काठमाडौं र कालिकोट

मेरा आमाबुबा केही दिन अघि पश्चिम नेपालको केही पहाडी जिल्ला पुगेर फर्कनुभयो। उहाँहरूले त्यहाँ विद्यालय जानका लागि साना बच्चाहरू साँघुरा र जोखिमपूर्ण सडक किनार हुँदै दिनहुँ हिँड्न बाध्य भएको दृश्य देखेर निकै दुखी हुनुभयो।

घर फर्किएपछि बुबाले भन्नुभयो, “यसको तुलनामा त काठमाडौं स्वर्ग जस्तै रहेछ।”

म पनि त्यही समय कालिकोटमा सञ्चालित एउटा प्रोजेक्टको फिल्डवर्क सकेर फर्केको थिएँ।

कालिकोटबाट सुर्खेत फर्कने क्रममा एक सहकर्मीले निकै भावुक हुँदै भनिन्, “कालिकोट नै वास्तविक नेपाल हो।“

उनको त्यो भनाइसँग म पूर्ण रूपमा सहमत भएँ।

कालिकोट यति दुर्गम जिल्ला हो कि हाम्रो प्रोजेक्टसम्म पुग्न सडकबाट कम्तीमा दुई दिन पैदल हिँड्नु पर्थ्यो। खाद्यान्न अभाव त्यहाँको दैनिक यथार्थ हो। शिक्षाको अवस्था पनि अत्यन्त कमजोर छ। स्वास्थ्य सेवा अत्यन्त कमजोर छ। न बिजुली छ न सुरक्षित खानेपानी। हामी फिल्डमा काम गर्नेहरूले समेत खुला ठाउँमै दिसा गर्नुपर्ने अवस्था थियो। त्यो क्षेत्र अझै सामान्य विकासको प्रतीक्षामा छ।

यता काठमाडौं अर्कै संसार जस्तो लाग्छ। सबै सुविधा यहीँ केन्द्रित भएकाले सबैको चाहना यहीँ बस्ने हुन्छ। हामीले काम गरेको संस्था पनि सुरुमा जुम्लामा दर्ता भएतापनि पछि आफ्नो मुख्य कार्यालय ललितपुर सार्यो। यसले पनि अवसर र स्रोतहरू कसरी काठमाडौं उपत्यका तर्फ केन्द्रित हुँदै गएका छन् भन्ने देखाउँछ।

त्यसैले काठमाडौं नेपालको राजधानी त हो तर यसले सम्पूर्ण नेपालको वास्तविक चित्र प्रस्तुत गर्दैन। मेरी सहकर्मीको “कालिकोट नै वास्तविक नेपाल हो” भन्ने भनाइले यही यथार्थलाई उजागर गर्छ।

यति भन्दै गर्दा पनि दुई ठाउँको एउटा समानता छ। मानसिकता, अवसर र जीवनशैलीमा फरक भए पनि दुवैतिरका मानिसहरू राम्रो जीवन, शिक्षा, स्वास्थ्य र सम्मानजनक भविष्यकै खोजीमा छन्।

स्कूलको एसम्बली

स्कूलको एसम्बली

सानी बहिनी स्कूल जाँदै गरेकी

कालिकोट २०१०। Panasonic Lumix DMC-FX36

निराशाजनक हार

घर छेउको थ्री स्टार क्लब भारतमा भएको प्रतियोगितामा १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। के कारणले हो थाहा भएन आयोजकहरूले त्यो खेल फेरि खेल्नुपर्ने निर्णय गर्यो। क्लबले पनि त्यो निर्णय स्वीकार गर्‍यो। फेरि खेलिएको खेलमा भने क्लब पराजित भयो।

मैले फुटबलको माथिल्लो स्तरको प्रतियोगितामा यसरी खेल फेरि खेलाइएको घटना सुनेको थिइनँ। विश्वकप २०१० छनोटको फ्रान्स–आयरल्यान्ड प्लेअफमा भएको चर्चित “हेन्ड अफ हेनरी” घटना पछि सबैले र स्वयं थियरी हेनरीले समेत पुनः खेलको माग गरेका थिए। त्यति बेला पनि खेल दोहोरिएन। फुटबलमा एक पटक खेल सकिए पछि त्यसको नतिजा नै अन्तिम मानिन्छ र यही सिद्धान्तले खेलको विश्वसनीयता कायम राखेको हुन्छ।

यही कारणले थ्री स्टार क्लबले पुनः खेल्न सहमत भएको कुरा साह्रै निराशाजनक लाग्यो। यस्तो अपमानजनक निर्णय स्वीकार गर्नुको सट्टा प्रतियोगिताबाट त्यति खेर बाहिरिनु नै उचित हुन्थ्यो भन्ने मेरो विचार हो। विदेशी आयोजकहरूको दबाब अघि क्लब झुकेको दुःखद छ।

सूर्यास्त

सूर्यास्त

अरुण नदीको किनाराबाट खिचिएको सूर्यास्तको दृश्य

Picasa मा कलर एडिट गरिएको। भोजपुर २०१०। Panasonic Lumix DMC-FX36

बिहानीको टोयोटा

बिहानीको टोयोटा

रसुवाको मैलुङ गाउँमा बिहानी पख पार्क गरेको प्राधिकारणको टोयोटा

रसुवा २००९ Nikon Coolpix L1