किनमेलको कला

मेरो एउटा साथी किनमेल गर्न असाध्यै पोख्त छ। उसलाई कुन सामान कहाँ राम्रो पाइन्छ भन्ने ठ्याक्कै थाहा हुन्छ। बत्ती र इलेक्ट्रिकल सामानका लागि भोटेबहाल, सुकुटी र ड्राइ फ्रुटका लागि असन, लुगाका लागि खिचापोखरी, जडिबुटीका लागि मंगलबजार, मिठाईको लागि तिछुगल्ली, आदि इत्यादि।

उसले किनमेल गर्ने पसलहरू प्रायः काठमाडौंका पुरानो बजारमै हुन्छन् जहाँ मानिसहरू पुस्तौं देखि सायद गुणस्तरकै कारण आइरहेका छन्।

म भने ठीक उल्टो। घर र अफिसको बाटोमै भेटिने पसलबाट किनिहाल्छु। कन्भिनियन्स् मेरो पहिलो प्राथमिकता। मलाई लाग्छ काठमाडौंमा अहिले यति धेरै अप्सन छ कि चाहिएको सामानका लागि टाढासम्म धाउनै पर्दैन।

तर उसको रोजाई देखेर लोभ लाग्छ। उसले अझै पनि पुरानो बजारको मूल्य र गुणस्तरमाथि विश्वास गर्छ जब कि म भने सजिलो बाटो रोजिरहन्छु।

उसले कमाएको पैसाको महत्व र लाइफ जिउन जानेको छ।