Showing posts tagged #nepal · clear

हामी आशावादी छौं

हालैको चुनावले देशको राजनीतिक परिदृश्यलाई नाटकीय रूपमा रूपान्तरण गरि दिएको छ। कुनै समय संसदमा बर्चस्व जमाउने गरेका कैयौँ पुराना र स्थापित अनुहारहरू यस पटक नयाँ पुस्ताका नेताहरूद्वारा विस्थापित भएका छन्।

इतिहासमा पहिलो पटक संसदमा पूर्ण-कालीन राजनीतिज्ञहरू भन्दा बढी डाक्टर, इन्जिनियर र उद्यमीहरू समावेश हुने सम्भावना देखिएको छ। यसै कुराले मात्र पनि जनतामा एक प्रकारको उत्साह र आशा जगाएको छ।

यस क्षणलाई अझ बढी उल्लेखनीय बनाउने कुरा के हो भने परिवर्तनको यो चाहना देशभरि बाटै ओइरिएको थियो। भूगोल, संस्कृति, जात जाति र आस्थाका आधारमा नेपालमा विविधता भए तापनि मतदाताहरू केही फरक र नयाँ कुराको पक्षमा एकजुट देखिए। स्थापित राजनीतिक व्यक्तित्वहरू प्रति वर्षौँ देखि बढ्दै गएको असन्तुष्टि पछि मतदाताहरूले देशको भविष्य कोर्ने अवसर नयाँ प्रतिनिधिहरूलाई दिने निर्णय गरेका छन्। उनीहरूसँगै नयाँ विचार र नयाँ ऊर्जाको आशा पनि जोडिएर आएको छ।

यद्यपि एउटा महत्त्वपूर्ण प्रश्न अझै बाँकी नै छ: के शासनको शैली वास्तवमै परिवर्तन होला त? निर्वाचनले व्यक्तिहरू त बदल्छ तर संस्थाहरू, प्राथमिकताहरू र राजनीतिक बानीहरू भने उस्तै रहने गर्छन्। इतिहासले पटक-पटक देखाएको छ कि जब पात्रहरू बदलिन्छन् तर कथाको स्क्रिप्ट उही रहन्छ तब कथाको अन्त्य विरलै मात्र फरक हुन्छ।

नयाँ नेताहरू प्रति जनतामा उत्साह हुनु स्वाभाविक हो तर नयाँ अनुहार हुनुले मात्रै राम्रो शासनको ग्यारेन्टी गर्दैन। ऊर्जा र महत्त्वाकांक्षा जत्तिकै बुद्धिमत्ता, अनुभव र विचारशील निर्णय प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। दूरदर्शिता र सावधानी पूर्वक गरिने योजना विना राम्रो नियतले गरिएका निर्णयहरूले पनि देशलाई कठिन र अप्रत्याशित परिणामतर्फ धकेल्न सक्छन्।

नयाँ प्रतिनिधिहरू सफल हुनका लागि उनीहरू सिक्नका लागि सधैँ खुला हुनुपर्छ र शासन सञ्चालनका जटिलताहरू सँग अभ्यस्त हुन सक्नुपर्छ। अधिकार वा सत्ता हुनु मात्रै पर्याप्त हुँदैन। देश चलाउन धैर्यता, अनुशासन र दीर्घकालीन सोच चाहिन्छ, जुन चुनावी नारा वा विजयको उत्साहभन्दा धेरै माथिका कुरा हुन्।

अन्ततः वास्तविक प्रश्न यो मात्र होइन कि सत्ता कसको हातमा छ, बरु प्रश्न त यो हो कि कुन मूल्य मान्यता, नियत र जिम्मेवारीका साथ त्यो सत्ताको प्रयोग गरिन्छ।

यस्तो समयमा मलाई Aesop’s fable एउटा पुरानो कथाको सम्झना आउँछ जसमा गोरुहरूले गाउँको कसाईलाई आफ्नो शत्रु ठानेर धपाएका थिए तर उनको ठाउँमा अर्को नयाँ र अनुभवहीन कसाई आयो जसले उनीहरूलाई झन् ठूलो पीडा दियो। समस्या कहिल्यै कसाई मात्र थिएन किनभने मानिसहरूले मासु खान छोडेका थिएनन्।

नेपाल अहिले आशा लाग्दो ठाउँमा उभिएको छ। बलियो जनमत साथ नयाँ सरकारसँग देशलाई एक स्पष्ट दिशा दिने अवसर छ। यदि बुद्धिमत्ता र जिम्मेवारी पूर्वक अघि बढेमा यसले नेपाललाई आर्थिक र सामाजिक प्रगतिको यस्तो उचाइमा पुर्याउन सक्छ जुन यसअघि कहिल्यै हासिल गरेको थिएन।

द ट्वाइलाइट जोन

द ट्वाइलाइट जोन

सन् १९६० को दशकको अमेरिकी टिभी शो द ट्वाइलाइट जोन The Twilight Zone एक नेपालीका रूपमा हेर्दा अनौठो साथसाथै भव्य लाग्छ। त्यसमा देखाएको अमेरिकी सहर/समाज त्यतिबेलै आधुनिक, व्यवस्थित र फ्युचरिस्टिक देखिन्छ। यता त्यही समयमा काठमाडौं भने खुला खेत, परम्परागत बस्ती, गुठी, मन्दिर र समुदायमा आधारित जीवनले भरिएको थियो।

हामीले पछि शिक्षा, स्वास्थ्य र अरु आधुनिकताको अवसर त पायौँ तर सँगसँगै केही छिमेकीपन, केही साझा जिम्मेवारी र केही समुदायको न्यानोपन पनि गुमायौँ। पश्चिमी समाजले सय वर्षमा भोगेको परिवर्तन नेपालले एक पुस्तामै भोग्यौं।

आधुनिकता समस्या होइन तर आधुनिक मात्र राम्रो भन्ने सोच समस्या हुन सक्छ।

प्रगतिको दौडमा हामीले के गुमायौँ र अझै के फिर्ता ल्याउन सक्छौँ, सायद आज हामीले आफैँलाई सोध्नुपर्ने सबैभन्दा महत्वपूर्ण प्रश्न यही हो।

(विकिपिडियाको पब्लिक डोमेनमा भएको तस्बिर)

लगभगको जीत

नेपालले यो टि-२० विश्वकपमा इङ्गल्यान्डलाई लगभग हराएका थियौँ। लगभग भन्ने शब्दले नै धेरै पीडा बोकेको छ। पछिल्लो संस्करणमा दक्षिण अफ्रिका, बंगलादेश अनि अब इङ्गल्यान्ड। अन्तिम ओभरमा १० रन चाहिन्थ्यो जुन असम्भव थिएन। तर फेरि एकपटक हामी जितको ढोकासम्म पुगेर फर्कियौं।

यद्यपि यो हारभन्दा ठूलो कुरा नेपाली क्रिकेटको प्रगतिमा अब कसैले बेवास्ता गर्न सक्दैन। हाम्रा खेलाडीहरूले ब्याट, बल र फिल्डिङ तीनै क्षेत्रमा विश्वस्तरको टोलीसँग आँखामा आँखा जुधाए र पुरै संसार त्यसको साक्षी भयो।

अबको चुनौती खेलको दक्षता मात्र होइन मानसिक तागत पनि हो। महत्वपूर्ण खेलको निर्णायक क्षणमा खेल सक्ने आत्मविश्वास मजबुत पार्ने हो। त्यस्तो मजबुती नियमित रूपमा ठूला र अनुभवी टोलीहरू सँग खेल्दा मात्र आउँछ।

अहिले नतिजा प्रतिकूल आए पनि हामी समर्थकहरूले गर्व गर्ने कारण धेरै छन्। यो टोलीले फेरि प्रमाणित गर्यो कि नेपाल यस मञ्चमा सहभागी हुने केवल औपचारिकता पूरा गर्न आएको होइन। हामी यो स्तर कै टोली हौं।

प्राकृतिक वासस्थान

रसुवाको दुर्गम गाउँबाट एक साथीले भोटे कुकुरको छाउरो काठमाडौं ल्याएका थिए। राम्रो हेरचाह हुँदाहुँदै पनि त्यो दुई महिना पनि बाँच्न सकेन।

यो हृदयविदारक घटनाले एउटा कुरा सम्झना गराउँछ। कुनै प्रजाति जतिसुकै रिजिलियन्ट किन नहोस्, प्राकृतिक संसारको प्रत्येक सदस्यको आफ्नै कडा जैविक सीमा हुन्छ। मानिसहरू प्रविधिको सहाराले वातावरण सँग छिट्टै घुलमिल गर्न सक्छ तर जनावरहरू पुस्तौँ देखि विकास भएका जैविक गुणहरूमा निर्भर हुन्छन्। उनीहरूको लागि मौसम, वासस्थान र सामाजिक सम्बन्धहरू सजिलै बदल्न सकिने कुरा होइनन्।

त्यसैले नेपालले हालै कतारलाई हात्तीका बच्चा उपहार दिएको खबरले अलि असहज बनाएको छ। उक्त देश सुविधा सम्पन्न भए पनि फरक वातावरणमा स्थानान्तरण सधैँ जैविक जोखिम नै हुन्छ।

केही कुरा राम्रो नियत भन्दा गहिरा हुन्छन्। प्रकृतिले आफ्नै नियम मान्छ।

पोषिलो खाना

म कार्यरत संस्थाका अध्यक्षज्यूले आफ्नो जन्मदिनमा गुणस्तरीय र पोषिलो खानाको महत्त्वबारे एउटा राम्रो सन्देश दिनुभयो – हामी जे खान्छौँ, त्यसैले हाम्रो स्वस्थ र दीर्घायु जीवनको आधार तय गर्छ।

नेपालमा दाल-भातलाई पूर्ण र पोषिलो खाना मानिन्छ। अधिकांश नेपाली परिवार दैनिक रूपमा दाल-भातमा निर्भर छन्, जहाँ प्रोटिनको मात्रा कम हुन्छ। मासु, अण्डा, दूध वा बदाम जस्ता प्रोटिनका अन्य स्रोतहरू धेरैका लागि महँगो वा अप्राप्य छन्।

अर्को गम्भीर समस्या खाद्य सुरक्षाको हो। काठमाडौं जस्ता सहरहरूमा पनि मासु पसलहरू धूलो, धूवाँ र झिंगा भन्कने ठाउँमा खुला राखिएका हुन्छन्। अस्वस्थकर वातावरणमा काटिने र भण्डारण गरिने हुनाले त्यस्ता मासुले उल्टै संक्रमण र रोगको जोखिम बढाउँछ।

यो समस्या सडक किनारका होटल, बेकरी र पसलहरूमा पनि छ जहाँ सरसफाइको ख्याल नगरी बासी वा न्यून गुणस्तरका सामग्री प्रयोग भइरहेका हुन्छन्। अचेल सहरी क्षेत्रमा चाउचाउ र प्याकेटका तयारी खाना खाने चलन बढेको छ। यी खानाले पेट त भर्छन् तर यिनमा प्रोटिन हुँदैन; उल्टै हानिकारक केमिकल र धेरै नुन-चिनी हुनाले मोटोपन र कुपोषण निम्त्याउँछन्।

पोषिलो हुनुको अर्थ खाना सफा र सुरक्षित हुनु पनि हो। प्रोटिन शरीरका लागि आवश्यक छ, तर यो स्वच्छ र भरपर्दो स्रोतबाट आउनुपर्छ। एउटा बलियो र स्वस्थ नेपालका लागि हरेक थालीमा सुरक्षित खाना हुन जरुरी छ।

ब्रिलियन्त, गर्ल्स!

हामी स्कुल पढ्दाका दिनमा नेपाली सिनियर क्रिकेट टोली खासै राम्रो थिएन। सानो लक्ष्य पछ्याउन पनि गाह्रो पर्थ्यो, त्यसैले नेपाल खेल्दा धेरै आशा हुँदैनथ्यो।

यो बीच एउटा टोलीले सधैं आशा जगाइरह्यो – उमेर समुहको यू-१९ टोली। उनीहरूले पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड जस्ता क्रिकेट शक्तिहरूलाई हराएको अझै सम्झना छ। ती युवा खेलाडीहरूले नेपालमा क्रिकेटप्रतिको मोह नै बदलिदिए र हजारौं बालबालिकालाई क्रिकेटर बन्ने सपना देखाए।

आज घर आएर यू-१९ नेपाली महिला टोलीले पाकिस्तानलाई हराएको हाइलाइट्स हेर्दा फेरि त्यही याद ताजा भयो। जितपछि मैदानमै निहुरेर खुसी साट्दै गरेका ती छोरीहरू देख्दा आँखा रसाए। सायद यो नेपाली महिला क्रिकेटको नयाँ सुरुवात हो। जसरी यू-१९ केटाहरूले एक पुस्तालाई प्रेरित गरेका थिए त्यसरी नै यी छोरीहरूले पनि लाखौं नेपाली बालिकालाई ब्याट समात्ने सपना देखाउनेछन् भन्ने आशा छ।

एक समय क्रिकेट लाग्नेबित्तिकै टिभी बन्द गर्ने देश, आज नेपाल खेल्दा पुरै रंगशाला भरिन्छ। अझै धेरै काम गर्न बाँकी छ तर यस्ता जितहरूले भविष्यप्रति आशावादी बनाउँछन्।

धन्यवाद, पलेशा!

पलेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्समा कांस्य पदक जितेर इतिहास रचिन्। यो ओलम्पिक स्तरको प्रतियोगितामा नेपालले जितेको पहिलो पदक हो र अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली खेलाडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता।

आज उनको नाम घरदेखि चियापसलसम्म, कार्यालयदेखि बसपार्कसम्म सबैको मुखमा छ। यो केवल एउटा पदक होइन, सिंगो देशले अनुभव गरेको गर्वको क्षण हो।

नेपालको विविधताले गर्दा हामी धेरै अवसरमा विभाजित हुन्छौं तर खेलकुदले ती सबै सीमाना मेटाइदिन्छ। क्रिकेट होस्, भलिबल होस् वा प्याराखेल – जब नेपाल जित्छ, हामी सबै एउटै टोलीका समर्थक बन्छौँ।

धन्यवाद, पलेशा।

तपाईंले केवल पदक जित्नुभएन, नेपाललाई इतिहास र एउटै खुसी बाँड्ने अवसर पनि दिनुभयो।

विपदमा आत्मीयता

नदी अस्वाभाविक रूपमा बस्तीहरूतर्फ बगेको हो कि हामीले नै बाढी आउने क्षेत्रमै घरहरू बनाएका हौँ भन्ने विषयमा बहस गर्न सकिन्छ र त्यो बहस आवश्यक पनि छ।

यद्यपि हाल त्यसमा केन्द्रित हुने समय होइन। दोषारोपण गर्नुको सट्टा हामी एकजुट हुनुपर्छ, एकअर्कालाई साथ दिनुपर्छ र विपत्तिबाट प्रभावित भएकाहरूलाई सहयोग गर्नुपर्छ। धेरै मानिसहरूले ठूलो क्षति र कठिनाइ भोगिरहेका छन्, त्यसैले यो समय एकता र सहानुभूतिको हो। यस कठिन घडीमा सबैको सुरक्षा, स्वास्थ्य र कल्याणका लागि सहयोग, साथ र प्रार्थना गरौँ।

यस्ता समयमा के गल्ती भयो वा किन भयो भन्ने बहसमा अल्झिन सजिलो छ तर अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भनेको आवश्यकतामा परेकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ र सबैको सुरक्षा तथा हित कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायका रूपमा एकजुट भएर एकअर्काको साथमा उभिनु हो।

फियर अफ फिनिश लाइन

मोबाइल एपको सहायताले कहिलेकाहीँ योगका आसनहरू गर्छु। एपले प्रत्येक आसनका लागि टाइमर चलाउँछ। प्ल्याङ्क, लो बोट जस्ता केही आसनमा भने एउटा अनौठो कुराको अनुभव हुन्छ। एपले ‘आधा समय बाँकि’ भनेपछि मन आत्तिन थाल्छ। शरीर भन्दा पहिले दिमाग थाक्छ। बाँकी समय कसरी कटाउने भन्ने चिन्ताले आसन अझ कठिन लाग्न थाल्छ र धेरै पटक अन्त्यसम्म पुग्नुअघि नै हार मान्छु। समस्या गाह्रो आसनको भन्दा पनि अन्त्यसम्म टिक्न नसक्ने डरको जस्तो लाग्छ।

केही दिन अघि टी–२० विश्वकपमा नेपालको दक्षिण अफ्रिका सँग खेल थियो। खेल सुरु हुनु अघि दक्षिण अफ्रिकालाई हराउने कल्पना पनि हामी धेरैले गरेका थिएनौं। त्यस खेलमा नेपालले उनीहरूलाई सानो स्कोरमै रोकेको थियो र त्यसपछि जित्ने अपेक्षा एकाएक चुलियो। एक समयमा त विन प्रेडिक्टरले नेपालको जित्ने सम्भावना ९५ प्रतिशत देखाइरहेको थियो। तर अन्तिम क्षणमा हामी केवल एक रनले हार्यौं। इतिहास रच्ने अवसर आँखै अगाडि आएर पनि अन्तिम रेखा पार गर्न सकेनौं।

माथिका दुइटा कुरा नितान्त फरक हुन् तर एउटा अफ्ठ्यारो समानता देखिन्छ। कहिलेकाहीँ सबै भन्दा कठिन कुरा सुरुवात गर्नु होइन, अन्तिममा केही कदम बाँकी हुँदा त्यसलाई पूरा गर्ने मानसिक दबाब सहनु हो। जित नजिकिँदै जाँदा हारको डर पनि त्यत्तिकै ठूलो हुँदै जान्छ। योगको आसन होस् वा क्रिकेटको लक्ष्य, कहिलेकाहीँ प्रतिद्वन्द्वी हाम्रो क्षमता वा विपक्षी टोली होइन, अन्तिम रेखा देखे पछि अस्थिर हुने आफ्नै मन हुन्छ।

बधाई छ, एरिका

चीनमा भएको एसियाली खेलकुदमा एरिका गुरुङले कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छन्। यस संस्करणमा यो नेपालको दोस्रो पदक हो। यस अघि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यो एसियाली खेलकुदको इतिहासमा नेपालको तेस्रो रजत पदक पनि हो। हामीले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेका छैन।

तीन करोड जनसंख्या भएको देश भए पनि अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको उपलब्धि निकै सीमित छ। क्रिकेट र मार्सल आर्ट्स जस्ता केही खेलमा मिश्रित सफलता मिले पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको समग्र प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन।

पर्याप्त प्रशिक्षण पूर्वाधार, आधुनिक उपकरण र दक्ष प्रशिक्षकको अभाव जस्ता चुनौतीका बाबजुद पनि नेपाली खेलाडीहरूले निरन्तर देशको शिर उच्च बनाइरहेका छन्।

एरिका गुरुङ र नेपाली महिला कबड्डी टोलीलाई हार्दिक बधाई। हामी तपाईंहरूमा गर्व गर्छौं।