Showing posts tagged #worklife · clear

गलत रिकमेन्डेसन्

कहिल्यै आफूलाई मन परेको सामान, फिल्म वा रेस्टुरेन्ट साथीलाई रिकमेन्ड गर्नुभएको छ?

अनि साथीले निराश हुँदै - “ह्या, खासै राम्रो छैन!” भनेको।

यस्तो सुन्दा नरमाइलो लाग्छ जबकि तपाईंले त आफूलाई मन परेको कुरा मात्र शेयर गर्न खोज्नुभएको थियो।

तपाईंका लागि राम्रो भएको कुरा सबैका लागि राम्रो नहुन सक्छ। हाम्रो स्वाद, आवश्यकता र अपेक्षा फरक हुन्छन्। समस्या के हो भने आफूलाई कुनै कुरा धेरै मन परेको बेला हामी त्यसलाई अलि बढी नै ‘हाइप’ गरिदिन्छौँ। अनि उसको एक्स्पेक्टेसन् बढ्छ। वास्तविक अनुभव सामान्य मात्र भयो भन, अन्ततः दोष तपाईंको रिकमेन्डेसन् माथि आउँछ।

कहिलेकाहीँ मेरो लागि राम्रो कुरा, अरूका लागि सही नहुन सक्छ। यो हाम्रो मानवीय स्वभाव हो।

कपाल काटने समय

कपाल काट्न प्रायः म कार्यालय समय पछि मंगलबार साँझको समय रोज्छु। हाम्रो ठाउँमा मानिसहरू मंगलबारको दिन कपाल कटाउने काम गर्दैनन्। यसै कारण मंगलबार सैलुनहरू अलि खाली हुन्छ र आफूलाई केही अतिरिक्त समय र आराम मिल्छ।

मलाई लामो कपाल सुहाउँदैन, त्यसैले नियमित रूपमा कपाल काट्छु। मेरो लागि कपाल काट्नु भनेको केवल कपाल छोट्याउनु मात्र होइन, यो सानो शारीरिक र मानसिक विश्राम पनि हो। दैनिक व्यस्तताबाट केही समय टाढा भएर आफूलाई हल्का महसुस गर्ने अवसर।

जब हेयरड्रेसरले कपाल काट्न सुरु गर्छन् त्यसमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। ट्रिमरको आवाज, कैंचीको खटखट र वरिपरिको मन्द गफगाफले छुट्टै माहोल बनाउँछ। कपालसँगै तनाव पनि काटिएर गएको जस्तो लाग्छ। टाउको हल्का हुने गरी मसाज पाए जस्तै लाग्छ।

व्यस्त दिनमा आफूलाई फेरि ताजा बनाउने सबैभन्दा सस्तो उपाय सायद कपाल काट्नु नै हो।

आयोजनाको कमिसनिंग

आयोजनाको कमिसनिंग

जग्गा किन्ने टिम देखि लिएर ग्राउण्ड सर्भे टिम, डिजाइन टिम, ठेकेदार टिम, परीक्षण टिम हुँदै आज कमिसनिंग टिम सम्मको यात्रा गरेर आयोजनामा संलग्न भइयो। वर्षौंको मेहनतको फल। तितोमिठो अनुभव भयो। ऊर्जा आयोजना ऊर्जा केन्द्रमा परिणत भएको छ।

सबैलाई बधाई।

लक्डाउन अनलाइन क्लास

लक्डाउन लागेको छ। बाहिर कतै हिंडडुल छैन। सबै जना घर भित्रै सीमित भएकाले हामीले आफ्नो काममा प्रयोग हुने/हुनसक्ने विभिन्न सफ्टवेयरहरूको अनलाइन ट्रेनिंग मार्फत नोलेज ट्रान्सफर गर्ने सेसन सुरु गर्ने निर्णय गर्यौं।

स्काइप, जुम र गुगल मिट जस्ता विभिन्न प्लेटफर्महरू प्रयोग गरेर हेर्यौं तर स्लो इन्टरनेटको कारण कुनै पनि माध्यम भरपर्दो साबित भएन। सिक्ने इच्छा हुँदाहुँदै पनि बीचबीचमा अड्किने भिडियो र टुट्ने आवाज सँगै कम्प्युटर अगाडि बस्न निकै दिक्क लाग्यो।

त्यसपछि अनलाइन क्लास लिइरहेका विद्यार्थीहरूले कस्तो सास्ती भोगिरहेका होलान् भन्ने सोच मनमा आयो।

नेपालमा डिजिटल डिभाइड यति ठूलो छ कि अहिलेको अवस्थामा अनलाइन शिक्षालाई प्रभावकारी विकल्प मान्नै गाह्रो छ। थोरै प्रतिशत सँग मात्र ब्रोडब्यान्ड इन्टरनेटको सुविधा रहेको तथ्यले अनलाइन शिक्षाको सीमितता स्पष्ट देखाउँछ।

जोखिमपूर्ण काम

जलविद्युत् आयोजनाहरूको सुरुङ भित्र काम गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ किनभने त्यहाँ काम गर्ने ठाउँ निकै साँघुरो र असहज हुन्छ। अझ केही विदेशी ठेकेदारहरूसँग काम गर्दा उनीहरूले स्वास्थ्य र सुरक्षा मापदण्डलाई गर्ने बेवास्ता झन् चिन्ताजनक छ।

वर्षौं देखि पर्याप्त सुरक्षा उपायको अभावका कारण र भौगर्भीक अनिश्चितताहरूका कारण यस्ता सुरुङभित्र धेरै दुर्घटना भएका छन् जसमा धेरैले ज्यान समेत गुमाएका छन्।

त्यसैले सुरुङमा इन्जिनियर, मजदुर र ठेकेदार सबैले सुरक्षित काम गर्ने वातावरण बनाउन मिलेर काम गर्न आवश्यक छ। सुरक्षा सबैको साझा जिम्मेवारी हो र प्रत्येक कामदारको जीवनको रक्षा गर्नु नै पहिलो प्राथमिकता हुनुपर्छ। सुरुङ भित्रको काम स्वभावैले जोखिमपूर्ण हुन्छ, त्यसैले कुनै पनि हालतमा सुरक्षामा सम्झौता गर्नु हुँदैन।

तनावपूर्ण हवाई यात्रा

तनावपूर्ण हवाई यात्रा

तुम्लिङटार विमानस्थलमा बिहानै देखि बाक्लो कुहिरो लागेको थियो। समय बित्दै जाँदा विमान चढ्न पाउने हाम्रो आशा पनि बिस्तारै मर्दै गएको थियो। पूर्वी नेपालको महत्वपूर्ण विमानस्थलका रूपमा रहेको तुम्लिङटारमा कुहिरो, बादल, चुनौतीपूर्ण भौगोलिक अवस्था र नजिकै बग्ने विशाल अरुण नदीका कारण उडानहरू प्रायः प्रभावित हुने गर्छन्।

जलविद्युत् आयोजनाका लागि अहिले सम्मकै कठिन साइट मध्ये एक पूरा गरेपछि हामी त्यहाँबाट निस्कन आतुर थियौँ। तर मौसम भने हामीलाई त्यहीँ रोकिराख्न दृढ देखिन्थ्यो।

अन्ततः चार घण्टाको ढिलाइपछि चमत्कार भए जस्तै आकाश खुल्यो र काठमाडौंबाट विमान आइपुग्यो।

त्यसको एक दिनअघि मात्र छिमेकी जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा नेपालका पर्यटन मन्त्रीको निधन भएको दुःखद खबर हामीले सुनेका थियौँ। त्यो खबरको गहिरो प्रभाव मनमा बोकेर हामी बुद्ध एयरको Beechcraft 1900D विमानमा चढ्यौँ।

खराब मौसमका कारण सानो विमान निकै जोडले हल्लिन थाल्यो जसले यात्रालाई झन् तनावपूर्ण बनाइदियो। अघिल्लो दिनको दुःखद घटना अझै ताजा थियो र त्यसमाथि आकाशमा विमानले खेपिरहेको अस्थिरताले यो यात्रा मेरो जीवनकै सबैभन्दा डर लाग्दो उडानमध्ये एक बन्यो।

उत्साहित स्थानीय

उत्साहित स्थानीय

जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइको बेला उपस्थित स्थानीयहरू ।

जीवन मरणको क्षण

जीवन मरणको क्षण

पुर्व-पश्चिम राजमार्गमा हामी मध्यम गतिमै यात्रा गरिरहेका थियौँ। एक्कासि चालकले गाडी माथिको नियन्त्रण गुमाए। गाडी सडकबाट चिप्लिएर छेउको नालामा खस्यो। त्यो एक क्षणमा सबै कुरा शून्यजस्तै भयो। हाम्रो टोलीका एक सदस्य गम्भीर रूपमा घाइते भए तर भाग्यवश हामी सबैको ज्यान बच्यो। गाडी नालामा नअड्केको भए सायद सडकबाट १० मि तल झर्थ्यो।

त्यो घटनाले हाम्रो जीवन कति नाजुक छ भन्ने गहिरो अनुभूति गरायो। सामान्य देखिने एउटा यात्रा र ठूलो दुर्घटना बीचको दूरी केवल एक क्षणको मात्र हुँदो रहेछ।

इमानदार क्षण

एउटा जुनियर ट्राफिक प्रहरीले हामी चढेको बस रोकेर बढी यात्रु बोकेको र सिट नियम विपरीत परिवर्तन गरेको भन्दै चालकलाई समाते। केही बेरमा त्यहाँ एक जना सिनियर अफिसर आइपुगे। उनले चालकसँग छुट्टै एकान्तमा कुरा गरे र त्यसपछि कुनै थप कारबाही नगरी हामीलाई जान दिए।

कानुन कार्यान्वयन गर्ने साहस देखाएको ती युवा प्रहरीलाई भने सलाम। हाम्रो सडकमा यस्तो दृश्य विरलै देख्न पाइन्छ।

यदि यस्ता इमानदार युवा प्रहरीलाई प्रोत्साहन र साथ दिन सके राजमार्गको यात्रामा साँच्चिकै सकारात्मक परिवर्तन आउन सक्छ।

जुकाको टोकाई

जुकाको टोकाई

मलाई जुका पटक्कै मन पर्दैन तर जुकालाई भने मसँग विशेष लगाव छ जस्तो लाग्छ! केही दिन अघि हामी चाकु खोला आयोजनाको ड्याम साइट पुग्न पैदल गएका थियौँ। वर्षा भइरहेको थियो अनि जुकाको शिकार हुने म मात्रै भएँ। जुका शरीर भरि टाँसिएका थिए। एउटा–एउटा निकाल्दै जाँदा २८ वटा पुगेपछि त मैले गन्नै छोडिदिएँ।

यो मेरो लागि नयाँ कुरा भने होइन। वर्षायाममा हरेक पटक हिँड्दा रगतले लतपतिएका खुट्टा लिएर फर्किने म मात्रै हुन्छु अरू सबै भने जुकाको टोकाइबाट प्राय जोगिएर आउँछन्। सायद म उकालोमा अलि बिस्तारै हिँड्ने भएकाले होला वा मेरो रगतमा नै जुकालाई मन पर्ने केही विशेष कुरा छ।