तै धेरै कुराको प्रशंसा गरिरहेका थिए।

पर्यटकहरूले नेपाललाई हिमाल-पहाड भन्दा बाहिर पनि चिन्न थालेका रहेछन्।

त्यस पछि मनमा एउटा जिज्ञासा भयो। के म उनीहरूले देखिरहेको त्यही देशमा बसिरहेको छु?

सायद हामी काँडाहरू मात्र हेर्न यति व्यस्त भयौं कि फुलेको गुलाफको फूल देख्न छोड्यौँ।

कि मैले कुरो नबुझेको हो?

असहज विचार

यो सायद अनपपुलर अपिनियन हुन सक्छ।

जब कुनै नेपालीमूलको व्यक्तिले विदेशमा ठूलो सफलता हासिल गर्छ, हामीले उसलाई लगभग तुरुन्तै “हाम्रो मान्छे” भनेर स्वीकार गर्छौ चाहे उसले विदेशी नागरिकता नै किन नलिएको होस्। विश्व मञ्चमा कम प्रभाव भएको हाम्रो जस्तो देशले यस्ता व्यक्तिहरू मार्फत “हामी पनि विश्वस्तरमा छौं” भन्ने अनुभूति गर्छ। उनीहरूलाई “हाम्रो मान्छे” स्वीकार गर्न कुनै जोखिम पनि हुँदैन किनभने उनीहरू यहाँको सामाजिक जटिलताको हिस्सा हुँदैनन्। उनीहरू समाचारका शीर्षक र इन्स्टाग्राम पोस्टहरूमा मात्र देखिन्छन्। जिल्ला प्रशासन कार्यालयको लाइनमा उभिएर राष्ट्रिय परिचयपत्र बनाउन आएका हुँदैनन्।

तर देश भित्रै भने पहिचान र अपनत्व बारेका बहसहरू धेरै जटिल छन। हामी आफ्नै मान्छेहरूलाई रंग, अनुहारको बनौट र लवजको कारण विदेशी हो कि भनेर शंका गर्छौ।

फोन किन्ने कसरत

पोर्ट बिग्रिएर चार्ज नहुने अवस्थामा पुगेपछि नयाँ फोन लिने निर्णय लिएँ। यस पाली एक लाख सम्मको राम्रो क्यामेरा अनि अरू फीचर्स भएको फोन लिने भए। नयाँ ग्याजेट्स र प्रविधि बारे त्यति धेरै जानकारी नभएकोले सुरुमा नयाँ फोन किन्दा के-के हेर्ने गूगल गरेर शर्तलिस्ट तयार पारे। स्न्यापड्रागन् ८ जेन-ठूलो नम्बर, डिडिआर-ठूलो नम्बर, युएफएस-ठूलो नम्बर, एमोलेड, टेलिफोटो जस्ता गाह्रो-गाह्रो शब्द याद गरे। आफूले आफैंलाई एजुकेट गरें। युट्यूबमा गएर दुई-चार वटा भिडियो पनि हेरें। फोनको मोडेलहरूको पनि लिस्ट बनाए। अनि फोनको मूल्य देखाउने वेबसाइट तिर गए।

अचम्म, एक लाख रुपैयाँमा मैले याद गरेका प्राविधिक शब्द मिल्ने एउटै फोन फेला परेन। त्यसको लागि कम्तीमा अर्को ५० हजार खर्चिनू पर्ने रैछ। एक लाखमा त मात्र मिड-रेञ्ज भन्ने फोन आउने रैछ। मिड-रेञ्ज नामैले मध्यम वर्ग। कुनैमा क्यामेरा राम्रो भए अरू फीचर्स नराम्रो, शर्तलिस्टमा भएको धेरै कुरा टिक नहुने। मलाई लाग्थ्यो एक लाख भनेको थुप्रो पैसा हो। आई वाज लिभिङ अन्डर अ रक।

साथीहरूले सुझाए कि अनलाइन हेरेर हुन्न, अफलाइन बजारमा बार्गेन गरेर किन्ने। कुरा सही हो। यही बहनामा फोन छोएर, चलाएर हेर्न पाइने। पसलमा सेल्स टार्गेट पुर्याउनु पर्ने भएकोले थोरै बढी डिस्काउन्ट दिने रैछ। तैपनी चित्त बुझ्ने फोन मेरो पहुँच भन्दा बाहिर थियो। पसले बहिनीले नागरिकता दियो भने फोन किस्तामा पाइने अप्सन दिए। फूल क्यास दिने र भ्याट बिल नलिने भए थप एक्स्ट्रा डिस्काउन्ट को अप्सन पनि दिए। दिक्क लाग्यो, इरिटेट भए। एक लाख बजेट हुँदा पनि मेरो लागि राम्रो फोन बजारमा थिएन। अनि फर्किए।

घर छेउको मर्मत गर्ने ठाउँमा आफ्नो पुरानो फोन देखाए। पोर्ट फेर्न १२०० रुपैयाँ लाग्ने भयो। मलाई थाहा छ एकचोटी कुनै पार्ट फेरेपछि फोन टिक्दैन। तर म सँग अरू अप्सन छैन। जति टिक्छ, पुरानै फोन चलाउने।

पहाडी हवाई यात्रा

पहाडी हवाई यात्रा

पर्यटन मन्त्रीले हालै पहाडी विमानस्थलहरूमा उडान घट्नुको प्रमुख कारण पर्याप्त यात्रु नभएको बताएका छन्। उहाँको भनाइ पूर्ण रूपमा गलत भने होइन तर यसले समस्याको धेरै ठूलो पक्षलाई बेवास्ता गर्छ। आम नागरिकलाई दोष दिन सजिलो छ तर वास्तविक समस्यालाई स्वीकार्नु त्यति सजिलो छैन।

मानिसहरू जोखिमपूर्ण पहाडी राजमार्गमा घण्टौँ, कहिलेकाहीँ दिनौँसम्म यात्रा गर्न रुचाउँछन् भन्ने होइन। उनीहरू त्यसो गर्न बाध्य छन् किनभने हवाई टिकट अत्यन्त महँगो छ, उडान तालिका भरपर्दो छैन र आवश्यक परेको बेला टिकट वा उडान दुबै नै उपलब्ध हुँदैन।

यदि मन्त्रीले सरकारले सञ्चालन गर्ने वायुसेवासँग STOL (छोटो दूरीमा उडान तथा अवतरण गर्न सक्ने) विमानस्थलमा उड्न मिल्ने केवल दुईवटा विमान छन् र तीमध्ये एउटा मात्र सञ्चालन योग्य अवस्थामा छ भन्ने स्वीकार्नु भयो भने त्यसको जवाफ पनि दिनुपर्छ। यदि उहाँले यस्ता विमान सञ्चालन गर्ने निजी वायुसेवा पनि दुई–तीनवटामा सीमित छन् र उनीहरूले प्रायः एभरेस्ट जस्ता बढी आम्दानी हुने रुटलाई प्राथमिकता दिन्छन् भन्नुभयो भने अझ धेरै प्रश्न उठ्नेछन्। र यदि उहाँले सामान्य यात्रुले टिकट पाउनै मुस्किल हुने किनभने धेरै सिट पहुँच र चिनजानका आधारमा बाँडिने गरेको यथार्थ स्वीकार्नु भयो भने बहसको दिशा नै बदलिनेछ।

प्रादेशिक राजधानी सुर्खेतबाट मुगु करिब २८० किलोमिटर मात्र टाढा छ। यो दूरी सडकमार्गबाट पार गर्न दुई दिन लाग्छ त्यो पनि निकै कठिन र असहज यात्रा पछि। सरकारी वायुसेवाले हप्तामा एकपटक मात्र यहाँ उडान गर्छ र त्यो पनि मौसमको कारण देखाएर पटक–पटक रद्द हुन्छ। यस्तो अवस्थामा मानिसहरूले भर पर्न नसकिने हवाई सेवामा किन विश्वास गर्ने?

मुगु जस्ता दुर्गम जिल्लाका लागि नियमित र भरपर्दो हवाई सेवा कुनै विलासिता होइन, लाइफलाइन हो जहाँ आपतकालीन स्वास्थ्य सेवा समेत सहज उपलब्ध छैन। समयमै हुने एउटा उडानले जीवन र मृत्यु बीचको फरक समेत बनाउन सक्छ।

त्यसैले यात्रु पुगेन भन्ने निष्कर्षमा पुग्नु अघि एउटा प्रश्न सोध्नु आवश्यक छ, के हामीले वास्तवमै आम मानिसले विश्वास गर्न सक्ने हवाई सेवा प्रदान गरेका छौँ?

राजमार्गको दृश्यहरू

अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्ड एक्सप्रेसवे जस्तै देखिन्छ तर सायद हैन। किनभने हरेक दिन जुनसुकै समयमा तपाई त्यो सडक प्रयोग गर्नुहोस् तपाई देख्नुहुनेछ सामानले भरिएका ठेलागाडा धकेलिरहेका मानिसहरू, मालसामान बोकेका साइकलहरू, जथाभावी सडक काट्ने पैदल यात्रीहरू, कुदिरहेको मोटरसाइकलमा एउटा हातमा मोबाइलमा कुरा गर्दै गरेका चटकी डेरडेभिलहरू र सार्वजनिक बसहरू आफूलाई जहाँ मन लाग्यो त्यहीँ रोकेको ।

यी मध्ये कुनै पनि कुरा सुरक्षित होइन र यी मध्ये कुनै पनि मुख्य सडकमा हुनुपर्ने होइन। त्यसका लागि दुवै किनारामा सर्भिस लेन बनाइएका छन्। तर ती सर्भिस लेनहरूको अवस्था यति दयनीय छ कि तिनिहरू व्यवहारमा पार्किङ स्थल जस्तै बनेका छन्। सर्भिस लेनका धेरै खण्ड त हालसम्म बनेको छैन। यो सडक बनेको एक दशक भन्दा बढी भइसकेको छ। यस अवधिमा धेरै सरकार आए र गए तर सर्भिस लेनहरू उस्तै बेवास्तामा परेका छन्।

किन यो विषय महत्वपूर्ण छ भने काठमाडौं एउटा प्राइमेट सिटी हो जुन चारै तिर साथसाथै माथि तिर पनि फैलिरहेको छ जसको आफ्नै भौगोलिक र भौगर्भिक सीमितता छ। भविष्यमा काठमाडौं फैलिएर छिमेकी जिल्लाको बनेपा र धुलिखेलसम्म पुग्छ। हुनत यी बजारहरूलाई जोड्ने सडक पूर्वाधार पनि निर्माण हुँदैछ। तर त्यो भविष्य हाल बनिरहेको पूर्वाधार तयार भए पनि नभए पनि आउँदैछ।

उपत्यका केवल यहाँका करिब २० लाख स्थायी बासिन्दाको मात्र घर होइन। विद्यार्थी, आप्रवासी श्रमिक, दैनिक आवतजावत गर्ने यात्रु, पर्यटक, तथा स्वास्थ्य सेवा वा प्रशासनिक कामका लागि आउने मानिसहरूलाई समेत जोड्ने हो भने उपत्यकाको वास्तविक कार्यात्मक जनसंख्या ५० लाखको हाराहारीमा पुग्छ र ती सबै मानिस यस्तै सडकहरूमा निर्भर छन्। यसको लागि पनि यो सडकको उचित व्यवस्थापन आवश्यक छ।

ठूला र महत्वाकांक्षी परियोजनाका सपना हामी देख्दै गरौला। अहिलेका लागि त हामीलाई केवल यति चाहिएको हो कि बनेको/भएको सडकले साँच्चिकै नै काम गरोस्।

खेल भावनाको सम्मान

केही दिन अघि जब नेपाली महिला क्रिकेट टोलीले एक अन्तर्राष्ट्रिय खेलमा टाइम आउटका कारण भुटानी खेलाडीलाई डिसमिस गर्‍यो, सामाजिक सञ्जाल एक्कासि तात्यो र केही समयमै खेलाडीहरूलाई खलनायक जस्तै चित्रित गर्यो।

खासमा जब खेलाडीहरूको करियर, करार र देशको नाम नै दाउमा लागेको हुन्छ त्यस्तो अवस्थामा उनीहरूले केवल खेल भावना र विवेकका आधारमा आफैँलाई नियन्त्रण गर्नुपर्छ भन्ने अपेक्षा गर्नु वास्तवमै अव्यावहारिक कुरा हो। हामी दर्शकहरूले घरमा आरामसँग बसेर “खेल भावनाको सम्मान गर” भन्न सक्छौं किनकी हामीले गुमाउनुपर्ने केही हुँदैन तर खेलाडीहरूको अवस्था त्यस्तो हुँदैन।

कुनै पनि खेलको भावना जोगाउने नैतिक जिम्मेवारी नियम बनाउने निकाय र निर्णायकहरूको हो। खेलाडीको काम भनेको नियमले दिएको सीमाभित्र रहेर जित्ने प्रयास गर्नु हो।

यस विवादका बीच नेपाल क्रिकेट संघ अगाडि आयो, भुटानी क्रिकेट समक्ष माफी माग्यो, आलोचनाको भार आफैँले वहन गर्‍यो र आफ्ना खेलाडीहरू माथिको दबाब कम गर्‍यो, ठ्याक्कै एउटा खेलकुद संघले गर्नुपर्ने काम यही हो।

अनि नेपालको ५१ रनको विजय त्यस विवादित क्षणको कारण नभई हामीहरू सो खेलमा स्पष्ट रूपमा उत्कृष्ट टोली थियौँ।