Showing posts tagged #lifestyle · clear

गलत रिकमेन्डेसन्

कहिल्यै आफूलाई मन परेको सामान, फिल्म वा रेस्टुरेन्ट साथीलाई रिकमेन्ड गर्नुभएको छ?

अनि साथीले निराश हुँदै - “ह्या, खासै राम्रो छैन!” भनेको।

यस्तो सुन्दा नरमाइलो लाग्छ जबकि तपाईंले त आफूलाई मन परेको कुरा मात्र शेयर गर्न खोज्नुभएको थियो।

तपाईंका लागि राम्रो भएको कुरा सबैका लागि राम्रो नहुन सक्छ। हाम्रो स्वाद, आवश्यकता र अपेक्षा फरक हुन्छन्। समस्या के हो भने आफूलाई कुनै कुरा धेरै मन परेको बेला हामी त्यसलाई अलि बढी नै ‘हाइप’ गरिदिन्छौँ। अनि उसको एक्स्पेक्टेसन् बढ्छ। वास्तविक अनुभव सामान्य मात्र भयो भन, अन्ततः दोष तपाईंको रिकमेन्डेसन् माथि आउँछ।

कहिलेकाहीँ मेरो लागि राम्रो कुरा, अरूका लागि सही नहुन सक्छ। यो हाम्रो मानवीय स्वभाव हो।

लाइफ मस्ट गो अन

बाटाहरू अझै धुलाम्मे छन्, हिलाम्मे छन्। फुटपाथहरू भत्किएका छन्। बाढीले धेरैको दैनिक जीवन र व्यवसायमा गहिरो घाउ छोडेको छ तर विपत्ति आएको केही दिनमै बजार फेरि चलायमान भइसकेको छ, जनजीवन सामान्य तिर फर्किसकेको छ।

भित्तामा फेरि रङरोगन गर्ने, कार्पेट फेर्ने अनि क्याबिनेट मर्मत गर्ने जस्ता काम पछि हुँदै जाला। अहिलेका लागि उनीहरूको ध्यान नजिकिँदै गरेका चाडपर्वको तयारीमा छ।

यति ठूलो विपत्तिका बीच पनि जीवन रोकिएको छैन।

यो घटनाले धेरैको मनमा तितोपन छोडेको छ तर सँगै उनीहरूको अठोटलाई अझ बलियो पनि बनाएको छ। कठिन समयमा राज्यले साथ नदिए पनि एकअर्कामा र आफ्नै क्षमतामा भरोसा गर्न सकिने रहेछ भन्ने विश्वास उनीहरूले अझ मजबुत बनाएका छन्।

पुनर्निर्माण सरकारी पहलका कारण होइन बरु सरकारको अनुपस्थितिका बाबजुद भइरहेको छ।

बाढी पछिको पुनर्स्थापनाको यात्रामा एउटा कुरा भने स्पष्ट भएको छ: सरकारको अनुपस्थित थियो तर समुदायको थिएन। उनीहरूले आफ्नो भविष्यको जिम्मेवारी आफ्नै हातमा लिएका छन्। आफूले पाउनुपर्ने सहयोग नपाए पनि उठेर अघि बढ्ने साहस र क्षमता उनीहरूसँग छ भन्ने कुरा फेरि प्रमाणित भएको छ।

विपत्ति पछि सरकार सक्रिय हुन्छ भन्ने अपेक्षा गरिने संसारमा हाम्रो कथा फरक छ। जब अर्को कुनै विकल्प बाँकी रहँदैन, जनता आफैं उठ्छन्। उनीहरू फेरि निर्माण गर्छन्, परिस्थिति अनुसार आफूलाई ढाल्छन् र सबै चुनौती सहेर अघि बढ्छन्।

कोही साथमा होस् वा नहोस्।

आखिर लाइफ मस्ट गो अन।

कपाल काटने समय

कपाल काट्न प्रायः म कार्यालय समय पछि मंगलबार साँझको समय रोज्छु। हाम्रो ठाउँमा मानिसहरू मंगलबारको दिन कपाल कटाउने काम गर्दैनन्। यसै कारण मंगलबार सैलुनहरू अलि खाली हुन्छ र आफूलाई केही अतिरिक्त समय र आराम मिल्छ।

मलाई लामो कपाल सुहाउँदैन, त्यसैले नियमित रूपमा कपाल काट्छु। मेरो लागि कपाल काट्नु भनेको केवल कपाल छोट्याउनु मात्र होइन, यो सानो शारीरिक र मानसिक विश्राम पनि हो। दैनिक व्यस्तताबाट केही समय टाढा भएर आफूलाई हल्का महसुस गर्ने अवसर।

जब हेयरड्रेसरले कपाल काट्न सुरु गर्छन् त्यसमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। ट्रिमरको आवाज, कैंचीको खटखट र वरिपरिको मन्द गफगाफले छुट्टै माहोल बनाउँछ। कपालसँगै तनाव पनि काटिएर गएको जस्तो लाग्छ। टाउको हल्का हुने गरी मसाज पाए जस्तै लाग्छ।

व्यस्त दिनमा आफूलाई फेरि ताजा बनाउने सबैभन्दा सस्तो उपाय सायद कपाल काट्नु नै हो।

बजेट ग्याजेट

JBL ले हालै नेपालमा Go4 नामको सानो ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय युट्युब टेक रिभ्युवरहरूले यसलाई राम्रो बजेट स्पिकर भनेका छन् र नेपाली रिभ्युवरहरू पनि यसलाई बजेट स्पिकर भनेरै प्रस्तुत गरेका छन्।

अमेरिकामा प्रति व्यक्ति आय ३५ हजार डलर भन्दा बढी छ भने नेपालमा करिब १५ सय डलर मात्र। अमेरिकामा ६० डलरको ग्याजेट बजेट समूहमा होला तर यहाँ पनि त्यही शब्द जस्ताको तस्तै प्रयोग गर्नु कति उपयुक्त होला? यसले धेरै टेक रिभ्युवरहरूले देश अनुसारको आर्थिक वास्तविकता नबुझी बाहिरको रिभ्यु र चल्तीका शब्दहरू मात्रै दोहोर्याइरहेको जस्तो देखाउँछ।

वा, वास्तविकता नै भिन्नै छ? हुन सक्छ नेपालमा पनि मानिसहरूले यस्ता महँगा ग्याजेट सहजै किनिरहेका छन् र हाम्रो खर्च गर्ने शक्ति निकै बढिसकेको छ? अनि यस्ता महँगा सामानमा खर्च गर्न नसक्ने मान्छे म मात्रै हुँ?

आज पनि २० हजार रुपैयाँको मोबाइल किन्न मैले २० वटा रिभ्यु भिडियो हेरेको सम्झना ताजै छ।

ह्याप्पी रेडियो डे!

हामी स्कुलमा हुँदा एफएम रेडियो हाम्रो दैनिकीको ठूलो हिस्सा थियो। सानो ब्याट्रीबाट चल्ने रेडियो हुनु नै गर्वको कुरा लाग्थ्यो। आफ्ना गीत बजाइदिन भनेर हातैले बनाएको कार्ड रेडियो स्टेशनमा पुर्‍याउने, आरजेलाई फोन गर्न रिडायल बटन घोट्ने अनि आफ्नो नाम रेडियोमा सुन्ने खुसीको कुनै तुलना थिएन।

रेडियोले नै हामीलाई पहिलो पटक पश्चिमी संगीतसँग परिचित गरायो। निर्भाना, मेटालिका, इगल्स, बब मार्ले, ब्याकस्ट्रिट बोइज, बोइजोन, माइकल ज्याक्सन, माइकल लर्न्स टु रक, स्पाइस गर्ल्स, आदि इत्यादी… उनीहरूको पोस्टर कोठाभरि टाँसिन्थ्यो, क्यासेट किनिन्थ्यो, गीतका शब्दहरू कण्ठ पारिन्थे। त्यसैले हाम्रो पुस्ताको संगीत रुचि निर्माण गर्न रेडियोको भूमिका निकै ठूलो थियो।

आज इन्टरनेटले सबै कुरा बदलिदिएको छ। जुनसुकै गीत जुनसुकै बेला सुन्न सकिन्छ। केही समय अघि एफएम बज्ने एउटा साधारण फोन किनेँ र फेरि रेडियो सुन्न थालें। काठमाडौंमा अहिले त धेरै रेडियो स्टेशन रहेछन्, केही पुराना पनि बाँकि छन्। तर पुरानै स्टेशनका आरजेका आवाज पनि चिनिएनन्। कार्यक्रम पनि पहिले जस्तो लागेन।

सायद रेडियो बदलिएको हो। सायद म नै त्यो दुनियाँबाट धेरै टाढा आइसकेँ।

किताब पढ्ने बानी

हामी आजकल फुर्सदको समय टिभी, भिडियो गेम वा सामाजिक सञ्जालमै बिताउन खोज्छौं। किताब पढ्ने बानी भने बिस्तारै हराउँदै गएको जस्तो लाग्छ। यसको एउटा ठूलो कारण किताबको मूल्य पनि हो। धेरैका लागि किताब किन्न सजिलो छैन र सार्वजनिक पुस्तकालय पनि पर्याप्त छैनन्। त्यसैले किताब किनेरै पढ्ने धेरैका लागि आवश्यकता होइन विलासीता जस्तो देखिन्छ। जब घरमै पढ्ने संस्कार हुँदैन नयाँ पुस्ताले पनि त्यो बानी सिक्दैन।

अहिले एउटा सकारात्मक परिवर्तन देखिन्छ। विशेषगरी काठमाडौंमा अनलाइनमार्फत केही सय रुपैयाँमै लोकप्रिय पुस्तकका किफायती (काउन्टरफिट) संस्करणहरू पाइन्छन्। सबैले मूल संस्करण (प्राय महँगो) किन्न सक्दैनन् तर सस्तो पुस्तकले पनि पढ्ने बानी बसाल्न सक्छ भने त्यो आफैँमा ठूलो कुरा हो।

डिजिटल विचलनले भरिएको समयमा किताब पढ्ने बानी झन् महत्त्वपूर्ण बनेको छ। ज्ञान र कल्पनाशक्ति बढाउने सबैभन्दा सस्तो लगानी मध्ये एउटा अझै पनि किताब नै हो।

नो मोर नेपाली फिल्म्स

एक समय थियो म नेपाली फिल्मको रेगुलर दर्शक थिएँ।

२०१० को दशकको सुरुवात तिर कथा, अभिनय, संगीत र प्रविधिमा नेपाली सिनेमाले ठूलो फड्को मारेको थियो। लुट, टलकजंग भर्सेस टुल्के, जात्रा, कबड्डी, साँघुरो जस्ता फिल्महरूले हल भरि भराउ हुन्थे र म पनि महिनामा कम्तीमा एउटा नेपाली फिल्म छुटाउँदिनथेँ।

हामीले नहेरे कसले हेर्छ त भन्ने भावना थियो।

बिस्तारै धेरै कलाकार र निर्माताले हामी दर्शकलाई हल्का लिन थाले। लगातार खत्तम फिल्महरू आए। केही फिल्म त यति कमजोर थिए कि डर लाग्नुपर्ने दृश्यमा हल भरि हाँसो गुञ्जिन्थ्यो। त्यसपछि मैले नेपाली फिल्म हेर्नै छोडेँ।

कोभिडपछि त हल जानु पनि लगभग बन्द भयो। अहिले धेरै नेपाली फिल्म तीन दिन टिक्न नसकेको खबर सुनिन्छ। साथीहरू फेरि नयाँ छक्का पन्जा हेर्न जाऔँ भन्छन् तर मसँग पहिलेको जस्तो उत्साह छैन।

यस बीच केही राम्रा नेपाली फिल्महरू छुटे तर निराशाको त्यो लामो श्रृंखलाले मलाई अझैसम्म हल फर्किन मन लाग्न दिएको छैन।

भासिएका मूर्तिहरू

भासिएका मूर्तिहरू

मन्दिरहरूको यो पुरानो सहरको वरिपरि घुम्दा तपाईंले त्यस्ता धेरै मूर्तिहरू भेट्टाउनुहुन्छ जुन जमिनको सतह भन्दा तल डुबेको जस्तो देखिन्छ मानौं तिनीहरूलाई पृथ्वीले बिस्तारै निलेको छ। यी धसिएका संरचनाहरूले मलाई सधैं आकर्षित गरेका छन् र तिनीहरू किन त्यस्ता भए होलान् भनेर म जिज्ञासु हुने गरेको छु। अहिलेसम्म मैले यसको कुनै स्पष्ट जबाफ त पाएको छैन तर केही रोचक धारणाहरू भने छन्।

एउटा लोकप्रिय मान्यता के छ भने यी मूर्तिहरू श्रापित हुन्। स्थानीय किंवदन्तीहरूका अनुसार सजायको रूपमा यी मूर्तिहरू जमिनभित्र धसिएका हुन् र तिनिहरूको प्रायश्चितको अवधि सकिएपछि मात्र पुनः माथि आउनेछन्। हामी सबै यस्ता कथाहरू सुनेर हुर्किएका छौँ जहाँ शक्तिशाली देवदेवताहरूले समेत आफ्ना गल्तीहरूको परिणाम भोग्नुपर्छ र यी धसिएका मूर्तिहरू पनि त्यही कथाकै एउटा हिस्सा हुन्।

त्यस्तै अर्को एउटा अझ प्राविधिक दृष्टिकोण पनि छ। मूर्ति स्थापना गर्नु एक संवेदनशील र अत्यधिक धार्मिक विधि हो जसमा कहिलेकाहीँ ब्रह्माण्डीय तत्वहरूसँगको तादात्म्यता पनि जोडिएको हुन्छ। यो सम्भव छ कि निश्चित धार्मिक वा आध्यात्मिक आवश्यकताहरू पूरा गर्न यी मूर्तिहरूलाई विशेष उचाइ वा स्थानमा राखिएको थियो। यद्यपि यो व्याख्या अलि बढी अनुमानित होला।

भूकम्प वा प्राकृतिक प्रकोपकै कारण यी मूर्तिहरू धसिएका हुन् भन्ने कुरामा भने म विश्वास गर्दिनँ। यो क्षेत्र भूकम्पीय जोखिममा रहेको कुरा सत्य भए तापनि मलाई लाग्छ कि यस कथाको पछाडि केवल एक भौतिक कारण मात्र नभएर अझ धेरै कुरा लुकेको छ।

यदि तपाईंलाई यस बारे थप जानकारी छ भने म त्यो सुन्न चाहन्छु! म यसको वास्तविकता जान्न उत्सुक छु।

नरमाइलो दशैं डिनर

नरमाइलो दशैं डिनर

ललितपुरको पुल्चोक स्थित अचार घर मेरो मनपर्ने थकाली रेस्टुरेन्ट मध्ये एक हो किनकी त्यहाँ विभिन्न प्रकारका अचारहरूका साथ खाना पाइन्छ। त्यसैले दशैं बिदा सुरु हुनु अघि सपरिवार त्यहीँ डिनर गराउन लगेँ। सबै कुरा सामान्य थियो, सधैं झैं थकाली सेट अर्डर गर्‍यौं। तर खाना टेबलमा आएपछि वेटरले दशैं बिदाका कारण धेरै प्रकारका अचारहरू उपलब्ध नभएको बताए।

खाना अगाडि आएपछि यस्तो कुरा सुन्नु भन्दा निराशाजनक अरू के हुन सक्छ?

मलाई निकै रिस उठ्यो। कम्तीमा अर्डर लिनु अघि नै यो जानकारी दिएको भए हामी अरु नै अर्डर गर्थ्यौं होला। अन्तमा मूल्य भने पूरा लिए तर हामी त्यहीँ रेस्टुरेन्ट जानुको मुख्य कारण भएका परिकार दिएनन्।

दशैं जस्तो लामो बिदा अघि/पछि कर्मचारी कम हुँदा सेवा सीमित हुनु स्वाभाविक हो। त्यस्तो अवस्था मेनुमा स्पष्ट उल्लेख हुनुपर्थ्यो वा अर्डर गर्नुअघि हामीलाई जानकारी दिनुपर्थ्यो।

हामी रेस्टुरेन्टमा परिवार, साथीभाइसँग राम्रो समय बिताउन जान्छौं। यस्ता अनुभवले त्यो रमाइलो नै बिगारिदिन्छ।

अब त्यो रेस्टुरेन्टमा म फेरि फर्केर जान्न।

सम्मानजनक व्यवहार

सम्मानजनक व्यवहार

कालिकोटमा फिल्डवर्कको क्रममा उभीरहेकी एक महिला सहकर्मीलाई आफू बसेको कुर्सी दिँदा मलाई एउटा अनपेक्षित कुरा भनिन्। उनले महिलालाई आफ्नो सिट नछोड्न आग्रह गरिन र त्यसो गर्दा उनलाई पुरुष महिला भन्दा माथि भएको जस्तो महसुस हुन्छ।

उनको कुरा सुनेर म केही क्षण अचम्ममा परेँ। मैले केवल “हुन्छ” भनेँ। मैले कहिल्यै कसैलाई आफ्नो सिट छोडेको उनीहरू म भन्दा कमजोर वा कम भएकोले होइन। मेरो लागि त्यो सधैं सम्मान प्रकट गर्ने एउटा सानो व्यवहार मात्र हो। हामी हुर्कँदै गर्दा महिलाहरू, बच्चाहरू र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर सिकाइयो। उनीहरू बढी सहजताको र सम्मानजनक व्यवहारको हकदार छन्।

म अहिले पनि प्राय सार्वजनिक बसमै यात्रा गर्छु र सकेसम्म महिला, बच्चा तथा बूढाबूढीहरूलाई आफ्नो सिट छोड्ने गर्छु। उनीहरूको मुहारमा मुस्कान देख्नु र धन्यवाद सुन्नुमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। यस्तो सानो व्यवहारले उनीहरूको सहजताको ख्याल मात्र होइन, मेरो दिन पनि उज्यालो बनाइदिन्छ।