Showing posts tagged #tools · clear

नयाँ प्रविधि पुरानो सोच

एक दशकअघि नेपाल लोडसेडिङको अन्धकारमा थियो। आज हामीसँग पर्याप्त विद्युत् उत्पादन छ र विदेशसम्म निर्यात गरिरहेका छौं। तुलनात्मक रूपमा सजिला ठाउँमा बनेका जलविद्युत् केन्द्रहरूले यो परिवर्तन सम्भव बनाए।

तर अबको यात्रा कठिन छ। आगामी आयोजनाहरू उच्च पहाडी, कमजोर पूर्वाधार र जटिल भूगोल भएका ठाउँमा बन्नेछन्। त्यहाँ पुरानै तरिकाले काम गरेर हुँदैन। त्यसैले रिमोट सेन्सिङ, स्वचालित नदी निगरानी, आधुनिक भूप्रविधि अन्वेषण, डिजिटल डेटा सङ्कलन जस्ता प्रविधि भित्रिएका छन्।

समस्या प्रविधिमा होइन, हामीमा छ।

हामीले मेसिन किन्यौं तर मान्छे तयार पारेनौं। अत्याधुनिक उपकरणहरू उपलब्ध छन् तर तिनलाई सही रूपमा प्रयोग, क्यालिब्रेट, विश्लेषण र प्रश्न गर्न सक्ने जनशक्ति अभाव छ। धेरै ठाउँमा नयाँ प्रविधि डिजाइन सुधार्न होइन, रिपोर्ट राम्रो देखाउन मात्र प्रयोग भइरहेको जस्तो लाग्छ।

यसको परिणाम गम्भीर छ। प्रविधिले काम नगरेको होइन, हामीले सही प्रयोग गर्न नसक्दा त्यसमाथी विश्वास घट्दै गएको छ। त्यो झन् खतरनाक हो।

नेपालको जलविद्युतको अर्को चरण मेसिनले होइन, दक्ष जनशक्तिले जित्नेछ। यो क्षेत्रको आधुनिकीकरण उपकरण किन्नबाट होइन, सोच बदल्नबाट सुरु हुन्छ।