Showing posts tagged #midnight · clear

मध्यरातको आफ्नो सहर

पाटन मध्यरातमा बिल्कुलै फरक ठाउँ लाग्छ।

एउटा पारिवारिक जमघट राती अबेर सकेपछि हामी दाजुभाइहरू पाटन दरबार वरिपरिका गल्लीहरूमा बिस्तारै हिँड्ने बिचार गर्यौँ। राति १२.३० बजे निकै चिसो हुने रहेछ। दिनभरि किनमेल गर्ने मानिसहरू, पैदलयात्री, मोटरसाइकल, व्यापारी र सामान पुर्याउने सवारीसाधनले भरिभराउ रहने गल्लीहरू शान्त थिए। आफ्नै पाइला चाल्दा निस्कने आवाज सुनिन्थ्यो। बीचबीचमा कुनै मोटरसाइकल गुडेर जाने आवाज, टाढा कुकुर भुकेको आवाज र मन्दिर नजिकै अझै गफ गरिरहेका केही मानिसहरूको आवाज मात्रै सुनिन्थ्यो। केही प्रहरीहरू गस्ती गर्दै थिए।

सडकबत्ती, पसलका साइनबोर्ड, घर र मन्दिरमा बालेका साना बत्तीहरूले गल्ली उज्यालो बनाएका थिए। केही घरहरूले तिहारका रंगीन बत्तीहरू अझै हटाएका थिएनन्। कुनै कुना उज्यालो थियो भने कतै मधुरो प्रकाश मात्रै। ती बत्तीहरूको प्रकाशमा पुराना इँटाका घरहरू, काठका झ्यालहरू, मन्दिरका आँगन र साँघुरा गल्लीहरू फरक देखिन्थे।

हामीलाई शान्त गल्लीहरूमा हिँड्न साचै रमाइलो लाग्यो। कतै पुग्न हतार थिएन। केहीबेर रोकिएर ती भवनहरू, ती मन्दिरहरू हेरेर, फोटो खिचेर अनि फेरि हिँड्न थाल्यौ। आफ्नै गतिमा सहरभित्र हिँड्न पाउनुमा छुट्टै सन्तुष्टि थियो।

यी गल्लीहरू यति खाली देख्दा मनमा छुट्टै आरामको अनुभूति पनि भयो। उही ठाउँमा पुगे पनि फरक समयमा आएको जस्तो लाग्यो। बाल्यकालको धेरै समय यिनै सडकहरूमा हिँडेर बिताएको भएर होला मैले यी ठाउँहरूलाई सधैँ मानिसहरू, पसलहरू, कुराकानी र चहलपहलले भरिएको रूपमा चिनेको थिएँ। त्यसैले त्यो भीड पनि मेरो हुर्काइको एउटा हिस्सा थियो। यो ठाउँ परिचित नै भएपनि दिनको समयमा विरलै अनुभव गर्न पाइने तरिकाले यसलाई अनुभव गरिरहेको थिएँ।

यो सहर बिहानै उठ्छ। बिहान सबेर पसलहरू खुल्नेछन्, व्यापारीहरूले आफ्नो सामान सजाउनेछन्, मानिसहरू फेरि आफ्नो दैनिक काममा फर्किनेछन् र बजारमा सधैँ झैँ चहलपहल सुरु हुनेछ। तर मध्यरातका केही समय भने आफ्नै सहरलाई अलि शान्त रूपमा अनुभव गर्न पाइयो।