कार्तिक नाच

कार्तिक नाच

झन्डै ४०० वर्षदेखि निरन्तर चली आएको पाटन दरबार स्क्वायरको अगाडि सार्वजनिक मञ्चमा प्रस्तुत गरिने कार्तिक नाच परम्परा नृत्य, नाटक र संगीतको अद्वितीय संयोजन हो।

कार्तिक नाचको सुरुवात सन् १६४१ मा राजा सिद्धिनरसिंह मल्लले गरेका थिए। समयसँगै यो मल्ल राजाहरूका तीन पुस्ताले संरक्षण र विकास गर्दै आएको महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा स्थापित भयो।

राजा सिद्धिनरसिंह मल्लले सुरुमा ८ दिनसम्म कार्तिक नाच प्रदर्शन गराएका थिए। उनका छोरा श्रीनिवास मल्लले यसको अवधि बढाएर १५ दिन पुर्‍याए। त्यसपछि उनका नाति योगनरेन्द्र मल्लले यसलाई विस्तार गर्दै पूरै एक महिनासम्म चल्ने परम्पराका रूपमा स्थापित गरे।

जीवन मरणको क्षण

जीवन मरणको क्षण

पुर्व-पश्चिम राजमार्गमा हामी मध्यम गतिमै यात्रा गरिरहेका थियौँ। एक्कासि चालकले गाडी माथिको नियन्त्रण गुमाए। गाडी सडकबाट चिप्लिएर छेउको नालामा खस्यो। त्यो एक क्षणमा सबै कुरा शून्यजस्तै भयो। हाम्रो टोलीका एक सदस्य गम्भीर रूपमा घाइते भए तर भाग्यवश हामी सबैको ज्यान बच्यो। गाडी नालामा नअड्केको भए सायद सडकबाट १० मि तल झर्थ्यो।

त्यो घटनाले हाम्रो जीवन कति नाजुक छ भन्ने गहिरो अनुभूति गरायो। सामान्य देखिने एउटा यात्रा र ठूलो दुर्घटना बीचको दूरी केवल एक क्षणको मात्र हुँदो रहेछ।

जलमग्न पाटन

जलमग्न पाटन

बच्चा बेला देखि महापाल एरिया यस्तै देख्छु। अली ठूलो पानी पर्यो की खोला बग्छ। यो समस्याको समाधान कसैले गर्न सकेन। सानो ढल भएको कारण यस्तो भएको हो भन्ने कुरा बुझ्न गाह्रो छैन।

रोड कन्सर्ट

रोड कन्सर्ट

कुमारीपाटी महोत्सव र् एक्स-मन्त्रको रोड कन्सर्ट

Nokia Lumia 625

उत्सुक स्थानीयहरू

उत्सुक स्थानीयहरू

हामीले सर्भे गर्ने यन्त्र देखेर प्राय ठाउँमा मान्छेहरूले प्रश्न गर्छन ।

ओखलढुंगा २०१४ । Samsung WB-35F

इमानदार क्षण

एउटा जुनियर ट्राफिक प्रहरीले हामी चढेको बस रोकेर बढी यात्रु बोकेको र सिट नियम विपरीत परिवर्तन गरेको भन्दै चालकलाई समाते। केही बेरमा त्यहाँ एक जना सिनियर अफिसर आइपुगे। उनले चालकसँग छुट्टै एकान्तमा कुरा गरे र त्यसपछि कुनै थप कारबाही नगरी हामीलाई जान दिए।

कानुन कार्यान्वयन गर्ने साहस देखाएको ती युवा प्रहरीलाई भने सलाम। हाम्रो सडकमा यस्तो दृश्य विरलै देख्न पाइन्छ।

यदि यस्ता इमानदार युवा प्रहरीलाई प्रोत्साहन र साथ दिन सके राजमार्गको यात्रामा साँच्चिकै सकारात्मक परिवर्तन आउन सक्छ।

स्टेडियममा फुटबल

स्टेडियममा फुटबल

लामो समय पछि स्टेडियममै बसेर फुटबल हेर्ने मौका मिल्यो। न्यानो घाम अनि दर्शकले खचाखच भरिएको दशरथ रङ्गशाला, फुटबल हेर्नका लागि सबै कुरा उपयुक्त थियो र मैदानको माहोल साँच्चै रमाइलो थियो। एनआरटी र नेपाल पुलिस क्लब बीचको खेल १–१ को बराबरीमा टुङ्गियो।

मेरो साथीहरूको सर्कलमा नेपाल पुलिस सबैभन्दा कम रुचाइने क्लब हो तर स्टेडियम भित्र उनीहरूकै समर्थनमा सबैभन्दा ठूलो आवाज सुनिन्थ्यो। पछि किन रहेछ भन्ने बुझियो। स्टेडियमका दर्शक-दीर्घामा ठूलो संख्यामा वर्दी लगाएका प्रहरीहरू बसेर पुलिस क्लबको पक्षमा हुटिंग लगाइरहेका थिए।

कल्पना गर्नुहोस् तपाईं एनआरटीको समर्थक हुनुहुन्छ तर वरिपरि वर्दीधारी प्रहरीहरू विपक्षी टोलीको समर्थनमा चिच्याइरहेका छन्। यस्तो वातावरणले सर्वसाधारणलाई खुला रूपमा आफ्नो टोलीको समर्थन गर्न असहज बनाउँछ। फुटबलमा यस्तो अवस्था हुनु हुँदैन।

अर्को कुरा, यहाँ सार्वजनिक स्थानमा धूम्रपान निषेध छ भन्ने मेरो बुझाइ थियो। तर स्टेडियम भित्र मानिसहरू खुलेआम चुरोट सल्काइरहेका थिए, मानौँ त्यो नियम नै छैन।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेका प्रहरीहरू त्यहीँ केही सिट पर बसेका थिए। उनीहरूको आँखै अगाडि सार्वजनिक स्थानमा धूम्रपान भइरहेको थियो। तर ती प्रहरीहरू नियम नमान्नेलाई रोक्नु भन्दा आफ्नै टोलीको समर्थनमा नारा लगाउन केन्द्रित देखिन्थ्यो।

हाम्रा धेरै नियम कानुनका किताबमा मात्र सीमित छन्। ती लागू हुन्छन् कि हुँदैनन् भन्ने कुरा प्रायः लागू गराउनेहरूको इच्छामै भर पर्छ।

वाइल्ड नाइट

मेरो एउटा विस् थियो, एकदिन तिलपिल खाएर पूरै नकआउट हुनु। त्यो इच्छा हिजो दोलालघाटमा गएर पूरा भयो।

यस्तो अनुभव अत्यन्तै खराब हुने रहेछ! करिब ६ घण्टा त म बेहोस जस्तै भएछु। चार जना साथीहरु मिलेर बल्ल बोक्न सके मलाई अनि होटेलको बेड सम्म पुर्याए।

अब चाहिँ एउटा वाचा गर्छु, अब यस्तो समय फेरी कहिल्यै आउने छैन।

अनि मेरा सबै साथीहरूलाई धन्यवाद। यो मेरो जीवनकै सबैभन्दा सम्झन लायक घुमघाम मध्ये एक बनाइदियौ।

जुकाको टोकाई

जुकाको टोकाई

मलाई जुका पटक्कै मन पर्दैन तर जुकालाई भने मसँग विशेष लगाव छ जस्तो लाग्छ! केही दिन अघि हामी चाकु खोला आयोजनाको ड्याम साइट पुग्न पैदल गएका थियौँ। वर्षा भइरहेको थियो अनि जुकाको शिकार हुने म मात्रै भएँ। जुका शरीर भरि टाँसिएका थिए। एउटा–एउटा निकाल्दै जाँदा २८ वटा पुगेपछि त मैले गन्नै छोडिदिएँ।

यो मेरो लागि नयाँ कुरा भने होइन। वर्षायाममा हरेक पटक हिँड्दा रगतले लतपतिएका खुट्टा लिएर फर्किने म मात्रै हुन्छु अरू सबै भने जुकाको टोकाइबाट प्राय जोगिएर आउँछन्। सायद म उकालोमा अलि बिस्तारै हिँड्ने भएकाले होला वा मेरो रगतमा नै जुकालाई मन पर्ने केही विशेष कुरा छ।

बन्दै गरेको पुल

बन्दै गरेको पुल

स्याफ्रुबेंसीमा त्रिशुली नदि पार गर्न बन्दै गरेको पुल

रसुवा २०११ Panasonic DMC-FX36