निराशाजनक हार

घर छेउको टोली थ्री स्टार क्लब भारतमा भएको प्रतियोगितामा १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको थियो। के कारणले हो कुन्नि आयोजकहरूले त्यो खेल पुनः खेल्नुपर्ने निर्णय गर्यो। क्लबले पनि त्यो निर्णय स्वीकार गर्‍यो। पुनः खेलिएको खेलमा भने टोली पराजित भयो।

मैले फुटबलको माथिल्लो स्तरको प्रतियोगितामा यसरी खेल पुनः खेलाइएको घटना सुनेको थिइनँ। विश्वकप २०१० छनोटको फ्रान्स–आयरल्यान्ड प्लेअफमा भएको चर्चित “हेन्ड अफ हेनरी” घटना पछि सबैले र स्वयं थियरी हेनरीले समेत पुनः खेलको माग गरेका थिए। त्यति बेला पनि खेल दोहोरिएन। फुटबलमा एक पटक खेल सकिए पछि त्यसको नतिजा नै अन्तिम मानिन्छ र यही सिद्धान्तले खेलको विश्वसनीयता कायम राखेको हुन्छ।

यही कारणले थ्री स्टार क्लबले पुनः खेल्न सहमत भएको कुरा साह्रै निराशाजनक लाग्यो। यस्तो अपमानजनक निर्णय स्वीकार गर्नुको सट्टा प्रतियोगिताबाट त्यति खेर बाहिरिनु नै उचित हुन्थ्यो भन्ने मेरो विचार हो। भारतीय आयोजकहरूको दबाब अघि क्लब झुकेको दुःखद छ।